२१ मंसिर २०७९, बुधबार

काठमाडौं । प्रदेश–१ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले आगामी ५ वर्षका योजनाहरु सार्वजनिक गरेका छन् ।

पाँचथर प्रदेशसभा– २ बाट दोस्रो पटक निर्वाचित माओवादी केन्द्रका सांसदसमेत रहेका आङ्वोले सामाजिक संजालमा स्टाटस लेख्दै विगत ५ वर्षकाे अनुभवबाट सिकेका ज्ञानलाई आगामी कार्यकालमा विभिन्न पक्षमा केन्द्रीत गराउने र पैरवी गर्ने उल्लेख गरेका छन् ।

मन्त्री आङ्वोले खासगरी नागरिकहरुको आवश्यकताको पूर्ति र सेवामा जोड दिनका लागि शिक्षा, स्वास्थ्य तथा सुशासन जस्ता विभिन्न ७ बुँदा प्रस्तुत गरेका छन् ।

उनले पहिलो प्राथमिकतामा सामुदायिक शिक्षामा व्यापक सुधार, पूर्वाधारको विकास, गुणस्तरीय र प्राविधिक शिक्षामा जोड दिने बताएका छन् ।

नागरिकको स्वास्थ्य, तिनका पूर्वाधारहरु, विशेषगरी सरकारी अस्पतालहरुको सेवामा गुणात्मक सुधार, निशुल्क आधारभूत स्वास्थ्य सेवा र सहज विशेषज्ञ चिकित्सा सेवा र उपचारमा नागरिकको सहज पहुँच पुर्याउनमा आफ्नो अबको ध्यान जाने आङ्वोले बताएका छन् ।

त्यस्तैगरी आङ्वोले वितरणमुखी र पहुँचमुखी बजेटलाई निरुत्साहित गर्दै दिगो, उत्पादन र सेवा केन्द्रित पुर्वाधार निर्माणमा जोड दिने उल्लेख गरेका छन् ।

त्यस्तै कृषि क्षेत्रका लागि उद्योग निर्माण वन पर्यटन लगायतमा जोड दिएर व्यापक रोजगारी सिर्जना लक्ष्य रोखेका बताएका छन् ।

सार्वजनिक सेवा प्रवाह र कर्मचारीतन्त्रमा देखिएको ढिलासुस्ती नोकरशाहीपन र औपचारिकतावाद जस्ता प्रवृत्तिको अन्त्य र सार्वजनिक सेवामा व्यापक सुधार ल्याउने पनि उल्लेख गरेका छन् ।

त्यस्तैगरी उनले अन्त्यमा भ्रष्टाचार शुन्य सहनसिलताको नीति र सुशासनको प्रत्याभूति दिलाउने पनि जनाएका छन् ।

मन्त्री आगामी प्रदेश सरकारमा मुख्यमन्त्रीका आकांक्षीसमेत हुन् । सत्ता गठबन्धनको भाग बण्डामा प्रदेश– १ को नेतृत्वमा मुख्यमन्त्री माओवादीलाई परेको अवस्थामा आङ्वो मुख्यमन्त्री बन्नेछन् ।

उनी माओवादी केन्द्रका प्रदेश – १ का सांसदहरुमध्ये सबैभन्दा ‘सिनियर’ नेता हुन् । प्रदेश– १ का सबैभन्दा अनुभवी मन्त्रीका रुपमासमेत  उनलाई लिने गरिएको छ ।

LIVE TV