११ मंसिर २०७९, आईतवार
  • अनमोल कार्की,

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–२ रैयाटोलमा रहेको महेन्द्र माविले आफ्नो ४७ औं वार्षिकोत्सव विविध कार्यक्रम गरेर मनाएको छ । विद्यालयमा आइतबार आयोजित वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि तथा चन्द्रपुर नगरपालिका शिक्षा शाखा प्रमुख कृष्ण सिग्देलले विद्यालयले गौरवपूर्ण इतिहास बोकेको स्मरण गर्दै चन्द्रपुर नगरपालिका चन्द्रपुर नगरभरी रहेका विद्यालयहरुको शैक्षिक तथा भौतिक विकासको लागि योजनावद्ध ढंगले लागिरहेको बताए ।

उनले शिक्षाको विकास भए समाजको विकास हुने भन्दै विकसित समाजको जग शिक्षाले बसाउने उल्लेख गरे । चन्द्रपुर नगरपालिकाका शिक्षा शाखाका शाखा अधिकृत दिपेन्द्र मण्डलले चन्द्रपुर नगरपालिकामा शिक्षा क्षेत्रमा क्रमसः सुधारहरु हुँदै गरेको जानकारी दिर्दै पूर्वाधारसँगै गुणस्तरिय शिक्षा प्रदान गर्न चन्द्रपुर नगरपालिकाका विद्यालयहरु तयार हुँदै गएको जनाए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संजिव कुश्वारले विद्यालयले पछिल्ला दिनहरुमा शिक्षाको गुणस्तरमा व्यापक सुधार गरिरहेको जनाउँदै सो विद्यालयलाई अब देशकै नमुना विद्यालय बनाउन सबै मिलेर लाग्नुपर्नेमा जोडदिए ।

यस्तै बिर दल गण गौरका सेनानी प्रकाश कुमार गिरीले विद्यालयहरुले पढाइ सँगसँगै अतिरिक्त कृयाकलापमा पनि जोड दिनुपर्ने बताउँदै एक असल नागरिक बनाउन सबै पक्षबाट समक्ष जनशक्ति उत्पादनमा विद्यालयले जोडदिनु पर्ने जनाए ।

उनले यस विद्यालयमा विद्यार्थीहरुलाई नेपाली सेनाले राष्ट्रिय सेवा दलको तालिम प्रदान गरिरहेको जनाउँदै राष्ट्रिय सेवा दलले तालिम मार्फत देशको समग्र यूवा जनशक्तिलाई अनूशासित, वफादार, ईमान्दार र जवाफदेहि, नेतृत्व दिन सक्ने, देशभक्त एवं राष्ट्रिय एकताको भावना जागृत गराई मद्धत पु¥याउने विश्वास प्रकट गरे ।

विद्यालयकी प्रधानाध्यापक कमला थापाले ४७ वर्षको अन्तरालनमा महेन्द्र माविले विभिन्न आरोह अवरोह पार गर्दै आजको दिनसम्म आइपुगेको भन्दै अभिभावक, विद्यार्थी , नागरिक समाज, जनप्रतिनिधि लगायत सबैको सहयोग विद्यालयलाई देशकै नमुना विद्यालय बनाउने दिशातिर आफुहरु अग्रसर बनिरहेको जनाइन् । उनले विद्यालयमा अझैपनि गर्न बाँकी धेरै कामहरु रहेकाले आफूहरु त्यसमा लागि रहेको र आफुहरुको यस अभियानमा सबैले साथ सहयोग गरिरहेकोमा धन्यवाद पनि दिइन् ।

उनले अहिले विद्यालयमा ५ सय ३५ जना विद्यार्थीहरु अध्ययरत रहेको र अभिभावकहरुको पनि विद्यालय प्रति चासो बढिरहेकोमा खुसी व्यक्त गर्दै आर्थिक सामाजिक कारणले विद्यार्थीहरुलाई नियमित गर्न नसकेको गुनासो गरिन् । सो अवसरमा विद्यार्थीहरुले सास्कृतिक कार्यक्रमहरु प्रस्तुत गर्नुका साथै राष्ट्रिय सेवा दलमा आबद्ध विद्यार्थीहरुले विभिन्न कवाज तथा कलाहरुको प्रदर्शन गरेका थिए ।

कार्यक्रममा विद्यालयलाई माल्याअर्पण गरिनुका साथै विद्यालयका संस्थापक सदस्य सन्तराम राईलाई सम्मानित गरिएको विद्यालयका शिक्षक दिनेश सापकोटाले जानकरी दिए ।

LIVE TV