१९ मंसिर २०७९, सोमबार
  • राज दयाल

ओखलढुंगा । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको नवनिर्मित भवन समुद्घाटन गरिएको छ । निर्माण कम्पनी सुनकोशी कन्ट्रकसन नेपाल, प्रा.लि. ले मूल्य अभिवृद्धि करसहित १० करोड ११ लाख ४४ हजार ९१ रुपैयाँमा हालै निर्माण सम्पन्न गरेको भवनको आज (सोमबार) समुद्घाटन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयको आफ्नै १९ हजार ४ सय ४३ वर्गमिटर क्षेत्रफलमा फैलिएको जग्गामा निर्माण गरिएका कार्यालय भवन, कर्मचारी आवास र हिरासत कक्ष गरी ६ वटा भवनको आज औपचारीक रुपमा समुद्घाटन गरिएको छ । कार्यालय भवनको आज नेपाल प्रहरी प्रमुख, प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले समुद्घाटन गरे ।

भवनको समुद्घाटन गर्दै उनले नयाँ भवन निर्माण संगै आम नागरीकलाई दिने सेवा प्रवाहमा प्रहरीलाई थप उर्जा र हौसला मिल्ने विश्वास ब्यक्त गरे । नवनिर्मित भवन हामी सबैको साझा सम्पती भएकाले यसको संरक्षण र सम्बद्र्धन गर्न समेत सरोकारवालाहरुलाई अनुरोध गरे ।

त्यस्तै जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुकदेव खनालले नेपाल प्रहरीलाई भौतिक रुपमा समृद्ध बनाउने उदेश्य अनुरुप नेपाल सरकारको नियमित बजेटबाट नवनिर्मित भवनले जिल्लामा कार्यरत प्रहरी कर्मचारीहरुलाई सेवा प्रवाह गर्न सहज बनाउनको साथै आवासको सुविधाले थप हौसला प्रदान गरेको बताए । भवनको उचित सदुपयोग मार्फत नागरिकलाई थप उत्कृष्ट सेवा प्रवाह गर्ने उत्तरदायित्व आफुहरु माझ आएको भन्दै उनले अझ विशिष्ट सेवा प्रदान गर्ने बताए ।

जिल्ला प्रहरी कार्यालय मातहतका २८ वटा कार्यालय मध्ये ९ वटामा नयाँ कार्यालय भवन निर्माण भैसेकेको र बाँकी १९ वटा भवन जिर्ण तथा पुरानो हुनुको साथै केही कार्यालयहरु भाडाको घरमा समेत सञ्चालनमा रहेकाले यिनीहरुको समयमै निर्माण गर्ने कुरामा संगठन प्रमुखलाई उनले ध्यानाकर्षण गराए ।कार्यक्रममा प्रदेश नं. १ का प्राविधिक प्रहरी उपरीक्षक ईन्जिनियर अनिल राणाले भवन निर्माणको आयब्यय प्रस्तुुत गरेका थिए ।

LIVE TV