
काठमाडौं । सौन्दर्य प्रतियोगिताको आवरणमा मानव बेचबिखन र बाल यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका ब्युटी पेजेन्टका सञ्चालक मनोज पाण्डेलाई दोषी ठहर भएका छन् । मंगलबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपक खनालको इजलासले पाण्डेलाई दोषी ठहर गरेको हो ।
अदालतको फैसलासँगै कन्सल्टेन्सी व्यवसायी पाण्डे कम्तीमा ३ वर्ष जेल जाने भएका छन् । २०७० सालमा सौन्दर्य प्रतियोगितामा सहभागी भएका एक किशोरीलाई बाल यौन दुरुपयोग तथा विभिन्न स्थानमा लगी शारीरिक शोषण गरेको अभियोगमा पक्राउ परी पाण्डे गत जेठदेखि थुनामा रहेका छन् ।
पक्राउपश्चात् सरकारले पाण्डेविरुद्ध मानव बेचबिखन र बाल यौन दुरुपयोगको मुद्दा दायर गरेको थियो । मंगलबार अदालतले दोषी ठहर गरेसँगै सजायका लागि भने माघ २३ गतेको पेशी तोकिएको छ ।
फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन ऐन), २०७४ दफा ८ र ९ अनुसार तीन वर्षभन्दा बढी कैद सजाय हुने उल्लेख छ ।