१३ मंसिर २०७९, मंगलवार
  • मुस्कान श्रेष्ठ,

वीरगञ्ज (पर्सा) । मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १० हजार भन्दा बढी अर्थात् ४.४० प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालय पर्साको तथ्यांकमा उल्लेख गरिएको छ । ४ निर्वाचन क्षेत्र रहेको पर्सामा प्रतिनिधि सभातर्फ सबैभन्दा बढी मतबदरको संख्या पर्सा क्षेत्र नम्बर २ र सबैभन्दा कम क्षेत्र नम्बर ४ मा रहेको छ ।

८६ हजार ९ सय ६६ मतदाता रहेको पर्सा २ मा ५८ हजार ५ सय ४७ मत अर्थात ६७.३२ प्रतिशत मत खसेको थियो । जसमध्ये ३ हजार ४६ अर्थात ५।२० प्रतिशत मत बदर भएको छ । यस्तै क्षेत्र नम्बर १ मा ५१ हजार २ सय ११ मत खसेकोमा २ हजार ५ सय ९१ अर्थात ५।०६ प्रतिशत मत बदर भएको छ ।

क्षेत्र ३ मा ६४ हजार ३ सय २४ मत खसेकोमा २ हजार ६ सय ५१ अर्थात ४।१२ प्रतिशत र क्षेत्र ४ मा ६२ हजार २ सय १९ मत खसेकोमा २ हजार १ सय ३ अर्थात ३.३८ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ । पर्साको प्रतिनिधि सभातर्फ कुल २ लाख ३६ हजार ३ सय १ मत खसेकोमा १० हजार ३ सय ९१ मत बदर भएको हो ।

प्रदेश सभातर्फ २ लाख ३६ हजार ८६ मत खसेकोमा कुल ८ हजार २८ अर्थात ३.४० प्रतिशत बदर मत भेटिएको जिल्ला निर्वाचन अधिकृत रंजिता झाले जानकारी दिए । ८ निर्वाचन क्षेत्र रहेको पर्सामा सबैभन्दा बढी क्षेत्र २ क मा मत बदर भएको छ । सो क्षेत्रमा ३१ हजार ४ सय ५७ मत खसेको थियो ।

जसमध्ये १ हजार ३ सय ७१ अर्थात ४।३६ प्रतिशत मत बदर भएको उनले बताए । सबैभन्दा कम ४ ख मा ८ सय ७८ अर्थात २.९ प्रतशत मत बदर भएको छ ।

समानुपातिक तर्फ बदर मत बढी

यसैगरी प्रतिनिधि सभाको समानुपातिक तर्फ २ लाख ३६ हजार ६ सय ५० मत खसेकोमा ११ हजार ३ सय ४७ मत अर्थात ४.७९ प्रतिशत मत बदर भएको छ । प्रदेश सभाको समानुपातिकतर्फ २ लाख ३७ हजार ४ सय १७ मत खसेकोमा १५ हजार ९ सय ५९ अर्थात ६.७२ प्रतिशत मत बदर भएको निर्वाचन कार्यलयको तंथ्याकले देखाएको छ । समानुपातिकमा समेत पर्सा क्षेत्र २ मा सबैभन्दा बढी मत बदर भएको छ ।

यस्तै आयोगले तोकेको २ अस्थायी मतदान स्थालमा भएको मतदानमा ९ सय १ मध्य ८१ मत खसेकोमा १ मत बदर अर्थात १।२३ प्रतिशत मत बदर भएको दखिएको छ । यो तथ्यांकलाई हेर्दा पर्सामा प्रत्यक्ष र समानुपातिक मध्य सबैभन्दा बढी प्रदेश सभा तर्फको समानुपातिकमा मत बदर बढी भएको छ ।

मतदाता शिक्षा कार्यक्रम प्रभावकारी भएको दाबी

यता यसपटकको निर्वाचनमा मत बदर संख्यामा कमी आएको जिल्ला निर्वाचन कार्यालय पर्साले दाबी गरेको छ । मतदाता शिक्षा प्रभावकारी भएको कारण यसपटकको निर्वाचनमा मत बदरको संख्या विगतभन्दा कम देखिएको जिल्ला निर्वाचन कार्यलय पर्साका सूचना अधिकारी अरुण ठाकुरले बताए ।

उनले मतदाता शिक्षा प्रचारप्रसारका लागि १२ रेडियो एफएमलाई ५ हजारको दरले ६० हजार, १४ वटा स्थानीय तहमा रहेका फोकल पर्सनलाई ७ हजारको दरले ९८ हजार र १४ पालिकामा गरिएको नमुना मतदानको क्रममा ५ हजारको दरले ६० हजार गरी कुल २ लाख २८ हजार रुपैया खर्च भएको बताए । साथै प्रत्येक स्थानीय तहले आ–आफ्ना पालिकामा महिला स्वयमसेवीका परिचालन गरी घरघरमा मतदाताहरुलाई मतदान गर्ने शिक्षा प्रदान गरेको सूचना अधिकृत ठाकुरले बताए ।

२०७४ सालको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा १० प्रतिशत भन्दा बढी मत बदर भएको थियो । ३ लाख ४५ हजार ९ सय २८ मतदाता रहेको पर्सामा ६९ प्रतिशत मतदाताले मतदान गरेका थिए ।

LIVE TV