२० मंसिर २०७९, मंगलवार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव डा. बेदुराम भुसालले गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङउर्फ दिपक मनाङेबाट सिक्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौंको तिनकुनेस्थित पार्टी केन्द्रीय कार्यालयमा स्वागत गर्दै उनले प्रदेशमन्त्री भएर गुरुङले राम्रो काम गरेको उल्लेख गर्दै त्यसबाट सिकेर अघि बढनुपर्ने बताएका हुन् ।

महासचिव भुसालले गुरुङले आफ्नो विगतलाई बदलेर राजनीतिलाई जनसेवाको रुपमा अघि बढाउने प्रतिवद्धता जनाएको उल्लेख गर्दै त्यसलाई सकारात्मक रुपमा लिनुपर्ने तर्क समेत गरे । गुरुङको विगतलाई लिएर कतिपयले टिप्पणी गरेको गरेको भन्दै महासचिव भुसालले अव भने वर्तमानमा गरेको कामलाई हेरेर साथ दिनुपर्ने पनि बताए ।

त्यस अवसरमा उनले गुरुङले वर्तमानमा सिक्न लायक काम गरेको र भविष्यमा पनि राम्रो काम गर्दै जाने विश्वास समेत व्यक्त गरे । महासचिव भुसालले भने, ‘उहाँ आफैले भन्नु भएको छ–राजनीति सेवा हो । जनसेवा हो । निःसर्त रुपमा गरिने जनसेवा हो । त्यो जनसेवामा एक्लै बसेर हुुँदैन । पार्टीमा आवद्ध भएर जानुपर्ने रहेछ भन्ने महशुस गरेर म यो पार्टीमा आएको हुँ भन्नु भएको छ । म यहाँहरुसँग के कुरा राख्न चाहन्छु भने उहाँको विगतलाई लिएर कतिपय टिप्पणीहरु गर्ने गरिएको पार्ईन्छ । तर हामीले के बुझ्नु पर्छ भने मान्छे–मान्छेनै हो, जसले राम्रो काम पनि गर्छ । कहिलेकाँही काम गर्दै जाँदा गल्ती पनि गर्छ ।’

उनले थपे, ‘मान्छेलाई, मान्छेको इतिहासलाई विगतको आँखाले मात्रै हेर्न हुँदैन । विगत, वर्तमान र भविष्य सबै हुन्छ हाम्रा अगाडि । त्यसैले विगतमा के थियो भन्ने कुरा भन्दा पनि वर्तमानमा के छ भनेर हेर्नुपर्ने पर्छ । भविष्यमा कता जाँदैछ भनेर हेर्नु पर्छ । राजीवजीले आफ्नो विगतलाई बदलेर जसरी जनसेवाको भावनाले राजनीति गर्छु, अगाडि बढछु भन्ने प्रतिवद्धताका साथ अगाडि बढनु भएको छ । त्यसलाई सकारात्मक ढंगले लिनु पर्दछ । र, समाजमा भएको अरु पनि विगतमा कहिलेकाँही बाटो बिराएर समाजले नरुचाउने खालका कामहरु गर्ने व्यक्तिहरु पनि हुनुहुन्छ भने उहाँले जसरी अहिले नयाँ ढंगले अगाडि बढने प्रतिवद्धता जाहेर गर्नु भएको छ ।’

उनले फेरि भने, ‘एक अवधि उहाँले प्रदेश सरकारको मन्त्री भएर पनि काम गरेर देखाई सक्नु भएको छ । त्यसबाट सिक्नु पर्छ । उहाँले गरेका कामबाट सिक्नुपर्छ भन्ने मलाई लाग्छ । र, यसरी अघि बढने प्रतिवद्धताका साथ अगाडि आउनु भएकोमा हार्दिक स्वागत गर्न चाहन्छु । र, भविष्यमा अझै राम्रो काम गर्दै अगाडि बढन सक्नुहोस् । उहाँको राजनीतिक जीवन सफल बन्दै जाओस् । साचो अर्थमा जनताको सेवक बनेर काम गर्न सक्नुहोस् भन्ने शुभकामना पनि दिन चाहन्छु ।’

कार्यक्रममा बोल्दै गुरुङले गण्डकी प्रदेशमा गठबन्धनको सरकार बन्ने र त्यसमा आफू पर्ने भएकाले कसैले पनि मन्त्रीका लागि आफूलाई सिफारिस गर्नु नपर्ने दावी गरे । उनले युवा तथा खेलकुद मन्त्रीको रुपमा आफूले गण्डकी प्रदेशमा अरु प्रदेशले भन्दा धेरै काम गरेको जिकीर समेत गरे । राष्ट्रिय खेलकुद प्रतियोगितालाई सम्पन्न गराउन आफूले मन्त्रीको रुपमा महत्वपूर्ण निर्वाह गरेको उनको भनाइ थियो ।

मनाङ प्रदेश २ का स्वतन्त्र सांसद समेत रहनु भएका गुरुङ मंसीर २० गते (हिजो) जनसेवा गर्ने भन्दै नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका थिए । उनले आफू सो पार्टीमा प्रदेशको मुख्यमन्त्री पाउन र मन्त्री बन्नका लागि नआएको पटकपटक दोहो¥याए ।

 

LIVE TV