७ माघ २०७९, शनिबार
  • लक्ष्मी मिश्र

मनमा आशाको किरण झुल्किएपछि
खोला, कन्दरा र खोँचहरूको दर्द बोकेर
लैजान्छ समयको जहाजले
उमंगको उडान भरेर
पर क्षितिजमा मुस्कुराइरहेको
प्रफुल्लित श्वेत हिमालको उचाइसम्म ।

हुण्डरीमय त्यो उचाइमा
डराई डराई
आफै असुरक्षित महसुस गरेझैँ
आफ्नै आङ कम्पन गरी
टाउको तलसम्म निहुराई उभिएर
सुस्तरी पोख्न थाल्छ हिमालसामु-
हृदयभरि उद्वेलित वेदना
सदियौँदेखि भोग्दै आएका
कन्दरा र खोँचहरूका कहालीलाग्दा पीडा ।

तर, विडम्बना !
हिमाल हठात् मुस्कान छोडेर
बटार्न थाल्छ दम्भका जुँगा
ऊ हजारपल्ट बरू भ्याउँछ-
मोजको धरातल घुमफिर गर्न
अँह, भ्याउँदैन कहिल्यै खोँचका दर्द सुन्न
बरू बेकाम ठान्न भ्याउँछ
व्यथित मनका भावलाई फगत नखरा ठान्छ ।

अपहेलितझैँ पछुताउँदै
फर्किन्छ जहाज आफ्नै धरातल- खोँचतर्फ
नैराश्य र उग्र क्रोधाग्निमा
अनायास दुर्घटित हुन्छ जहाज
पीडा, दर्द र वेदनाहरू स्वयं घाइते हुन्छन्
खोँच निःशब्द बन्छ,
कञ्चटमा हात राखेर भावविह्वल
र, परिवेश मौन रहन्छ ।

LIVE TV