१७ मंसिर २०७९, शनिबार
  • मुस्कान श्रेष्ठ,

वीरगञ्ज (पर्सा) । नेवार समूदायको सामूहिक बेल विवाह (इहि ) कार्यक्रम आज वीरगंजमा सम्पन्न भएको छ । दुईदिन मनाउने बेल विवाह आज वीरगञ्जस्थित माईस्थान पार्कमा सम्पन्न भएको हो ।

माइस्थान इहि समितिले आयोजना गरेको उक्त कार्यक्रममा २७ जना नेवारी कन्याहरुको नेवारी परम्परा अनुसार बेल विवाह गरिएको छ । जिल्लाका विभिन्न ठाउँमा बसोबास गरेको नेवारहरुलाई एकैठाउँमा उपस्थित गराई भव्य रुपमा बेल विवाह गराउने उदेश्यले सामूहिक बेल विवाह कार्यक्रमको आयोजना गरिएको माईस्थान इहि समितिका अध्यक्ष सुन्दर श्रेष्ठले बताए ।

इहि अर्थात् बेल विवाह नेवार समुदायमा जन्मेकी छोरीहरुको रजस्वला हुनु अगावै गर्ने गरिन्छ । इहि गर्ने दिन बालिका दिनभर व्रत बस्छन् । बेल लगायत कलश, बज्र, चक्र आदिको पूजाआजा गरेपश्चात इहि गर्ने बालिकाका बुवाले कन्यादन दिन्छन् । नेवार जातिमा बेल जस्तो भयो दुलहीको वर पनि उस्तै हुने विश्वास छ । साथै इहि गरेकी महिलाले आफ्नो श्रीमानको मृत्यु भएपछि पनि सिन्दुर लगाउन कुनै बाधा नपर्ने नेवारी समुदायमा मान्यता छ ।

वीरगंजमा वि.सं. २०४० सालदेखि बेल विवाह गर्ने कार्यको सुरुवात भएको हो । माईस्थान इहि समितिका पूर्व अध्यक्ष ओम कृष्णा रंजितकारले पहिलो पटक ५०–६० जना नेवारी कन्याहरुको बेल विवाह गराएका थिए । नेवारी संसकृतिको सरक्षण गर्नका लागि निरन्तरता दिदै आएको सामूहिक बेल विवाहमा नेवारी चेलीहरुको उपस्थिति पातलिदै गएको छ ।

विगतमा वीरगंजमा मात्रै हुने गरेको इहि कार्यक्रममा पर्सा जिल्लासँगै बारा, रौतहटसम्मका नेवारी समुदायको सहभागिता हुने गरेको थियो । तर, पछिल्लो समय विभिन्न ठाउँ समेत इहि गर्ने कार्यको थाल्नी भएको हुँदा वीरगंजमा इहि गर्ने नेवारी कन्याहरुको संख्यामा कमी आएको नेवारी बुद्धिजिवीहरुले बताएका छन् ।

LIVE TV