१६ मंसिर २०७९, शुक्रबार
  • रितीक अधिकारी,

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१४ मा पोल गाड्ने र तार टांग्ने काम भएको ३ वर्षमा पनि विद्युत सेवा सुरु भएको छैन । आर्थिक वर्ष २०७६/७७ मा नेपाल विद्युत प्राधिकरणले ठेक्का लगाएर पोल गाड्ने र तार टांग्ने काम गरेको ३ वर्ष भएपनि विद्युत सेवा सुचारु नहुँदा स्थानीय अँध्यारैमा बस्न बाध्य भएका छन् ।

सर्लाहीको लालबन्दी नगरपालिकाका विभिन्न क्षेत्रमा विद्युत विस्तारका लागि पोल गाड्ने र तार टांग्ने काम ३ वर्ष अघि नै सकिए पनि विद्युत सेवा सुरु हुन सकेको छैन । ठेकेदार कम्पनीको लार्पबाहीका कारण विद्युत सेवा सुचारु नहुँदा स्थानिय अँध्यारोमा बस्न बाध्य भएका छन् ।

टान्सफर्मर राख्ने विषयमा स्थानीसँग विवाद भएपछि ठेकेदार कम्पनीले सर्लाहीको कर्णाली भनेर चिनिने लालबन्दी नगरपालिका १४ नारायण खोला,मोटर दोभान, डाइनी, तोरीबारी, १७ कठ्ठा, १५ बिघा र कामीटार लगायतका स्थानमा विद्युत सेवा संचालन गर्न सकेको छैन् ।

नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०७६/७७ मा एक वर्षमा काम सकाउने गरि सो क्षेत्रमा विद्युत विस्तार गर्न श्री लक्ष्मी नारायण महादेव निर्माण सेवा,मैत्री निर्माण सेवा र किरण निर्माण सेवालाई करिब ३० लाख लेभर खर्चमा ठेक्का दिएको थियो ।

तर, कोरोना महामारी,चाडपर्वका साथै स्थानिय निर्वाचनका कारण काममा अवरोध भएको विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दीको भनाइ छ । ठेकेदार कम्पनीले पुरै रकम भुक्तानी लिई सकेको बताइन्छ । तर सबैकाम पुरा भइसकेको अवस्थामा पनि विद्युत सेवा सुचारु नहुँदा अहिले विद्युतका पोलहरु ढल्ने,तार भुँइमा लत्रिने गर्नुका साथै टान्सफर्मर समेत पोलबाट तल झरिसकेको छ ।

आफूहरुले समयमै राम्रो काम गरेको भएपनि स्थानियबासी लगायतको अवरोधका कारण समयमै विद्युत सेवा सुचारुगर्न नपाएको निर्माण कम्पनीको तर्क छ ।

नेपाल विद्युत प्राधिकरणले सामान खरिद गरेर निर्माणमा खटिने कामदारहरुको मात्रै खर्चमा ठेक्का लगाउने गरेको भएपनि सम्झौता अनुसार निर्माण सामग्री प्रयोग नभएका, एभिसि केवल लगाउने भनिएको भएपनि ओ ५,ओ ३ अर्थात नाड्डो तर लगाएको पाइएको र काम पुरा नभइ भुक्तानी समेत दिइसकेको अवस्थाले शंका गर्ने प्रशस्तै ठाउँ रहेका छन् ।

LIVE TV