६ माघ २०७९, शुक्रबार

कञ्चनपुर । वैदेशिक रोजगारबाट फर्केर शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका वीरेन्द्र चौधरी व्यवसायिक तरकारी खेतीमा संलग्न हुँदै आएका छन् ।

साउदीअरबको गर्मीमा काम गर्दा गर्दै बिरामी भएर घर फर्केका चौधरी उपचारपछि स्वास्थ्य लाभ गरेर तरकारी खेतीमा लागेका हुन्। दुई वर्षका लागि वैदेशिक रोजगारी गर्न साउदी गएका उहाँ स्वास्थ्यले साथ नदिएपछि पूरा समयावधि काम गर्न नपाई स्वदेश फर्किएका हुन्।

“विदेशमा छँदा बिरामी परेँ”, उनले भने, “घर फर्केपछि उपचार गरे, निको भएपछि घरमै खाली बस्नुभन्दा तरकारीखेतीमा लागेँ, बुबाले थोरै जग्गामा तरकारीखेती गर्नु हुन्थ्यो, त्यसलाई विस्तार गरी व्यावसायिक बनाए ।” सुरुमा थोरै जग्गामा तरकारीखेती गरेका चौधरीले बिस्तारै तरकारी खेती गर्ने जग्गाको क्षेत्रफल बढाउँदै लागे।

हाल डेढ बिघा जग्गामा उनले तरकारी लगाएका छन्। चौधरीको बारीमा काउली, बन्दा, गोलभेँडा, बेमौसमी काँक्रा, स्कुस, आलु र साग रोपिएको छ । वर्षभरि नै तरकारी खेती गर्दै आएका चौधरीको वार्षिक आम्दानी रु १० लाख बढी रहेको छ । वर्षमा उहाँले रु १५ लाख जतिको तरकारी बेच्छन्।

मलखाद, बीउबिजन, कीटनाशक औषधी जोताइ, सिँचाइ, ढुवानीमा गरी वर्षमा रु पाँच लाख खर्च गर्छछन्। उनका अनुसार खर्च गरिएको रकमभन्दा तरकारी खेतीबाट दोब्बर बढी आम्दानी हुने गरेको छ । तरकारी उत्पादनका लागि उनले आफ्नै लगानीमा तीन प्लाष्टिकका टनेल निर्माण गरेका छन्। टनेलमा अहिले बेमौसमी काँक्राका बोट रोपिएका छन् ।

अरू बेला टनेलमा बेमौसमी तीतेकरेला, लौका, फर्सी रोप्ने गर्नुहुन्छ । श्रीमती, बहिनी र बुबाले उहाँलाई तरकारी खेतीमा सघाउने गरेका छन्। “गत वर्ष बजार नपाएर झन्डै २० क्विन्टल गाडामा लोड गरेर बिक्रीका लागि लगेको लौका बिक्री नहुँदा घाटा व्यहोर्नु पर्यो”, उनले भने, “बजारमा सहज रुपमा तरकारी बिक्री गर्न पाइए अझै उत्पादन बढाउन सकिन्छ, सानो बजार छ, बिक्री गर्न नै धौधौ छ, त्यसैले बढी तरकारी उत्पादन गर्न पाएका छैनौँ ।”

बजारमा खपत हुने जति तरकारीको अनुमान गरेर उत्पादनमा जोड दिइँदै आएको उनले बताए। स्थानीय कलुवापुर, झलारीका व्यापारीसँग समन्वय गरेर तरकारी बिक्री हुने गरेको उनको भनाइ छ ।

बर्सातका बेला चौधरीले बर्खे तरकारीमा तनेबोडी, तीतेकरेलाको खेती गर्दै आएका छन् । विदेश जाँदा लागेको ऋण तिरेर तरकारी खेतीकै पैसाले गाउँमै उहाँले चारकोठे पक्की घर निर्माण गरेका छन्। उनले तरकारीखेतीसँगै १५ उन्नत जातका बाख्रासमेत पालेका छन् ।

“खसी, बोका, पाठापाठी बिक्री गरेर वर्षमा रु ४० हजारदेखि रु ६० हजारसम्म आम्दानी हुने गरेको छ, गएको वर्ष स्थानीय जातका कुखुरा पनि पालेका थियौँ”, चौधरीकी श्रीमती विनाले भने, “ कुखुराबाट खासै गतिलो आम्दानी हात पार्न सकेनौँ, त्यसैले यस वर्ष पालेका छैनौँ ।” तरकारी खेती गर्ने किसानलाई बैंकले विना धितो तरकारीखेती गरेकै आधारमा ऋण दिने व्यवस्था गरिनुपर्ने उनको भनाइ छ ।

“बैङ्कमा धितोका लागि नम्बरी जग्गा माग्छ”, उनले भने, “हामीसँग ऐलानी जग्गा मात्रै छ, त्यसमा ऋण पाइँदैन, बैङ्कबाट ऋण नपाइएपछि वित्तीय संस्थासँग चर्को ब्याजमा ऋण निकालेर लगानी गर्नुपरेको छ ।” बेलडाँडी गाउँका १० जना बढी किसानले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । तरकारी खेतीमा संलग्न कुनै पनि किसानसँग स्वामित्वको जग्गा छैन ।

नम्बरी जग्गा नहुँदा तरकारी खेतीमा संलग्नले साहू, सहकारी संस्था, समूहबाट थोरै मात्रामा कर्जा लिएर काम चलाउने गरेका छन् । तरकारी खेतीमा संलग्न किसान जानकी चौधरीले व्यावसायिक तरकारी खेतीका लागि अनुदानसँगै तालिम र सहुलियत रुपमा थोरै ब्याजमा कर्जाको व्यवस्था गरिनुपर्ने बताए।

“तरकारी उत्पादन गर्छौं”, उनले भने, “सङ्कलन केन्द्र छैन, बजारमा लैजाँदा व्यापारीले भनेकै दरमा बिक्री गरेर आउनुपर्छ, यो समस्या समाधानका लागि नगरपालिकाको कृषि शाखामा जानकारी गराउँदासमेत बेवास्ता हुँदै आएको छ ।”

नगरपालिकाको कृषि शाखाका प्रमुख करनसिंह बुढाऐरले किसानले माग गरेअनुसारको तालिमको व्यवस्था शाखाबाट गरिँदै आएको बताए। “कृषि औजार, उपकरण र बीउबिजनमा नगरपालिकाले अनुदानका कार्यक्रम उपलब्ध गराउँदै आएको छ”, उनले भने, “अहिले पनि अनुदानका कार्यक्रम सञ्चालन गरेका छौँ, किसानले तोकिएको ढाँचामा निवेदन दिएर छनोटमा पर्नु पर्यो ।”

LIVE TV