२२ मंसिर २०७९, बिहीबार

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले चक्रपथ विस्तारको कामलाई चाँडो अगाडि बढाउन आग्रह गर्नुभएको छ ।

नेता पौडेलले आज काठमाडौँ चक्रपथ सुधार योजना कार्यालयमा पुगेर चक्रपथ विस्तारका सम्बन्धमा भइरहेको कामका बारेमा जानकारी लिनुका साथै उक्त आयोजनालाई चाँडो अगाडि बढाउन आग्रह गर्नुभयो ।

“चक्रपथ बिस्तारको काममा ढिलासुस्ती हुँदा आमनागरिकलाई समस्या परिरहेको छ, छिटोभन्दा छिटो विस्तारको कामलाई अगाडि बढाउनुपर्छ”, उहाँले भन्नुभयो ।

नेता पौडेलले विष्णुमति र सामाखुशी खोलामा वर्षात्का समयमा पानी बढी भएर त्यस क्षेत्रमा डुबानको समस्या हुने गरेको भन्दै सडक विस्तारका क्रममा ढल निकासको समस्यालाई पनि समाधान गर्नेगरी काम गर्नुपर्ने बताउनुभयो ।

काठमाडौँ क्षेत्र नं ५ बाट निर्वाचित सांसद पौडेलले स्थानीय समस्याको समाधान गर्दै दोस्रो चरणको कलङ्कीदेखि वसुन्धरासम्मको सडक विस्तारको काम र तेस्रो चरणको वसुन्धरादेखि चाबहिलसम्मको कामलाई पनि तत्काल सुरु गर्न आग्रह गर्नुभयो ।

LIVE TV