१२ मंसिर २०७९, सोमबार

काठमाडौं । प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचनतर्फ युवा समूहबाट नगण्य मात्र प्रतिनिधित्व भएको छ ।

१६५ निर्वाचन क्षेत्रको नतिजा आउने क्रम अन्तिम चरणमा पुग्दा ४० भन्दा कम उमेर समूहका निर्वाचित सदस्यहरू आठ जना मात्र रहेका छन् । ३० भन्दा कम उमेर समूहका दुई जनामा छन् ।

अहिलेसम्म प्रत्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम कम उमेरकी निर्वाचित सदस्य छिन् ।

उमेर समूहमा सबैभन्दा बढी ५० देखि ६० वर्षका ५९ जना निर्वाचित भइसकेका छन् । ५० भन्दा तल उमेर समूहका ३८ जनाको प्रतिनिधित्व प्रत्यक्षतर्फबाट हुने देखिएको छ ।

आइतबार साँझसम्म सार्वजनिक भएको १५६ क्षेत्रको परिणामअनुसार ३० वर्षभन्दा कम उमेर समूहका २ जना, ३० देखि ४० उमेर समूहका ६ जना र ४० देखि ५० वर्ष समूहका ३० जना निर्वाचित भएका छन् ।

यस्तै ५० देखि ६० उमेर समूहका ५९ जना निर्वाचित हुँदा ६० देखि ७० उमेर समूहबाट ४७ जना निर्वाचित भएका छन् ।

७० वर्षभन्दा माथिका १२ जना छन् । जसमा तीन जना ८० वर्षमाथिका निर्वाचित सदस्य छन् ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

LIVE TV