१५ मंसिर २०७९, बिहीबार

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र संकटमा नरहेको बताएका छन् । बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र नबुझेकाले मात्रै नेपालको अर्थतन्त्र संकटमा छ भन्ने गरेको बताएका हुन् ।

उयनले मुलुकको अर्थतन्त्रमा संकट छ भन्नुभन्दा पहिला अर्थतन्त्रको परिभाषा, देशको वस्तुस्थितिमा ध्यान दिएर बोल्न अर्थशास्त्री, व्यवासायी र राजनीति व्यक्तिहरुलाई आग्रह गरे । उनले निजी क्षेत्र र अर्थशास्त्रीलाई देशको अर्थतन्त्र कसरी संकटमा परको छ ? भन्दै प्रश्नसमेत गरे ।

अर्थमन्त्री शर्माले अर्थतन्त्र संकटमा नभएको भन्दै अर्थतन्त्रका चुनौतीका विषयमा छलफल गर्न आवश्यक रहेको बताए । उनले सरकारको काम गर्ने क्षमता नबढ्नु संकट भएको भन्दै सरकारको क्षमता बढाउन आवश्यक रहेको बताए । उनले नेपालको अर्थतन्त्र एकै पटक तल जाने र एकैपटक माथि जाने खालको नभएको दाबी गरे ।

मन्त्री शर्माले नेपालको अर्थतन्त्रका सूचकहरु क्रमिक रुपमा सुधार हुँदै गएकाले अर्थतन्त्र सुधारको बाटोमा रहेको बताए । उनले खुला सीमानाका करण राजश्व घटेको भन्दै खुला नाका व्यवस्थित बनाउनुपर्ने बताए । उनले खुला नाका व्यवस्थित बनाउने विषयमा निर्वाचनका कारण सरकारले ध्यान दिन नसकेको बताए ।

उनले भने, ‘नेपालको अर्थतन्त्र संकटमा छ भन्नु अर्थतन्त्रलाई नबुझ्ने कुरा हो । नेपालको अर्थतन्त्र संकटमा होइन । हाम्रो अगाडि केही दबाब र चुनौतिहरु छन् । ती चुनौती र सामना गर्ने उपायहरु खोज्नुपर्छ । तर संकटमा छ भन्नु गलत हो । नेपालको अर्थतन्त्रका आफ्नै मौलिकता र विशेषताहरु छन् । केही जीविको पार्जन गर्ने गरी परम्परागत रुपमा र केही नयाँ रुपमा अगाडि बढेको छ । मिश्रित खालको अर्थतन्त्र भएकाले नेपालको अर्थतन्त्र एकैपटक माथि पुगेर तल झर्ने प्रकृतिको होइन । संकटको नभएर चुनौतीहरुको छलफल गर्नुपर्छ । अर्थतन्त्रका सुचाङक सुधारउन्मुख छन् ।’

उनले फेरि भनेका छन्, ‘रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति र पर्यटन क्षेत्रमा भएको विकास हेर्दा त्यो पाउँछौं । राजश्व संकलनमा कमी भएको छ । प्रशासनिक र खुला सीमाना व्यवस्थित गर्ने विषयमा केन्द्रित छ । अहिले बजारमा माग घटेका कुराहरु छन् । कामको गति घटेको कारण माग घटेको हो । अब विकास निर्माणका कामलाई तिब्रता दिएसँगै माग बढ्ने सिर्जना हुन्छ । अर्थतन्त्रमा प्रायः सूचकहरु सकारात्मक छन् भने कहाँ छ संकट ? मुलुकको अर्थतन्त्र संकटमा छ नभन्न सबै अर्थविद्,व्यवसायी र राजनीतिक व्यक्तित्वहरुले यहाँ चुनौति छ भनौं तर संकट छ भनेर नभन्न अग्रह छ । अर्थतन्त्रमा देखिका समस्या र चुनौति समाधान गर्न आवश्यक कदम चाल्न सरकार र राष्ट्र बैंक खुला छलफल गर्न तयार रहेको छ ।’

उनले दूरी कम गर्ने गरी भौतिक पूर्वाधारमा लगानी बढाउन आवश्यक रहेको बताए । अर्थमन्त्री शर्माले पूर्वाधारमा लगानी बढाउनसक्दा जुम्लाबाट १२ घण्टा र चितवनबाट १ घण्टामा काठमाडौं आउनसक्ने वातारण बन्ने भन्दै लगानीको वातावरण सहज बनाउन आवश्यक रहेको बताए । उनले लगानी साना आयात गर्ने वस्तुमा मात्रै नभएर आर्थिक विकासमा गुणात्मक छलाङ ल्याउने क्षेत्र पहिचान गर्नुपर्ने बताए ।

उनले हरेक नागरिकको क्षमता विकास गरी रोजगारी सिर्जना गर्नुपर्ने अवस्था रहेको बताए । मन्त्री शर्माले नेपालको अर्थतन्त्रको भविष्य उज्ज्वल रहेको भन्दै अब नेपालले क्षमता वृद्धिमा ध्यान दिनुपर्ने बताए । उनले युवालाई प्रविधि क्षेत्रमा रोजगार बढाउने र कृषि तथा पर्यटनमा रोजगारी बढाउने हो भने देश समृद्ध बन्ने बताए ।

तस्वीर : महेश्वर के.सी.

LIVE TV