२४ मंसिर २०७९, शनिबार

काठमाडौँ । आव २०७८/७९ मा सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब तीन खर्ब ३९ अर्ब हुने अनुमान गरिएको छ ।

केन्द्रीय तथ्याङ्क विभागका अनुसार सो आर्थिक वर्ष सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) एक वर्षमा करिब साढे ३८ अर्ब रुपियाँले बढेको हो । गत आर्थिक वर्षको संशोधित अनुमानअनुसार सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादन तीन खर्ब एक अर्ब रुपियाँ रहेको थियो ।

राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा सुदूरपश्चिमको हिस्सा भने परिवर्तन आउन सकेको छैन । अघिल्लो आर्थिक वर्ष राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा यस प्रदेशले ७ प्रतिशत हिस्सा ओगटेको थियो भने आव २०७८/७९ मा पनि यस प्रदेशको योगदान ७ प्रतिशत नै हुने अनुमान गरिएको नेपाल राष्ट्र बैङ्कको सुदूरपश्चिम प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययनमा उल्लेख छ ।

आव २०७८/७९ मा राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा ४८ खर्ब ५२ अर्ब रुपियाँ हुने अनुमान गरिएकामा ३६.९ प्रतिशत योगदानसहित सबैभन्दा बढी बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादन १७ खर्ब ९१ अर्ब रुपियाँ हुने अनुमान गरिएको छ भने सबैभन्दा कम हिस्सा ४.१ प्रतिशतको योगदानसहित कर्णाली प्रदेशको करिब एक खर्ब ९८ अर्ब हुने अनुमान गरिएको छ । याे खबर गाेरखापत्र दैनिकमा छ ।

LIVE TV