१० माघ २०७९, मंगलवार

रामपुर (पाल्पा) । घरायसी कामकाजमा सीमित रहने महिलाहरू आय-आर्जनका लागि तरकारी खेतीमा आकर्षित हुँदै गएका छन् । बिहान–साँझ घरको कामधन्दा सकाएर दिउँसो फुर्सदको समय घरका करेसाबारी, आँगनका डिल, छेउछाउ र खेतबारीमा तरकारी लगाएर आयस्रोत जुटाउन थालेका छन् ।

तरकारी खेतीमा संलग्न हुन थालेपछि जिल्लाका महिलाहरूको दैनिकी नै बदलिएको छ । तरकारीका बिरुवा उमार्ने, बिरुवा रोप्ने, गोडमेल गर्ने, बजारमा बिक्री गर्ने कार्यमा महिलाको दिनचर्या बित्ने गरेको छ । पाल्पा रामपुरकी सीता देवकोटाको घर वरिपरिका जग्गा तरकारीले भरिएका छन् । कोही उत्पादन दिँदैछन् त कुनै उत्पादन दिने क्रममा छन् । अहिले उहाँले काउली, बन्दा उत्पादन गरेर बजारमा दिनहुँजसो बेच्नुहुन्छ । बन्दा प्रतिकिलो रु ३०, काउली प्रतिकिलो रु ६० मा बिक्री भइरहेको उहाँले बताउनुभयो ।

“घरवरपरका जग्गामा लगाइएको तरकारी खेती परिवारको दरिलो आम्दानीको स्रोत बनेको छ, दैनिकजसो बिक्री हँुदा हातमा पैसा परिरहन्छ”, उहाँले भन्नुभयो, “घरको काम गर्दै हेरचाह गरे भयो, धेरै समय दिएर दुःख झन्झट गर्नु परेन ।” घरायसी प्रयोगका लागि मात्रै तरकारी लगाउने देवकोटाले एक दशकयता भने व्यावसायिक तवरबाट खेती गरिरहनुभएको छ । घरमा आफैँले उत्पादन गरेको तरकारी टिपेर बेच्न पाउँदा धेरै आनन्दको अनुभूति हुने गरेको अनुभव सुनाउनुभयो ।

उहाँ भन्नुहुन्छ, “महिलालाई आफूले कमाउने कुनै उपाय नभएको अवस्थामा अरुको भरमा बाँच्नुपर्दा जीवन अन्धकारजस्तो हुँदोरहेछ, श्रीमानसँग हुँदा त पैसा पाइन्थ्यो नहुँदा यत्तिकै मन बुझाउनुपर्ने अवस्था थियो, अहिले तरकारी फलेपछि पैसा परिहाल्यो, आफ्नो खर्चलाई अरुको निर्भर रहनु परेन ।” आफ्नो मेहेनत र परिश्रमले उत्पादन गरेको वस्तु उपभोक्तामाझ पुर्याउँदा व्यवसायमा उत्साह थपिँदै गएको उहाँले बताउनुभयो । तरकारी बिक्रीवापत वार्षिकरूपमा खर्च कटाएर करिब रु दुई लाख आम्दानी गर्नुहुन्छ ।

कुन्तादेवी गैरेले आफैँले घरवरपरका खाली जग्गामा हरियाली तरकारी लगाएपछि किनेर खानु नपरेको बताउनुहुन्छ । उहाँले बर्सेनि चार रोपनी जति जग्गामा समयानुसार विभिन्न जातका तरकारी लगाउने गर्नुहुन्छ । घरमा खानका लागि मात्र नभई बजारमा बिक्री गर्ने गरेको गैरेले बताउनुभयो । “पहिला किनेर बिहान–साँझ तरकारीको जोहो हुन्थ्यो, अहिले आफँैले उत्पादन गरेको ताजा तरकारी खान पाइएको छ, धेरै उत्पादन हुँदा बजारमा बेच्यो कि हातमा पैसा परिहाल्ने, तरकारी लगाएर सामान्य खर्च गुज्रेकै छ”, उहाँले भन्नुभयो ।

यहाँका महिलालाई स्थानीय नदी किनार आयआर्जन महिला कृषि समूहमा आबद्ध भएपछि तरकारी खेतीमा प्रेरणा मिलेको छ । समूहले महिलालाई आयमूलक क्षेत्रमा उत्प्रेरित गराउन तरकारी खेतीमा हौसला दिन थालेपछि व्यावसायिक तवरबाट तरकारी लगाउन थालेका हुन् ।

घरमा थोरै खानका लागि तरकारी लगाउने राधा खनालले समूहमा आबद्ध हुन थालेपछि उत्पादन बढाउन थालेको बताउनुहुन्छ । उहाँलाई दुई वर्षयता तरकारी खेती सुरु गरेपछि किनेर खानुपर्ने बाध्यता टरेको छ । करिब तीन रोपनी जग्गामा मौसमअनुसारका विभिन्न तरकारी लगाउँदै आएको खनालले बताउनुभयो ।

खेतबारीमा लगाएको काउली, बन्दा र आलुखेतीको स्याहारसुसारमा यतिबेला गोमा पोखरेलको पनि समय बित्ने गरेको छ । सात वर्षदेखि तरकारी खेतीमा तल्लिन रहनुभएकी पोखरेल आफूलाई कृषि समूहमा आबद्ध भएपछि तरकारी लगाउने प्रेरणा मिलेको बताउनुहुन्छ । सिँचाइ सुविधा, नयाँ प्रविधिको प्रयोग, उन्नत जातका बीउबिजनको सुविधाले तरकारी खेती गर्न किसानलाई सजिलो छ । आफैँले घरका खेतबारीमा तरकारी लगाउन थालेपछि बाहिर तरकारी किन्ने पैसा बचतमात्रै नभई स्वस्थ ताजा तरकारी सेवनले स्वास्थ्यलाई धेरै फाइदा गरेको सावित्रा गैरेको अनुभव छ ।

“साढे दुई रोपनी जग्गामा लगाएको तरकारीले मेहेनतका साथ खेती गरियो भने राम्रै फल्छ, बजारबाट किनेर खाएका तरकारीमा स्वाद नहुने, बासी तरकारी, विषादीको अधिक मात्रा प्रयोगले स्वास्थ्यलाई हानी पुर्याउने भएकाले घरमै तरकारी फलाएर खादा स्वास्थ्यलाई हित गरेको छ”, उहाँले भन्नुभयो ।

रामपुर नगरपालिकाले तरकारी खेतीलाई प्रवद्र्धन गर्दै समूह, सहकारीमार्फत बीउबिजन, स्थलगत प्राविधिक सेवा, अभिमुखीकरण कार्यक्रम, तरकारी बाली पकेट विकास कार्यक्रम, कृषि प्रविधिमा ५० प्रतिशत अनुदानजस्ता विभिन्न कार्यक्रममा जोड दिएकाले आयआर्जन गर्ने गरी कृषकले तरकारी खेतीलाई विस्तार गरिरहेको कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताउनुभयो ।

पुरुषको तुलनामा महिलाको तरकारी खेतीमा उत्साह राम्रो देखिएको छ । घरव्यवहार चलाउने कार्यमा महिला नै प्रमुख भूमिकामा रहने हाम्रो समाजमा आयआर्जन बढाउने कार्यमा उनीहरु पुरुषसरह नै व्यवसायमा मेहेनत र परिश्रम गर्न पछाडि हट्दैनन् । घरधन्दा, छोराछोरीको स्याहारसुसारसँगै यहाँका महिलाले तरकारी व्यवसायलाई साथमै अगाडि बढाएर आत्मनिर्भर बन्दै गएका छन् ।

LIVE TV