१८ मंसिर २०७९, आईतवार
  • केदार शर्मा,

चितवन । चितवनको रत्ननगर नगरपालिकाले विपन्न नागरिक उपचार कोष स्थापना गरेको छ । विपन्न समुदायका विरामीहरु आर्थिक अभावकै कारण उपचार नगराई फर्किनु परेको अबस्थालाई मध्यनजर गर्दै ३० लाख रुपैया बराबरको बिपन्न नागरिक उपचार कोषको स्थापना गरिएको नगरपालिकाका मेयर प्रल्हाद सापकोटाले जानकारी दिए ।

रत्ननगर अस्पतालमा पुग्ने बिरामीलाई लक्षित गरेर अस्पतालको समन्वयमा कोष स्थापना गरिएको हो । स्थापित कोषबाट नगरपालिका भित्रका विपन्न परिवारले वडा अध्यक्षको सिफारीसका आधारमा सेवा पाउने छन् । कोषबाट एउटा विरामीलाई अधिकतम १० हजार रुपैया उपचारका लागि खर्च गर्ने गरी कार्यविधि तयार गरिएको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिए ।

रत्ननगरका मेयर सापकोटाले सपथग्रहण गरेलगतै विपन्न समुदायका परिवारको निशुल्क स्वास्थ्य बिमा गर्ने घोषणा गरेका थिए । सो नगरपालिकाले विपन्न परिवारका लागि निःशुल्क स्वास्थ्य बिमा कार्यविधि र विपन्न नागरिकलाई निःशुल्क उपचार कोष कार्यविधि निर्माण गरी कार्यपालिकाबाट पारित गरेर कार्यन्वयमा आएकोे मेयर प्रल्हाद सापकोटाले जानकारी दिए । नगर भित्रका ३ हजार २०० विपन्न परिवारको निःशुल्क स्वास्थ्य विमा गरिने छ । स्वास्थ्य बिमाको लागि नगरपालिकाले करिब १ करोड रुपैया विनियोजन गरेको मेयर सापकोटाले बताए ।

३ हजार २०० परिवारका लागि प्रतिपरिवार ३ हजारका दरले करिब एक करोड लगानी हुने अनुमान गरिएको छ । स्वास्थ्य बिमाको लागि नगरपालिकाले वडा कार्यालयबाट विपन्न परिवारको नाम माग समेत गरिसकेको छ । वडाहरुबाट नामावली आउनेक्रम जारी रहेकाले केहि दिन भित्रमै स्वास्थ्य बिमा सुरु हुने उप प्रमुख यादव पाठकले जानकारी दिए ।

LIVE TV