१५ मंसिर २०७९, बिहीबार
  • अनमोल कार्की

राैतहट । चन्द्रपुर नगरपालिका वडा नम्बर ५ मा बनेको कालोपत्रे सडक बनेको एक महिना नबित्दै भत्कन सुरु गरेको छ । गत आर्थिक वर्षको नगरपालिकाको १० लाख वजेटबाट बन्न सुरु गरेको सो सडकको लागि नपुग रकम थप गर्ने शर्तमा नगरपालिकाले पुरा गर्न भनेको थियो । कुल १ सय ६४ मिटर लम्बाईको सो सडक छठ लगतै निमार्ण सम्पन्न गरिएको थियो । तर बनेको केही दिनदेखिनै कालोपत्रे उप्किन सुरु गरेको स्थानिय बताउँछन् ।

सो सडक निमार्ण सम्पन्न भएको केही दिनपछि हात , खुट्टाले खोस्रिदा पनि भत्किएको स्थानियको भनाइ छ । हाल सडकको विभिन्न स्थानमा कालोपत्रे उप्किएर गिट्टी छुट्टिएको छ भने कतिपय स्थानमा खाल्टा पर्न सुरु गरेको छ ।

नगरपालिकाले स्थानिय उपभोक्त समितिलाई जिम्मा लगाएर बनाउन दिएको सडकको गुणस्तर निकै कमसल देखिएको स्थानिय बिक्रम घिमिरे बताउँछन् । उनले नागरिकको करबाट राज्यको लगानिमा बनेको सडक कमसल हुनु दुःखद् भएको भन्दै यसलाई तत्काल भत्काएर गुणस्तरिय बनाउनु पर्ने माग राखे ।

चन्द्रपुर- ५ क वडाध्यक्ष निलहरी कोइरालाले आफुलेपनि स्थानियले गुनासो गरेपश्चात सो सडकको अनुगमन गरेको र सडक निमार्णको काम गुणस्तरहिन पाएको जनाउँदै त्यसको आवश्यकता अनुसार पुनःनिमार्ण हुनुपर्ने बताए । उनले सो सडकको भुक्तानी हालसम्म नभएकाले सडक गुुणस्तर नबनुन्जेल भुक्तानी प्रक्रिया हस्ताक्षर नगर्ने जनाए ।

यता नगर प्रमुख संजय काफ्लेले आफुले यस बारेमा हालसम्म कुनै जानकारी प्राप्त नगरेको जनाउँदै स्थानिय वा वार्डबाट आफुकहाँ लिखित उजुरी आएर भुक्तानी प्रक्रिया रोकिदिने जनाए ।

चन्द्रपुर नगरपालिकाका सवइन्जिनियर नुर महम्मदले चिसोको कारण पिचले राम्रोसँग सेट हुन नपाएकाले भत्किएको हुनसक्ने आशंका गर्दै हालसम्म भुक्तानीको लागि फाइल आफुहरुको शाखामा नआएको र आएपछि अनुगमन गर्ने जनाए ।

तर स्थानिय भने निमार्ण गर्ने क्रममा अलकत्रा लगायतका सामाग्रीहरु निकै कम मात्रामा प्रयोग गरिएको , निमार्ण गर्ने बेलामा रोलिङ राम्रोसँग नगरिएको र जसरी हुन्छ वजेट पचाउने उद्धेश्यले काम गरेका सडक बन्न नपाउँदै भत्किन सुरु गरिएको बताउँछन् ।

LIVE TV