२७ मंसिर २०७९, मंगलवार
  • मधुसूदन थापा

हा = हाटट हुटट
कि= किचकिच
म = मै हुँ भन्ने ।

जागिरे अवधिमा धेरै-धेरै हाकिमहरुको नजिक भएर काम गर्ने अवसर मिल्छ । प्रत्येक हाकिमबाट एक न एक सकारत्मक कुरा लिनै पर्छ जस्तो लाग्छ । सकारत्मक पक्ष लिने कि नकारत्मक, आफूमै भर पर्ने कुरा हो । यस्तै सकारत्मककै कुरा गर्दा मलाई अहिले यो डेङ्गुको माहामरीमा लाम्खुटेको सानो कथा सम्झना आयो । एक लाम्खुटेको पहिलो जागिर रनरको, त्यो पनि मन्त्रालयमा आहा सिंहदरबार जो पायो तेही सामान्य मुन्छे त छिर्न गाह्रो हुने ठाउँ । बेग्लै उत्साह-उमंग, पहिलो जागिर । पहिलो दिन शाखा प्रमुख लाम्खुटे हाकिमलाई नमस्कार टक्राउँदै फाइल सकी-नसकी बोकेर यताबाट उता शाखा लग्दै नयाँ ठाउँ नयाँ काम उत्साह नै थियो । फर्केर आएँ अनि हाकिम लाम्खुटेले मुस्कुराउँदै म जाबो रनर लाम्खुटेलाई प्रश्न सोध्नुभयो- ‘बाबु रनर लाम्खुटे, कस्ताे भयो त पहिलो जागिरको पहिलो दिन ?’

‘के गर्नु हजुर , बेरोजगारी नेपाल भरीनै छ । यो पहिलो जागिर मुखमा माड लगाउनै पर्‍यो । एकदमै खुशी र प्रसन्न भएँ हाकिम साब ।’

‘किन तेती सारो खुशी भयौ ??’

‘हाकिम साब, शाखा शाखामा डुलेँ म । जाबो रनर लाम्खुटेलाई त सबै मान्छेहरुले ताली बजाएर स्वगात गर्नु भयो, हि …ही … । खुशी लाग्दो राैछ नि, पाहिलाे दिनको जागिरमै यति सम्मान पाउँदा ।’

लाम्खुटे हाकिम साब मनमनै भन्छ- ‘धन्न डेङगु को माहामरीमा शहीद हुन बाट बच्यो यो मोरा रनर लाम्खुट ।’

हुनत रनर लाम्खुट्टेलाई मार्न खोज्ने मान्छेहरु जस्ले दुई हात प्रयोग गर्‍यो, उस्ले ती दुई हात पड्केर आएको आवाज जहाँबाट उ बाँच्न सफल भयो तेइ दुई हात पड्किँदा बजेको गुंजायमन् आवाजलाई तालीको रुपमा सुन्यो । र तेस्लाई सकारत्मक रुपमा लियो । उस्लाई मान्छेहरुले मार्न खोजेको थाहै भएन । मात्र सकारत्मक सोच रनर लाम्खुटेको ।

लाम्खुटेको यो सानो कथाजस्तै हाकिमहरूको सकारत्मक पक्षबाट सिक्ने अवसर लिन सक्छौँ ।

हाकिम नै भएपछि हाटट हुटट, किचकिच र मै हुँ भन्ने बन्न नै पर्छ ? तर जरूरी भने छैन । सादकी र मिजासिलो हाकिमहरुको पनि कमी चैँ छैन है ! सबै हाकिम खराब नै हुन्छन् भन्ने छैन र सबै हाकिम राम्रो नै हुन्छ भन्ने पनि छैन । रनर लाम्खुटेको जस्तै सकारात्मक पक्षतिर जाउँ है त । कतिबाट सुनिन्छ पनि- जागिर अवधिमा तिमीलाई जागिरको पूरा फुल फोर्म था छ ? थाहै छैन -उत्तर । ल सुन- जा ….अनि गिर …। प्रायः कार्यालयमा कर्मचारीलाई एउटै डर हुन्छ, हाकिमले के भन्छ होला ! हाकिमले के सोच्छ होला ! अनि आउछ नकारत्मक सोच, मनमनै न कार्य सम्पादन मुल्याङ्कन नै पो रेट्दिन्छ कि ! न विकट जिल्ला सरुवा ठेल्दिने हो कि ! कता लगेर मलाई भड्खालोमा हाकिमले हाल्दिन्छ कि ? ….यस्तै….. यस्तै ।

नकारत्मकतिर जाँदै नजाम्, बरु लाम्खुटेजस्तै सकारात्मक जीवन कार्यालयमा कसरी बिताउने भन्नेतिर जाम् । लाम्खुटेजस्तै उडानमा जू …..ऊ….ऊ…. रफ्तार मा । हाकिमको त्यो राम्रो गुण लिन सकुम्, जुन आगमी दिनमा सबैको राम्रोको लागि प्रयोग गर्न सकियोस् कार्यालयमा।

तर हाकिमबाट सिक्ने कुराहरु जुन सिक्न कहिले पनि चाप्लुसी चैँ गर्न नपरोस्…. । एउटा यस्ताे सकारत्मक सिकाइ होस्, जुन कुरा जीवनको अन्तिम पलसँग नि काम लागोस् । रनर लाम्खुट्टे कर्मचारी हुँदा लाम्खुट्टे हाकिमहरुबाट सिकेका धेरै जीवनाेउपयोगी कुरा वर्णन गर्न चाहन्छु ।

हाकिम- एक

जहिले पनि माछाजस्तै हुनपर्छ । पौडिने । नयाँ नयाँ ठाउँ, खोज-अनुसन्धान । अनुसन्धानात्मक हुनपर्छ । जति माछा चन्चल हुन्छ, तेस्तै आफ्नो जागिरे जीवनमा स्थिर भएर चाहिँ बस्नु हुन्न । सात समुन्द्रमै पौडिन सक्ने माछा हुनपर्छ, अर्थात् जता पनि बिक्न सक्ने आफ्नो योग्यताले र समयअनुसार चल्न सक्ने र आफ्नो जागिरमा रचनात्मक हुने…. । हाकिम लाम्खुट्टे भन्नुहुन्थ्यो- परेको बेला बोल्न पनि डराउन हुन्न है, आफू इमानदारी पथमा छौँ भने ।

हाकिम- दुई

सत्यलाई सत्य नै भन्ने गलतलाई गलत नै, चाहे आफ्नो जागिर र करियर नै धराप होस् । अडिग रहने आफ्नो सही निर्णयमा, कहिले पनि कसैको प्रलोभनमा वा कसैको लोभमा नफस्ने । हाकिम लाम्खुटेबाट प्रभावित भएँ । अहिलेको अवस्थामा ठूलो मुटु नै हुनपर्छ, यतिको हाकिम लाम्खुटे हुन कार्यालयमा ।

हाकिम- तीन

कार्यालयमा सानो बन्न सक्यो भने जहाँ पनि ठाउँ पाइन्छ । ठूलाे पदमा हुँदा मै हुँ मै, मै सर्वमान्य, म भएन भने कार्यालय नै बन्द,  यस्तैयस्तै अहं हुन्छ । सानो हुन सके जहाँ पनि घुलमिल हुन सकिन्छ, जस्तैः आफूभन्दा जुनियर र सिनियर एवम् कार्यालय सहयोगीसँगै नै किन नहोस् । कार्यालयमा जस्ले मै हुँ भन्ने अहं राख्दछ, सम्झिनुस्- त्यो बिस्तारै पतनको बाटोमा अग्रसर हुँदै छ । हाकिम लाम्खुटे यसमा अझै थप्नुहुन्थ्यो- पूर्वलाम्खुटे हाकिमजस्तै डाउन टु अर्थ हुनुपर्छ, आँखामा राख्दा नि नबिझाउने

हाकिम- चार

कामप्रतिको माया । आफूभन्दा माथिको हकिमले कार्यालयमा यो काम गर्नुस्, त्यो काम गर्नुस् भनेर कसैले भन्नुअगाडि नै आफ्नो काम र कर्तव्य के हो, सुरुसुरु खूरुखुरु गर्ने । त्यो बानी लाम्खुटे हकिमको बडो अजिबको थियो । त्यै भएर डिरेक्टर लाम्खुटे हकिमहरु कुनै ठुलो निर्णय लिँदा उहाँको राय-सुझाव लिन आउनुहुन्थ्यो ।

हाकिम- पाँच

पाचौँ लाम्खुटे हाकिमबाट मैले जिराफजस्तै हुनुपर्छ, ठूलो पदमा पुगेपछि भन्ने सिकेँ । अर्थात् जिराफ अग्लो हुन्छ, जनावरमध्ये । जस्ले माथिबाट तल सबै अरुले गरेको कृयाकलाप देख्छ र हेर्छ पूर्णरुपमा । गर्नुपर्ने रोल नै यो हो, सबैको काम नियाल्नु र सच्याउनु । कसैले गल्ती गरेमा दण्ड र राम्रो गरेमा प्रेरणा दिनु ।

हाकिम- छ

जंगलमा बाँच्नकै लागि कहिलेकाहीँ चतुर स्यालजस्तै हुनपर्ने रैछ भन्ने कुरा छ नं. हाकिमबाट सिकेँ । समय, ठाउँ ,परिस्थितिले बनाएको चलाख स्याल अर्थात् जस्ताे परिस्थितिमा पनि आफू बाँचेर सबै आफ्ना बालबच्चालाई (तल्लो कर्मचारीहरुलाई ) बचाउने। कार्यालयमा राम्रो काम धुर्त रुपमा राम्रै तरिकाले सम्पन्न गरेर सबैको भलो हुने काम गर्नु पर्छ भन्ने कुरा लाम्खुटे हाकिम- छ बाट सिकेँ ।

हाकिम- सात

अवसर र ग्रूमिङ गर्नुपर्छ, नयाँ हरुलाई भन्ने सातौँ लाम्खुटे हाकिमको त्यो शैली एकदमै भिजनरी थियो । भोलि लिड गर्ने, हाँक्ने संस्थालाई तिमीहरु नै हो, आउ सिक, नजानेको कुरा सोध, लाज मान्नु पर्दैन भन्न सक्ने। टीम वर्क हो, हाम्रो अफिसमा हामी सबैले गर्ने टीम वर्क नै हो । एक अर्कालाई अप लिफ्ट गर्दै । यो वाक्य अझै पनि गुन्जिन्छ मेरा यी साना साना कानमा ।
मभन्दा बढी जान्ने होला फेरि किन सिकाउनु यस्लाई भन्ने सोच कहिले पनि राख्नहुन्न भन्नुहुन्थ्यो, सातौँ लाम्खुटे हाकिम ।

हाकिम- आठ

आठौँ लाम्खुटे हाकिमबाट मैले राम्रो काम कसैले गर्छ भने ठूलो पुरस्कार नै दिनुपर्छ भन्ने छैन, तेही बेला नै भेटेर मात्र राम्रो वचनले प्रशंसा गरेर धाप मार्दिए मात्र  पनि उस्को लागि त्यो नै करौडौँको पुरस्कार हुन्छ ।

हाकिम- नौ

मुख मा जे छ अगाडि नि त्यही छ । चाहे त्यो राम्रो कुरा होस् या नराम्रो । अगाडि ठिक्क पारेर पछाडि कैँची चलाउने बानी नौ नं. लाम्खुटे हाकिमको थिएन । गल्ती गरेको छ भने अगाडि नै मुखमा भन्दिनुहुन्थ्यो र राम्रो काम गरेको छ भने पनि अगाडि नै भन्दिनुहुन्थ्याे । अगाडि ठिक्क पारेर पछाडिबाट आक्रमण गर्ने उहाँको बानी थिएन ।

हाकिम- दश

दसौँ लाम्खुटे हाकिमको नआत्तिने बानी एक्दमै मनपर्थ्यो, म जाबो रनर लाम्खुटे कर्मचारीलाई । कतिपयले हुँदै हुँदैन यो काम त, यस्ताे काम गर्न सकियला र ? भन्थे, तर उनीहरुको लागि झापड नै हुन्थ्यो- किनकि उहाँ कहिले पनि अत्तालिएको देख्दै देखिनँ । आफ्नै सुरमा कछुवाजस्तै गरी काम गर्ने र अन्तिममा नतिजा पनि देखाउने । मलाई उहाँ एकलव्यजस्तै लाग्थ्यो, एउटा कुरा पुरा गर्छु भनेपछि गर्छु गर्छु । दिन रात नभनी पूरा गर्ने बानी एक्दमै सह्रानीय थियो । यस्ता हाकिमकाे सामना गर्न पनि उस्तै दह्राे मुटु र अठाेट हुनुपर्छ ।

—–

र, जाँदाजाँदै- यो हाकिमको पूरा रुप (फुल फर्म) पनि मलाई मेरो हाकिमले नै भन्नुभएको हो । तपाईंलाई हाकिमको फल फर्म थाहा छ ? रनर लाम्खुटेको उत्तर- छैन सर ।

हाकिम साबले ‘ल सुन्नुस्’ भन्दै यसरी सुनाउनुभयाे:

हा = हाटट हुटट
कि= किचकिच
म = मै हुँ भन्ने ।

उहाँकाे भनाइ थियाे- ‘तर, म चाहिँ यो केही गर्ने वाला छैन । मेरो पदावधि र मेरो कार्यकालमा एकले अर्कोलाई सहयोग गर्दै संस्थालाई हामीले सुनौलो बाटोतर्फ लग्न सक्छौँ।  पद , दर्जा, केही समयको लागि हुन्छ तर आफूले माथिल्लो र तल्लो कर्मचारीलाई गरिने राम्रो आचरण, मीठो वचन, सहयोग, सदा-सदाको लागि मन-मस्तिक्कष्मा रहनेछ ।’

LIVE TV