६ माघ २०७९, शुक्रबार
  • धनविक्रम सिंह

नेपालमा राणा शासकको १०४ वर्षे शासनले आम जनताको श्रम शोषण, शारीरीक कठोर दण्डसजाय र सानो अपराधमा पनि मृत्यु दण्ड दिएर अचाक्ली गरेपछि मानिसमा बिद्रोही भावना जागृत भएर आयोजस्ले परिवर्तनकारी शक्तीको रुपमा केही प्रबुद्ध जागरुक व्यक्तिहरु सलबलाए ।

राणा शासनको १०४ वर्षको अन्तिमतिर सम्बत १९९३ साल देखिनै केही जागरुक व्यक्तिहरु व्यवस्थाको बिरोधमा संगठित हुन खोज्दा शासकले थाहा पाइ १९९७ सालमा कसैलाइ झुन्ड्याएर त कसैलाइ गोली हानेर सार्बजनिक रुपमा अमानवीय तरिकाले मारे ।

त्यसमध्ये यी चाार जनाको नाम गङ्गालाल, धर्मभक्त, दशरथचन्द र शुक्रराज शास्त्रीको नाम अगाडी आँउछ । यस्ता क्रूर अमानवीय ब्यबहार देखेर र खुफियाहरुको बिगबिगीले प्रजापरिषदको काम केही समय अलमलमा पर्न गयो ।

उता प्रबासमा भएका प्रबुद्ध केहि नेपालीहरुले नेपालमा प्रजातन्त्र ल्याउने प्रयास रुवरुप बि.सं. २००३ सालमा विशेश्वर प्रसाद कोइरालाको सयोकत्वमा भारतको वनारसमा रहेका नेपालीहरुले अखिल भारतीय नेपाली राष्टिय काँग्रेस नामको एउटा राजनीतिक संस्था स्थापना गरे ।

त्यसको तदर्थ समितिमा श्री देबी प्रसाद सापकोटालाई सभापति, बालचन्द्र शर्मा उपसभापति, कृष्ण प्रसाद भट्टराई महामन्त्री र अन्य केही सदस्यह्रु पनि थिए ।

त्यसको केहि महिनापछि कलकातामा यस्को महाधिवेशन गरेर संगठनको नाम संशोधन गरी नेपाली राष्टिय काँग्रेस राखे । त्यस अधिवेशनले विशेश्वस कोइराला कार्यकारी सभापति, बालचन्द्र शर्मा मन्त्री, कृष्णप्रसाद भट्टराई संगठन मन्त्री, डा. डिल्लीरमण रेग्मी अध्यक्ष प्रकाशन विभाग, ईश्वर बराल कार्यालय अध्यक्ष नियुक्त गरिए : साभार  डा. सूर्यमणि अधिकारी– नेपाली काँग्रेसको इतिहास ।

औपचारिक एकीकरणको घोषणा

राणा प्रधानमन्त्री चन्द्र समशेरले सुवर्ण समशेर महावीर समशेर आदिलाइ सी ग्रेडमा पारी निर्वासित गरेका थिए । त्यसको प्रतिशोध स्वरुप यीनिहरुको अगुवाईमा २००५ साल साउन १ गते कलकातामा एउटा बृहत राजनीतिक भेला गरेर नेपाल प्रजातन्त्र काँग्रेस नामको एउटा राजनीतिक दल स्थापना गर्ने निर्णय गर्यो ।

जस्मा महेन्द्रबिक्रम शाह अध्यक्ष, सूर्य प्रसाद उपाध्याय महामन्त्री सहित अन्य सदस्यहरु सम्मेलित एउटा विधान मस्यौदा समितिगठन गर्यो ।
यसरि एउटै उद्देश्यका दुईवटा दल भएकाले कार्यक्रम अगाडी बढाउन अप्ठ्यारो भइरहेको थियो । बि.पी कोइरालासङ्ग जनबल थियो भने महावीर समशेरहरुसङ्ग धनबल थियो ।

त्यसैले यी दुई तत्वको मिलनले पार्टी सशक्त भएर अगाडी बढ्नसक्छ भनेर २००६ साल चैत्र २७ गते कलकाताको टाइगर सिनेमा हलमा भेला भई नेपाली राष्ट्रिय काँग्रेस बि.पी. समुह र नेपाली प्रजातन्त्र काँग्रेसको औपचारिक एकीकरणको घोषणा गरिएको थियो ।

चार तारे झन्डा

त्यसपछि पार्टीको नाम नेपाली काँग्रेस राखियो । प्रजातन्त्र काँग्रेसको चार तारे झन्डालाई नेपाली काँग्रेसका झण्डा कायम गरे ।

दुवै दलको तर्फबाट ५\५ जनागरी १० जनाको कार्यसमिति बनाए । उनीहरुको नाम निम्न अनुसार थियो : १. मातृका प्रसाद कोइराला- सभापति, २. महेन्द्र विक्रम शाह- महामन्त्री ३. सुवर्ण शमशेर राणा- कोषाध्यक्ष ४. कृष्ण प्रसाद भट्टराई- सहायक महामन्त्री ५. विशेश्वर प्रसाद कोइराला- सदस्य ६. गणेशमान सिंह- सदस्य ७. सूर्य प्रसाद उपाध्याय- सदस्य ८. रुद्र प्रसाद गिरी- सदस्य ९ राजेश्वरी उपाध्याय १० कुँवर कल्लु सिंह ।

यसरी एकीकृत नेपाली काँग्रेसले सुरुमा भारतमा जस्तै अहिंसात्मक आन्दोलन गरी अँग्रेजलाई धपाएजस्तै राणाको सत्ता पलट गर्ने सोच बनाएका थिए । तर राणाहरुले आन्दोलन दमनगर्ने कठोर नीति लिरहेको देखेर सशस्त्र क्रान्तीनै गर्ने निधोगरी चारै दिशामा कमान्डरहरुले मोर्चा सम्हाले ।

आन्दोलन तयारी

मुक्तिसेना गठन भयो । सोको लागि महावीर शमशेरको डेकोटा विमानले बर्माबाट हातहतियार ल्याएर पटनामा सुरक्षित राखे । जनतालाई जागरुक बनाउन नेपाली प्रजातन्त्र रेडियो पनि स्थापना गरिएको थियो ।

नेपाली जनतालाइ जागरुक गरी बढी से बढी जनता आन्दोलनमा सहभागी हुन जागरणका गीत सङ्गित, विभिनन भाषामा समाचाहरु प्रसारित गरिरहेका थियो ।

यसरी व्यापक तयारीकासाथ तम तयार भइरहेको अवस्था थियो । तत्कालीन राजा त्रिभुवन पनि राणाहरुले थोपरेको नियम कानुनको तहतदरबार भित्रै कैद जस्तै भइरहेर वाक्कदिक्क भएका थिए ।

नेपाली काँग्रेसले आन्दोलन गर्ने थाहा पाएर र नेपाली जनताको चाहना बुझेर शाही चिकित्सकहरु मार्फत भारतीय दूतावासमा ब्यबस्था सबै मिलेपछि कात्तिक २१ गते २००७ साल बिहान त्यहाँ पुगेर दूतावासकै संरक्षणमा गौचर हवाइ अड्डाबाट राजा त्रिभुवन दिल्ली प्रस्थान गर्नुभयो ।

फलाम तातिरहेकै थियो । चोट हान्ने मौका पाएर २००७ साल कात्तिक २६ गतेदेखि नेपाली काँग्रेसले क्रान्तीको बिगुल बजायो र घमासान युद्धप्रारम्भ भयो ।

उता गद्दी छाडी राजा निर्वासनमा गएको भनेर अफवाह फिंजाइ मामलीमा रहेका राजाका साढे तीन वर्षका माइला नाति ज्ञानेन्द्रलाई गद्दीमा आसीन गराई उनको नामबाट टकमरी समेतगरी शासन चलाउन थाले । तर राणाका सो कदमलाइ भारत र बेलायतले मान्यता दिएन ।

नेपाली काँग्रेसको भित्री ईच्छा नहुँदा नहुँदै पनि भारत सरकार, राजा त्रिभुवन र राणा सरकारको चाहना र आग्रह बमोजिम युद्धबिरामको घोषणा गर्नु पर्यो ।

युद्ध बिरामको निहितार्थ भारत सरकारर्ले पठाएको पाँच बुँदे प्रस्ताब राणाहरुले स्वीकार गरेकोले र खासगरी बालिग मताधिकारबाट संविधानसभाको चुनाव गरी संविधान बनाउने, राणा शासन खुकुलो पारी राजनीतिक बन्दीहरु रिहा गर्ने तथा राणा र नेपाली काँग्रेसको मिलिजुली अन्तरिम सरकार बनाउने सम्झौताा भएकाले युद्धबिराम गरेको हो ।

राजा त्रिभुवन दिल्लीबाट फागुन ४ गते फर्कनु भएपछि २००७ साल फागुन ७ गते मौसुफबाट शाही घोषणा मार्फत नेपालमा प्रजातन्त्र स्थापित गरिएको थियो ।

२००७ काे मन्त्रीमण्डल

राणा शासनबाट पार्टी कार्यकर्ताहरु र अरुहरुलाइ मृत्युदण्ड सजाय र अन्य कठोर सजाय पाएकाहरुलाई रिहाइ गरिएको थियो ।

त्यसपछि राजाप्रति उत्तरदायी रहने राणा र काँग्रेसको संयुक्त मन्त्रीमण्डल गठन भयो । १० जनाको संयुक्त मन्त्रीमण्डलमा मोहन समशेर राणा- प्रधानमन्त्री, बबर समशेर- रक्षामन्त्री, बिश्वेश्वर प्र. कोइराला- गृहमन्त्री, सुवर्ण समशेर राणा- अर्थमन्त्री, चूडाराज समशेर राणा-वनमन्त्री, गणेशमान सिंह- उद्योग वाणिज्य, नृपजङ्ग राणा- शिक्षा, भद्रकाली मिश्र- यातायात, यज्ञ बहादुर बस्नेत- स्वायत्त शासन, भरतमणि शर्मा- खाद्य र कृषि । यहि मन्त्रीमण्डलले २००७ साल चैत्र २९ गते नेपाल अन्तरिम शासन विधान लागु गर्यो ।

२००८ साल कात्तिक २० गते विद्यार्थीहरुको जुलुसमा प्रहरीले गोली चलाउदा चिनियाँ काजी भन्ने एउटा विद्यार्थी मारियो । नैतिकताको सवालमा गृहमन्त्री विशेश्वर कोइरालाले राजीनामा दिए । उनि सङ्गै काँग्रेसका अरु मन्त्रीहरुले पनि राजीनामा दिए ।

यस्तो स्थिति सृजना भएपछि प्रधानमन्त्री मोहन समशेरले पनि राजीनामा दिन बाध्य भए । त्यसपछि २ जना स्वतन्त्र सहित मातृका प्रसाद कोइरालाको प्रधानमन्त्रीत्वमा नेपाली काँग्रेस सरकार गठन भयो – (प्रा. डा. संग्रौला ) ।

भद्रअवज्ञा आन्दोलन

राजा त्रिभुवनले घोषणा गरे अनुसार जनताले निर्वाचन मार्फत बनाएको विधानसभाले तर्जुमा गरेको गणतन्त्रात्मक विधानबाट शासन संचालन गर्ने चाहना मौसुफको २०११ सालमा देहावसान भएपछि त झन अलपत्र भइर रह्यो ।

राजा महेन्द्रकै उदयपछि राजाबाट चाँड चाँडै मन्त्रिमण्डल बदलि रहेर विधानसभाको चुनाव गराउन आलटाल गरिरहेर प्रत्यक्ष शासन चलाउन चाहे ।

सो कुरा बुझेर नेपाली काँग्रेसले २०१४ साल मंसिर २२ गतेदेखि भद्रअवज्ञा आन्दोलन सुरु गर्यो । यस्को दबाबले गर्दा राजाले विधान सभाको निर्बाचन नगराइ एकै पटक संसदको चुनाव गराउने घोषणा गरे नेपाली काँग्रेस सहित अरु दलहरुले पनि नभएको मामा भन्दा कानो मामा जाती भनेर राजी भए ।

२०१५ साल फागुन ७ गतेबाट आम चुनाव सुरुगरी २०१६ साल बैशाख २१ गते सम्पन्न भएको थियो । त्यसमा नेपाली काँग्रेस पार्टीले २\३ बहुमत ल्याएको थियो । र, एकमना सरकार गठन पनि भएको थियो ।

नेपाली काँग्रेसको सरकारले केहि सुधारात्मक र रचनात्मक कार्यहरु गरेका थिए । जस्तै, वनको राष्ट्रियकरण, बिर्ता उनमुलन, राज्य रजौटा उन्मूलन शिक्षा, स्वास्थ, संचार, कृषि भूमिसुधार, अर्थ व्यवस्थामा सुधार र बिदेशी लगानीलाई प्रोत्साहन दिने असल कामहरु ग्रिरहेको देखेर राजालाई इष्र्या भयो ।

राजा महेन्द्रको आफैले प्रत्यक्ष शासन गर्ने भित्री ईच्छा पहिले देखिनै रहिरहेकोले संसदीय अभ्यासको डेढ वर्षभित्रै २०१७ साल पुस १ गते संसद विघटन गरी समात्न भ्याएका मन्त्रीहरु, नेताहरुलाई जेलमा कोच्याइयो । र, क्रियाशील सबै राजनीतिक पार्टीहरुलाइ प्रतिबन्ध लगाइदिए ।

यसरी बामे सर्न नपाउदै शिशु प्रजातन्त्रको अपहरण भयो । अन्य प्रतिबन्धित दलहरु अकर्मण्य भइ बसेता पनि नेपाली काँग्रेस पार्टीले भने प्रजातन्त्र पुस्र्थापनाका लागि निरन्तर संघर्षशील भइरह्यो । राज्य शक्तीले दमन गर्दै गरे पनि नेपाली काँग्रेसले प्रबासबाटै भएपनि प्रयत्न गर्दै गरेका थिए ।

मेलमिलापको प्रस्ताव

२०३३ साल पुषमा पार्टीको सभापति वीर विशेश्वर आफ्नो ज्यानको प्रवाह नगरी मेलमिलापको प्रस्ताब लिई काठमाडौं आईपुगे । पंचायती शासनले उनलाइ जेलमा नहालेपनि हाउस अरेष्ट चाँहि राखिराख्यो । राजाबाट उनकोो प्रस्तावमा खासै वास्ता नगएिकोले २०३६ सालमा पाकिस्तानका पूर्व प्र.म. भुट्टोलाई फाँसी दिएको बिरोध जनाउने निहुँ पारेर विद्याथीहरुले आन्दोलन थाले ।

आन्दोलन दबाउन खोज्दा केहिको मत्य ुभयो भने कोही घाइते भए । यसले गर्दा आन्दोलन झनझन् चर्कैर तोडफोर र आगजनी हुन थाले । आन्दोलन उग्ररुप लिन थालेपछि राजा वीरेन्द्रले सुधारिएको पंचायती व्यवस्था वा बहुदल व्यवस्थामा कुन रोज्ने हो जनतामाँझ २०३७ साल बैशाख २० गतेजनमत संग्रह गराएर स्थिति शान्त पारिएको थियो । तर जनमत संग्रह हुँदा जाल झेलगरी पंचायत लाइनै जिताइएको थियो ।

यसले गर्दा बि.पी. निकै मर्माहत भए । र, उनको घाँटीको क्यन्सरले गर्दा २०३९ साल साउन ६ गते नेपालको प्रजातान्त्रिक समाजवादी नक्षत्रको अवसान भयो ।नेपाली काँगे्रसको समाजवादलाई जनताको घरदैलोमा पुर्याइने अभियानमा धक्का लाग्न गयो । तर नेपाली काँग्रेसका लौहपुरुष गणेशमान सिंह जस्ता योद्धा जिवितै रहनुभएकोले उनकै आह्वानमा विभिन्न पार्टीहरु तथा सर्बसाधारण समेत जुटेर २०४६ साल फागुन ७ गतेबाट संयुक्त जनआन्दोलन सुरु गरी २०४६ साल चैत २६ गते राजा वीरेन्द्रबाट दलहरुमा लागेको प्रतिबन्ध फुकुवा गर्दै वार्तााका लागि आह्वान भयो ।

संवैधानिक राजतन्त्र

वार्तापछि संबैधानिक राजतन्त्र सहितको प्रजातन्त्रको पुनर्बहाली भयो ।कृष्णप्रसाद भट्टराइले अन्तरिम कालको शासन कमाण्ड सम्हाल्दै २०४७ साल कात्तिक २३ गते नेपाल अधिराज्यको संबिधान २०४७ लागू गर्न सफल भएका थिए ।

२०४८ साल बैशाख २९ गते बहुदलिय व्यवस्था अन्तर्गत प्रतिनिधि सभाका लागि आमनिर्वाचन हुँदा नेपाली काँग्रेसले बहुमत ल्याई सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार गठन भएको थियो । तर गिरिजा बाबुको हैकमवादी व्यवहारले गर्दा आफ्नै पार्टीका सांसदहरु भित्र अन्तरकलह भइरहेर प्रतिनिधि सभा दुई गुटमा विभाजन हुनगयो- चिरन्जीबी वाग्ले सहितको ३६ जनाको समूह ३६ सेसमूहमा दर्ज भए ।

यहिबाट नेपाली काँग्रेसमा बिचलन प्रवेश गर्याे । एउटै दलभित्र गुट उपगुट बन्ने भत्किने श्रृखला चालु भयो । गिरिजा बाबुले छतिसेको कुरा सहन नसक्दा ३ वर्षमै प्रतिनिधिसभा भङ्ग गरेर नयाँ जनादेशका लागि चुनावको मिति २०५१ साल कात्तिक २९ तोकिदिए ।

चुनाव गराएर छतिसेलाई तह लगाउला भनेको त गिरिजा बाबु आफै किनारा लाग्न पुगेका थिए । कसैको पनि सरकार बनाउन बहुमत नपुगेको एमालेले सबैभन्दा बढी मत ल्याएकोले एमाले अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार बनेको थियो । गिरीजा बाबु तीन बलड्याङ्ग खाएर हेर्या हेरै भएका थिए ।

त्यसपछि अल्पमतको सरकार नौ महिनामै ढालेर २०५२ साल देखि २०५४ सालसम्म शेर बहादुर देउवा प्रधानमन्त्री बनेका थिए ।

कृष्ण प्रसाद भट्टराइको प्रधानमन्त्रीत्वमा सरकार बनाउने चुनावी नारा दिएर २०५५ सालको चुनाव जितेका काँग्रेसले एक वर्ष मात्र प्रधानमन्त्रीको कुर्सीमा किसुन बाबु बस्न के पाएका थिए । गिरजिा बाबुले जालझेल र अनेक तिकडम लाएर किसुनजीबाट राजीनामा गर्न लगाई आफू प्रधानमन्त्री भइछाडे ।

यस कुराले नेपाली काँग्रेसका संस्थापक नेताको सारै चित्त दुखेर पार्टी र राजनीतिनै परित्याग गर्नुभइ संन्यासी जीवन बिताउन थाल्नुभएको थियो ।

त्यो भन्दा अघि गिरीजा बाबुको प्रथम प्रधानमन्त्रीत्व काल देखिनै पार्टीकै लागि जीवन समर्पितगरि लौहपुरुष गणेशमान सिंहलाइ पनि बेला बेलामा सार्वजनिक स्थलहरुमै पनि अपमान गरिदिदा उहाँले पनि पार्टी काम काजमा चासो लिन छाडनुभयोे ।

बि.पी बाबुको देहावसान, किसुनजीको र लौहपुरुष गणेशमानजीको पार्टी परित्यागले नेपाली काँग्रेसको नीति, आदर्श , सिद्धान्त, दृष्टिकाोण र सहमतिय राजनीतिको अन्त्य हुनगयो ।

नेपाली काँग्रेसमा पनि एकल बर्चस्वको राजनीतिले प्रश्रय पाउँदैै गयो । नेपाली काँग्रेसको समाजवाद त उहिले हराइसकेको छ त्यसको ठाँउमा अब भुँडीवादकोे साम्राज्य फैलिदै गएको छ ।

देउवाकाे अक्षमता

नेपाली काँग्रेसमा अझ कतिसम्म बिचलन भित्रिंदै गयो भने २०५८ साउन ११ गते शेरबहादर देउबा दोश्रो पटक प्रधानमन्त्री हुँदा पहिला जस्तै हाउसमा खटपट भइरहँदा गिरिजा बाबुको देखासिखी गरेर फेरि संसद नै विघटन गरिरदिए । तर चुनाव गराउने मिति तोक्न सहमति जुटाउन नसकेर संवैधानिक राजा ज्ञानेन्द्रलाई मैले त सक्दै सकिनँ सरकार हजुरले मिलाई दिनुपर्यो भनि सत्ता बुझाइदिएपछि त राजा ज्ञानेन्द्रले उनलाई असक्षमताको ट्याग लाइदिए ।

र, बर्खास्त गरि राज्यसत्ता आफ्नो हातमा लिइदिएर प्रत्यक्ष शासन गर्न थाले । उहाँको यस मुर्खतापूर्ण कदमले गर्दा देउवालाई पार्टीबाट निष्कासन गरिएको थियो । त्यस्तै राजाबाट गठित शाही आयोगले मेलम्ची खानेपानीमा भ्रष्टाचार गरेको अभियोग लागाएकोले जेलमा थुनिदिए ।

देउवाको असक्षमताले गर्दा देशले अपार क्षति बेहार्नु पर्यो । त्यतिमात्र होइन, देउबाको पहिलो प्रधानमन्त्रीत्व कालमा असन्तुष्ट पक्ष नेपाल कम्युनिष्ट माओवादीले जनयुद्ध थाल्नुभन्दा अगाबै ४० बुँदेमागहरु सरकार समक्ष राख्दा त्यतिबेलै टेबुलमा बसि आपसी समझदारीबाट यसलाइ टुुङ्ग्याउनु पर्नेमा वास्तै नगरि बिदेश भ्रमणमा हिडेका थिए । भ्रमणबाट फर्किआएपछि पनि कुनै वास्ता नगरेकोले जनयुद्ध प्रारम्भ भई देशमा स्थापित संरचनाहरु बिध्वंँश पारेर देशलाई ५० वर्ष पछाडी धकेलियो ।

१७ हजार मानिसहरुको हत्या हुँदा कति नवबिहाहिताहरुको सिंदुर पोछियो, कतिले बाआमाको न्यानो माया गुमाए, कतिको बुढेस कालको सहारा खोसियो, कति अङ्गभङ्ग भएर काम न काजका भएर बस्नु परेको छ । यत्रो ठूलो क्षतिको जिम्मेवारी तत्कालीन देशको बागडोर सम्हालेका प्र.मं. ले पनि लिनू पर्दैन ? माओबादीलाई मात्र दोष थोपरेर आफू ओभान हुन खोज्नु कत्तिको न्यायसंगत हुन्छ ? राजाले देउवाका नालायकीपनाले खोसेको प्रजातन्त्र फर्काउन गरिएको दोश्रो जनआन्दोलनमा हुनगएको धनजनको क्षतिको जिम्मेबारी उनै देउबाले लिनुपर्दैन ? सोझा र अति सहिष्णु नागरिक भएकाले यहाँ केहि कैफियत तलब भएन ।

अरु देशहरुमा त सरकारकलाई अधिकतम सजाय दिइन्छ । अहिले त नेपाली काँग्रेस पार्टीलाई सभापति शेर बहादुर देउवाले झन बिजोग बनाइदिएको छन् ।

पछिल्लाे चुनावकाे लेखाजाेखा

२०७९ साल मंसिर ४ को चुनाव परिणामले नेपाली काँग्रेस पार्टीलाइ बहुमत नदिए पनि ठूलो पार्टी चाँहि बनएकै होे । माओवादी केन्द्रलाई चाँहि तेस्रोे । पूर्व सहमति अनुसार आधा आधा समय सरकार चलाउने शर्त अनुसार प्रचण्डले पहिलो पालो मै लिन्छु भन्ने आग्रह गर्दा शेरबहादुर देउवा नमानेर अन्तिमसम्म दुबैजना आआफ्नो जिद्दीमा अडिग रहेकाले अध्यक्ष प्रचण्ड के.पी. ओलीकोमा पुगे ।

त्यहाँ केहि पहिलेदेखि तमतयार भई बसेका अन्य ६ दलहरुसङ्ग मिली ७ दलिय तत्कालै गठबन्धन गरि घर्किन लागेको समयसिमा भित्र राष्ट्रपतिकोमा पुगि संविधानको धारा ७६ को २ अनुसार दाबी पेश गरेर नाटकीय रुपमा प्रधानमन्त्रीमा नियुक्त भए ।

नेपाली काँग्रे पार्टीको सर्वस्व गुम्यो । संघ र प्रदेशमा जताततै कायम हुने बर्चस्व गुमेर शुन्ययमा झर्यो । आधा आधा समयावधि प्रधानमन्त्री भइखाने समझदारी अनुसार समय परिस्थिति बुझेर प्रचण्डलाई नै पहिला प्रधानमन्त्री दिएको भए नेपाली काँग्रेसले राष्ट्रपति र सभामुख पाइहालथ्यो । र, साढे दुई वर्षपछि आफू प्रधानमन्त्री हुँदा दुबै हातमा लड्डु हुने थियो ।

अटुट रुपमा सत्तासीन भइरहुँ सत्ता लिप्साले गर्दा हातमा आईसकेको खाना देउवाको गुम्यो । पार्टीको भारी नोकसान हुन गयो ।

अझ पुस २६ गते सदनबाट पुष्पकमल दाहाल प्रचण्डको सरकारलाई समर्थन दिने दिनमा नेपाली काँग्रेस पार्टीको महामन्त्रीद्वय तथा अन्यले रोक्दा रोक्दै समर्थन दिएर पार्टीको अस्तित्व समाप्त पारि दिएका छन् ।

पार्टी नेतृत्वको सुझबुझको कमी साथै पार्टीभित्र बृहत छलफल र बिचार बिमर्श नगरी स्वेच्छाचारी निर्णय गर्नाले गौरवशाली इतिहास बोकेको नेपाली काँग्रेस पार्टीको आज यो हबिगत भएको छ ।

 

LIVE TV