२४ मंसिर २०७९, शनिबार
  • लोकु सिंह ठकुरी/खेम ढुङ्गाना,

कैलाली । सुदूरपश्चिम प्रदेश सभा भवनमा यतिबेला पुराना उपकरण र फर्निचरहरु हटाएर नयाँ जडानको काम भईरहेको छ । अघिल्ला सांसदहरूले प्रयोग गरेका माइक, कुर्चि तथा टेबलहरु हटाइएका छन । भने नयाँ सांसदहरूका लागी थप करिब २१ लाख लागतको नयाँ व्यवस्थापन गरिदै छ ।

प्रदेश सरकारको आफ्नै लगानीमा रहेका ३२ वटा पुराना माइकहरू हटाएर नयाँ माइकहरू राखिएका छन् । रोष्टममा २ वटा, सभामुखको स्थानमा २ वटा र प्रदेश सभा सदस्यहरूको स्थानमा २८ वटा माइकल जडान गरिएका छन् । त्यसबाहेक पुरानो टेबल हटाएर ५४ थान नयाँ टेबल राखिएको छ । पुरानो जोडिएका टेबल भद्दा भएको तथा माईक प्रयोगमा समेत समस्या हुने गरेको भन्दै नयाँ लगानी गरिएको हो । त्यति मात्रै होइन प्रदेश सभालाई चिटिक्क बनाउन रेलिङ बनाइँदै छ । भने २ थान स्पिकर र एउटा मिक्चर पनि थप गरिएको छ ।

प्रदेश सभा भवनको नयाँ ब्यवस्थापनका लागी गरिएको खर्च भने प्रदेश सरकारको होइन । युएनडिपीको आर्थिक सहयोगमा सञ्चालित संसद् सहयोग परियोजना मार्फत उक्त कामहरु भईरहेका हुन । नयाँ प्रदेश सभा सदस्यहरूको लागि युएनडिपीले करिब २१ लाख रकम खर्च गरेको छ । प्रदेश सभा सचिवालयका अनुसार करिब ५ लाख फर्निचरमा र करिब १६ लाख उपकरण जडानमा खर्च हुनेछ । प्रदेश सभामा नयाँ अनुभव लिन र काम गर्न नवनिर्वाचित सांसदहरु पनि निकै उत्साहित छन् ।

यो संगै संसदिय दलका कार्यालयहरु व्यवस्थापनको काम पनि अघि बढेको छ । कार्यालयहरुलाई धनगढी बजारमा बिस्तार गरिएको सडकले प्रभावित पारेपछि नयाँ व्यवस्थापनमा प्रदेश सभा जुटेको छ । यसको खर्च भने सरकार आफैले गर्ने छ ।

LIVE TV