८ माघ २०७९, आईतवार
  • कर्ण दयाल ‘सोराडी’

।१।
न त छाक टार्नलाई एक गाँस पाउँछ
न त ओत लाउनलाई घरबास पाउँछ
सरकार ! यही हो गरीबको जिन्दगी
न कसैको भरौसा, न त आश पाउँछ ।
।२।
रोडको छेउमा बसेर गिट्टी फुटाल्ने मान्छे
पसिना चुहाइ बगरमा बालुवा चाल्ने मान्छे
कहिले पाउँछन् आङ छोप्न र एक छाक टार्न
आफ्नो पसिना दिएर अरुलाई पाल्ने मान्छे ।
।३।
गणतन्त्र पनि जनताका लागि छल जस्तो भयो
म्याद नाघेर फालिएको जीवनजल जस्तो भयो
जतिजति जनताले आफू माथि उठ्न खोज्यो
उति नै तल भासिँदै जाने दलदल जस्तो भयो ।
।४।
पदहरु माग्न नेताको घरमा केही सोचेर जानु
लाज-सरम मानेजस्तै गरी मुख छोपेर जानु
उच्च मूल्याङ्कनको सूचीमा पक्का पर्नुहुन्छ
झोला भरेर मह-घ्यू अनि ओखर बोकेर जानु ।
।५।
माइक बोक्ने हातहरुले बेल्चा बोक्नुपर्छ
लेक-बेँसीमा सृजनाका फूल रोप्नुपर्छ
उषा किरण झुल्के सँगै हाँसिरहेको
हिउँचुलीको मेरो प्यारो शिर ढोग्नुपर्छ ।

—-

मेलौली नगरपालिका-७ ,बैतडी

LIVE TV