९ माघ २०७९, सोमबार

फुकुओका । जापानमा विद्यार्थी भिषामा आएका एक जना नेपाली युवाले आफैंले आफ्नो जीवन अन्त्य गरेका छन् । ३ वर्ष अघि भाषा विद्यार्थीको रुपमा जापान आएका नेपालको गुल्मी जिल्ला घर भएका २३ वर्षिय मगर थरका युवाले आत्महत्या गरेका छन् । मृतकको परिचय खुलाइएको छैन ।

उनको परिवारजनलाई यसबारे जानकारी गराउने काम भइरहेको बताइएको छ । साथीभाइ र परिवारका सदस्यहरुसँग जनवरी १७ देखि नै मृतक सम्पर्कबिहिन थिए । उनको खोजीको क्रममा कोठामै मृत भेटिएका हुन् । आइतबार उनको कोठा खोलेर हेर्दा उनी मृत अवस्थामा भेटिएको उनका साथीहरुले बताएका छन् । शबको अवस्था हेर्दा आत्महत्या केही दिन अघि नै गरेको देखिन्छ ।

उनको शब पोष्टमर्टमका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । यस घटनाबारे जापानस्थित नेपाली दूताबासलाई समेत जानकारी भइसकेको छ । पछिल्लो समय जापानमा आत्महत्या बढेको छ । महिला भन्दा पुरुषको आत्महत्या दर झन्डै दोब्बर रहेको हालै सार्वजनिक भएको सरकारी तथ्यांकले देखाएको थियो । पछिल्लो समय जापान काम वा अध्ययनको सिलसिलामा आएका नेपालीहरुमाझ आत्महत्या बढ्दो छ ।

LIVE TV