१० मंसिर २०७९, शनिबार
  • रितीक अधिकारी

सर्लाही । सर्लाहीको कौडेना गाउँपालिकामा स्थानीय सचेत युवाहरुले सरसफाई अभियानलाई जारी राखेका छन् ।

जिल्लाको दक्षिणी भेगस्थित सदरमुकाम मलंगवादेखि पश्चिमतर्फ पर्ने सो गाउँपालिकाका युवाले फोहोर र दुर्गन्धित रहेका गाउँपालिकाभित्रका हाटबजारको स्वरुप बदल्ने उद्देश्यले दोस्र्रो पटक सरसफाई अभियान गरेका हुन् ।

युवाको यो अभियानमा प्रहरी र अन्य स्थानीयवासीको समेत सहयोग थियो । उनीहरुले ‘स्वच्छ गाउँ, स्वच्छ गाउँपालिका हाम्रो’ भन्ने नारा दिएर आज दोस्रो पटक शनिबार बिदाको दिन पारी हुलाकी राजमार्गमा पर्ने कौडेना बजारमा सरसफाई गरेका हुन् ।

स्थानीयले आन्दोलन गरेपछि कौडेना बजार क्षेत्रमा हुलाकी सडक कालोपत्रेको काम अघि बढेपछि अहिले त्यहाँ धूलो उड्न पनि केही कम भएको छ । आजको सरसफाईमा ईलाका प्रहरी कार्यालय कौडेनाका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) उमाशंकर यादवसहित प्रहरीको समेत उपस्थिति रहेको थियो ।

शनिबार दिन कौडेना गाउँपालिकाको केन्द्र रहेको हुलाकी राजमार्गस्थित कौडेना बजार क्षेत्रमा सरसफाई गरिएको अभियानका नेतृत्वकर्ता एवं कौडेना गाउँपालिकामा कार्यरत गाउँ प्रहरी धिरोज यादवले जानकारी दिए ।

LIVE TV