२० मंसिर २०७९, मंगलवार
  • युवराज आचार्य

झापा । वैदेशिक रोजगारीका लागि रोमानिया पुगेका झापा भद्रपुरका विकाश तिम्सिना कुटपिटबाट गम्भीर घाइते भई अचेत अवस्था (कोमा)मा पुगेका छन् । उनकाे हाल त्यहीकाे एक अस्पतालमा उपचार भइरहेकाे छ ।

भद्रपुर नगरपालिका– ८ स्थित फूलबारी टोल निवासी २६ वर्षीय विकाश रोमानियाको टिमिसोराआ हस्पिटलमा विगत डेढ सातादेखि अचेत अवस्थामा उपचाररत छन्।

कार्तिक ३० गते करिब राति १० बजेको समयमा विकाशलाई ६ देखि ७ जना नेपाली युवाहरूले बाटाेमा छेकेर निर्घात रूपमा कुटपिट गरेका थिए।

उनीहरूले छोराको टाउकोमा बोतल प्रहार गरी गम्भीर घाइते बनाएको भनी खबर आएको विकासकी आमा बताउँछिन् । उनले भक्कानिँदै भनिन्, ‘छोरा परदेशमा अचेत अवस्थामा छ । यताबाट हामीले केही पनि गर्न सकिरहेका छैनौं । कसरी छोरालाई उद्धार गर्ने समस्या भइरहेको छ ।’

‘छोरालाई कोमामा राखेर उपचार भइरहेको भनी परिवारलाई थाहा नै थिएन,’ उनका बुबा कुमार तिम्सिनाले भने, ‘चार दिनअघि मात्र विकाशसँगै त्यहाँ बस्दै आएका साथीले फोन गरेर घटना सुनायो। घटना सुन्ने बित्तिकै हामी मुर्छा पर्यौं।’

विकाशलाई नेपाली युवाहरूले नै किन र के कारणले कुटपिट गरेको भनी उनको साथीले पनि घटना खुलाएर भन्न नसकेको उनको भनाइ छ।

‘घरको जेठो छोरा विकास पढाइ पूरा गरी ६ महिनाअघि मात्र रोमानिया गएको थियो। अहिले छोराको स्वास्थ्य अवस्था कस्तो छ, कुन हालतमा छ। त्यहाँ गएर बुझ्ने हामीसँग सामर्थ्य पनि छैन। सरकारको पहलमा रोमानियास्थित नेपाली राजदूतावासले सहजीकरण गरिदिए कम्तीमा घटनाको सत्य तथ्य बाहिर आउँथ्यो,’ विकासका बुबाले भने, ‘अब सरकार वा सम्बन्धित निकायले सहयोग गरिदिनुपर्यो।’

काठमाडौँकाे सामाखुसीमा रहेकाे ग्लोबल म्यानपावरबाट २०७९ जेठ ८ गते विकाश रोमानियाका लागि उडेका थिए। करिब ७ लाख रूपैयाँ खर्चिएर होटेलमा पिज्जा बनाउने कामका लागि उनी रोमानिया गएको परिवारको भनाइ छ।

गाउँमा कहिले पनि झैझगडा नगर्ने विकास कसरी विदेशमा नेपालीहरूबाटै कुटपिटमा पर्याे र गम्भीर घाइते भई अचेत अवस्थामा पुग्यो, त्यो विषय गम्भीर रहेको स्थानीय बताउँछन् ।

LIVE TV