१५ मंसिर २०७९, बिहीबार

काठमाडौं । नेपालको खेतीयोग्य जमिनको ५० देखि ५५ प्रतिशत माटो अम्लिय प्रकृतिको देखिएको छ । ‘डिजिटल सोइल म्याप’को पछिल्लो तथ्याङ्कअनुसार नेपालको खेतियोग्य जमिनको ५०–५५ प्रतिशत माटो अम्लिय प्रकृतिको, ४–५ प्रतिशत क्षारिय र ४०–४५ प्रतिशत माटो मात्र तटस्थ प्रकृतिको पाइएको छ । धेरैजसो बाली उत्पादनको लागि तटस्थ माटो उपयुक्त हुने गर्दछ ।

कृषि विभागका अनुसार देशका विभिन्न भागबाट लिइएको माटोको नमूना परीक्षणको तथ्याङ्क विश्लेषण गर्दा ४०–४५ प्रतिशत माटोमा प्राङ्गारिक पदार्थको मात्रा न्यून पाइएको छ भने ४१ प्रतिशतमा मध्यम र १५ प्रतिशतमा अधिक रहेको पाइएको छ । प्राङ्गारिक पदार्थलाई माटोको आधारको रूपमा पनि लिइन्छ ।

उत्पादनशील माटोमा प्राङ्गारिक पदार्थको मात्रा तीनदेखि पाँच प्रतिशत हुनु आवश्यक हुन्छ । कृषि विकास रणनीतिले नेपालको माटोको प्राङ्गारिक पदार्थको मात्रा एक दशमलव ९६ प्रतिशतबाट चार प्रतिशतमा पु¥याउने लक्ष्य लिएको छ ।

यसैगरी नेपालमा खेती गरिने जमिनको ५६ प्रतिशतमा नाईट्रोजनको मात्रा न्यून, ३० प्रतिशतमा मध्यम र १४ प्रतिशतमा अधिक रहेको पाइएको विभागका महानिर्देशक डा रेवतीरमण पौडेलले जानकारी दिए । फस्फोरस तत्व तुलनात्मक रूपमा राम्रो पाइएको छ जसमा ४२ प्रतिशतमा न्यून, २८ प्रतिशतमा मध्यम र ३१ प्रतिशतमा अधिक रहेको छ ।

पोटास तत्वको मात्रा तीव्र गतिमा घटिरहेको छ जसमा ५० प्रतिशतमा न्यून, २६ प्रतिशतमा मध्यम र २४ प्रतिशतमा अधिक पाइएको उनले बताए ।

गोबर वा कम्पोष्ट मल, हरियो मल आदिको प्रयोग न्यून हुनु, रासायनिक मलको असन्तुलित प्रयोग हुनुको साथै विषादीको प्रयोग बढ्दै जानु, बालीचक्रको आधारमा खेती नगरिनु र बालीचक्रमा कोशेबालीको प्रयोग घट्दै जानु, अवैज्ञानिक तरिकाबाट सघन खेती गरिनु, बाली काटिसकेपछि बाँकी रहेका अवशेषहरू जमिनबाट पूर्ण रूपमा हटाइनु वा जलाइनु, भू–क्षय निरन्तर भइरहनु, औद्योगिक प्रदूषणको मात्रा बढनु, कृषि औजारको अधिकतम् प्रयोगले माटो कडा बन्दै जानुलगायत कारणले माटोको स्वास्थ्यता बिग्रन्छ ।

LIVE TV