१२ मंसिर २०७९, सोमबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले फरक–फरक समयमा भेटघट गरेका छन् ।

निर्वाचनको मतपरिणाम आइसक्न लागेको अवस्थामा प्रचण्ड र माधवले प्रधानमन्त्री देउवासँग आगामी सरकार निर्माणका विषयमा कुराकानी गरेको जनाइएको छ ।

वालुवाटार स्रोतका अनुसार सोमबार बिहानै दुवै नेताले फरक फरक समयमा वालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेट गरेका हुन् ।

यसअघिको भेटमा प्रधानमन्त्री एवं काँग्रेस सभापति देउवासहित गठबन्धनका शिर्ष नेताहरुबीच यही गठबन्धनलाई निरन्तरता दिनेबारे सहमती भइसकेको छ । तर सरकारको नेतृत्व कसले गर्ने भन्नेमा टुंगो लागेको छैन । गठबन्धनका नेताहरुमध्ये प्रचण्ड पनि प्रधानमन्त्री बन्ने आकांक्षामा छन् । काँग्रेसमा देउवासहित आधा दर्जन नेताहरु प्रधानमन्त्री बन्ने दौडमा छन् ।

उता नेकपा एमालेले पनि आफ्नो नेतृत्वमा सरकार गठन गर्नका लागि विभिन्न विकल्पहरुको खोजी गर्न थालिसकेको छ ।

LIVE TV