१५ मंसिर २०७९, बिहीबार
  • अनमोल कार्की

राैतहट । चन्द्रपुर नगरपालिका नगर प्रमुख संजय काफ्लेले कतारमा जारी विश्वकप हेर्नका लागि नगरका विभिन्न टोलहरुमा प्रोजेक्टर वितरण गरेका छन् । यस कार्यक्रम अन्र्तगत नगर प्रमुख काफ्लेले टोलका यूवाहरुलाई आफै गएर प्रोजेक्टर वितरण गरिरहेका छन् ।

चन्द्रपुर नगरपालिका फुटबलको हव बन्दै गएको र यहाँ धेरै फुटबल खेलाडीहरु भएकाले प्रोजेक्टरको माध्यमबाट ठुलो पर्दामा विश्वकप हेरेर सिक्न सकुन भनेर प्रोजेक्टर बाडिएको नगर प्रमुख काफ्लेको भनाइ छ । ‘४ वर्षमा आउने विश्वकप सबैले नजिकैबाट नियालेर हेर्न सकुन् भनेर प्रोजेक्टर बाडिएको हो,’ उनले भने , ‘विश्वकपको मज्जा लिनुका साथै यसबाट खेलाडीलाई फुटबल सिक्न मद्धत होस् भनेर नगरपालिकाले यो काम गरेको हो । सबैको घरमा विश्वकप फुटबल हेर्न सक्ने अवस्था पनि छैन् , उनीहरुलाई यसले राहत प्रदान गर्छ ।’

उनका अनुसार नगरपालिकाले ‘फुटबल खेलको विकास र प्रवद्धनको लागि चन्द्रपुर नगरपालिकाको प्रयास’ भन्ने नाराको साथ सुरु गरिएको यो कार्यक्रम अन्र्तगत नगरका सबै १० वटै वार्डमा एक–एक वटा तथा कतै भूगोल र आवश्यकता हेरेर थप एकदुई वटा प्रोजेक्टर वितरण गरिएको हो । एउटा प्रोजेक्टरको ८० हजार पर्ने र विश्वकप सकिएपछि सो प्रोजेक्टर सम्बन्धित वडा कार्यालाई जिम्मा लगाएर विभिन्न वहुआयामिक तरिकाले प्रयोग गर्ने योजना नगरको रहेको नगर प्रमुख काफ्लेको भनाइ छ ।

तर उनको यो कार्यको भने स्थानियले आलोचना गरिरहेका छन् । नगर प्रमुखले शिक्षा, स्वास्थ्य, पूर्वाधार, नागरिक सेवा लगायतका सेवाहरुलाई ध्यान दिन छाडेर विश्वकप हेर्न प्रोजेक्टर वितरण गरेको भन्दै स्थानियले आलोचना गरेका छन् । उनीहरुले यसरी अनुपात्दक क्षेत्रमा खर्च गर्नु सट्टा नागरिकले प्रत्यक्ष लाभ लिने दिर्घकालिन सेवाहरुमा लगानी गरिनुपर्ने माग गरेका छन् । उनीहरुले चन्द्रपुर नगरपालिकामा रहेको दमकल बिग्रिएर बस्दाँ समयमै मर्मत गर्न नसक्ने नगरपालिकाले प्रोजेक्टर बाडेर रमिता देखाएको भन्दै आक्रोश व्यक्त गरेका छन् । स्थानिय राम कुमार कटवालले नगर प्रमुखले यसरी वाइवात खर्चको पछाडि लाग्नु भन्दा नगरको विकासमा ध्यान दिनुपर्ने सुझाउँदै यो खर्च गरिबको घर टहरा बनाउन खर्चिनुपर्ने बताए ।

यता नगर प्रमुख काफ्ले भने चन्द्रपुर नगरपालिका अरु विकासका पूर्वाधारमा पनि उत्तिकै सक्रिय भएर काम गरिरहेको दावी गर्दै नगरपालिकामा फुटबलको विकास र खेलाडीको सिकाइको उद्धेश्यले यो कार्य गरेकोले यसलाई गलत अर्थमा नलिन आग्रह गर्छन् ।

LIVE TV