१७ मंसिर २०७९, शनिबार
  • धनराज गिरी

बिरामी भेट्न भनेर घरबाट निस्किए उनीहरू । प्रोफेसर जगमोहन आजाद, उसकी अनुजा सभ्यता र सभ्यताकै जीवनसाथी लोकनारायण सन्तोष ।

“यो उमेरमा आएपछि त कि आफैं अस्पताल, कि बिरामी भेट्न, कि मलामी, कि भेटी पुर्याउन । यत्ति पो हुने रहेछ काम जेठान साहेब !” सन्तोष बोले।

“यस्तै हो, भेटघाट भएन भने घाटभेट हुने सम्भावना !” आजाद हाँस्दै बोल्यो।

—-

“आहा ! हजुरसित आज भेट भयो । हजुरको नाम र कामसित परिचित छु।” युवाले खुशी प्रकट गरे।

नाम- श्रीराम अधिकारी। अमेरिका रिटर्न। चुनाव मुखमा, अलि अलि राजनीतिक गफ हुनु सामान्य।

“आजाद सर, विभेद अमेरिकामा पनि छ, यहाँ छ । जहाँ पनि छ। यही विभेद र अत्याचारले विद्रोह जन्मायो। विद्रोह रहर होइन, बाध्यता हो।क्रिया होइन, प्रतिक्रिया हो। घण्टी जन्मिएको त्यही भएर हो। दलेहरूले विवेक प्रयोग गर्न नसकेकौ हो। अन्याय चुलिएकै हो। घण्टीले धेरैको मनमा घण्टी बजाएकै छ। आमूल परिवर्तन हुनुपर्छ । यी ६५ माथिका निकम्मा गोरुहरूले अब हलो तान्न सक्दैनन् ।” श्रीरामको विचार।
—-
“अधिकारी बाबु, हामी पहिले मान्छे । अनि नेपाली । म त यो दल त्यो दल, यो वादी त्यो वादी नै बेकार मान्छु। यो चुनाव नै बेकार हो। हो, बाबुको कुरा र मेरो भोगाइ मिल्यो। मैले पनि जीवनमा मेरो सीमामा रहेर बगावत नगरेको होइन। पूर्वबागी हूँ म पनि। मलाई शत्रु कमाउन रहर छैन।मलाई झगडा गर्न मन छैन। रमाइलो गर्ने मान्छे त हो। तर क्याम्पसमा, समाजमा, देशमा अन्याय भएको, जथाभावी भएको टुलुटुलु हेरेर बस्न सकिएन।अनि समाइयो कलम र बनियो बागी। बागी जति सबै अभागी भने कायरहरूले । तर म आफूलाई भाग्यमानी मान्छु। स्वाभिमान जोगाइयो। कसैको गुलाम बनिएन। खास बनियो, दास बनिएन। यो  घण्टी  पनि क्रिया होइन, प्रतिक्रिया नै हो। तर सत्य कुरा, बहुदलीय व्यवस्था भएकाले दलको अस्तित्व स्वीकार्नुपर्छ र युवा र प्रतिभाशाली पात्र चयन गर्नुपर्छ। विवेक प्रयोग गर्नुपर्छ जनताहरूले ! सुधारसहितको गणतन्त्र, यो हो आजको माग। असल र योग्यहरू मिल्नुपर्छ। सादगी र इमानलाई जीवनपद्धति बनाउन सक्नेहरू मात्र राजनीतिमा आउनुपर्छ । यी अहिलेका नयाँ राजारानीहरूलाई ससम्मान मर्यादित बहिर्गमनको व्यवस्था मिलाउनुपर्छ ।” आजादले आफ्नो राय राख्यो ।

“सरको कुरा एकदम सही । मार्ग चार, रूपमा होइन, सारमा सफल र सार्थक हुनुपर्छ ।” अधिकारीसित बिदा भएर तीन पात्र लागे अर्को बिरामी भेट्न ।

LIVE TV