९ माघ २०७९, सोमबार

काठमाडौं । स्मार्ट प्यारेन्टिङ्ग नेपालले वालवालिकाहरुको लागि सही र उपयुक्त विद्यालय कसरी छनौट गर्ने भन्ने विषयमा गत शनिवार भर्चुल कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा वाल विकास विशेषज्ञ सानु अमात्यले श्रोत व्यक्तिको रुपमा आफ्नो अनुभव र विचारहरु प्रस्तुत गरेका थिए । विधालय एउटा समाज हो जहाँ बालबालिकाहरुको इच्छा, क्षमता र बुद्दिअनुसार भविष्यमा आत्मनिर्भरता, इमान्दारिताका साथ पूर्ण मानवका लागि सीप, ज्ञान र व्यवहारको अभ्यास गरिन्छ । बालबालिकाहरुको सर्वाङ्गिण विकास अनि उज्ज्वल भविष्यको लागि सही विद्यालय छनौट गर्न जन्म दिने अभिभावकहरु सचेत हुनु नितान्त आवश्यक देखिन्छ तर विडम्बनाको कुरा अधिकांश अभिभावकहरु विद्यालय छनौटमा अझै अन्योलको अवस्थामा रहेको पाइन्छ ।

वाल विकास विशेषज्ञ अमात्यले अभिभावकहरुले आफ्ना वालवालिकाहरुको निम्ती विद्यालय छनौट गर्दा तीन वटा ‘व’ अर्थात् व्यवहार, वातावरण र व्यवस्थापनलाई ध्यान दिनुपर्ने सुझाव दिए। अमात्यकाअनुसार अभिभावकहरुले विद्यालयका शिक्षक, कर्मचारीहरु तथा संलग्न व्यक्तिहरुको व्यवहार कस्तो छ ? उनीहरुमा बाल मनोविज्ञान र पाठ्यक्रमको अवधारणा छ कि छैन भन्ने कुरा अभिभावकहरुले बुझ्नु जरुरी छ । त्यस्तै विद्यालयको वातावरण वालमैत्री भए नभएको अनि सफा, स्वच्छ, सुरक्षित छ कि छैन भनेर निरीक्षण गर्नुका साथै विद्यालयको व्यवस्थापनको लक्ष्य, उद्देश्य, दुरदृस्टी के छ ? अनि व्यवस्थापनमा दक्ष र सक्षम व्यक्तिहरु छन् कि छैनन् सो विषयको जानकारी राख्नु पनि उत्तिकै महत्वपुर्ण रहेको उनले सुझाव दिए ।

एउटा डाक्टरको गल्तीले एउटा बिरामी मर्न सक्छ तर एउटा विद्यालयको लापर्वाहीले विद्यार्थीको मात्र नभइ सिङ्गो समुदाय नै बर्बाद हुन सक्छ भन्ने धारणा राख्दै उनले अभिभावकहरु बिद्यालय छनौटको लागि संवेदनशील, सचेत र सकृय हुनुपर्छ भन्ने कुरामा जोड दिए।

बालबालिकाहरुको समष्टिगत विकासको निम्ति अभिभावकहरुमा अभिभावकीय शिप अनि कलाको विकास गरेर यसको महत्वलाई प्रवद्र्धन गर्ने हेतुले स्मार्ट पारेन्टिङ्ग नेपालले मासिक रुपमा विभिन्न विषयमा भर्चुल कार्यक्रमहरु संचालन गरिरहेको छ । र, उक्त अभियानलाई सशक्त रुपमा अगाडी बढाउन अभिभावकहरुको संजाल एसपीएन नेटवर्कको अवधारणा पनि विकास गरिएको छ जसमा इच्छुक जो कोही पनि स्मार्ट प्यारेन्टिङ्गमा सम्पर्क गरेर आबद्ध हुन सकिन्छ ।

LIVE TV