२८ कार्तिक २०७९, सोमबार
  • मुस्कान श्रेष्ठ

वीरगन्ज । पर्सामा निर्वाचनको माहोल तातिएसँगै सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । आसन्न मंसिर ४ गतेको निर्वाचन नजिकिँदै गर्दा नेपाल–भारत सीमा नाकामा खटिएका सुरक्षाकर्मीहरुले नाकाबाट ओहोरदोहोर गर्नेमाथि कडाईका साथ चेकजाँच गरिरहेका छन्।

जिल्ला प्रहरी कार्यालयले पर्साको सीमाक्षेत्रमा तालिमप्राप्त कुकुर प्रयोग गरि सीमा नाकामा निगरानी बढाएको छ । आगामी प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन नजिकिँदैदै गर्दा पर्सा जिल्लाको नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।

निर्वाचनको बेला सीमानाकामा बढ्न सक्ने अपराधिक गतिविधिहरुलाई मध्यनजर गर्दै सुरक्षाकर्मीले सुरक्षा व्यवस्था कडा पारेको हो । मुलुककै प्रमुख नाकाको रुपमा रहेको वीरगंजको सीमाक्षेत्रमा दैनिक हजारौँँको संख्यामा आवतजावत हुने गर्दछ । अवैध हातहतियार वा विष्फोटक पर्दाथ भित्रिन सक्ने भन्दै वीरगंज–रक्सौल सिमाक्षेत्रमा सुरक्षाकर्मीले तालिम प्राप्त कुकुरको परिचालन गर्दै मानिसको शरीर खानतलासी गरिरहेका छन् ।

अति व्यस्त नाका भएर मोटसाईकल, गाडी ट्रक लगायतका गरी दैनिक ३ हजार देखि ४ हजारको हाराहारीमा सवारी साधन आवतजावत गर्छन् । ५ देखि ६ हजारको संख्यामा मानिसहरु दैनिक ओहोर दोहोर गर्ने गरेको छ । नेपाल–भारत सिमानाका खुल्ला भएको हुँदा खास गरि सीमाक्षेत्रमा अपाराधिक क्रियाकलाप बढी हुने गर्छ । साथै खुल्ला सिमाको फाईदा उठाउदै अपाराधीहरुलाई छिमेकी मुलुक भारत प्रवेश गर्न, साना हातहतियार ल्याउन सहज रहेको छ । सोही कुरालाई मध्य नजर गर्दै जिल्ला प्रहरी कार्यलय पर्साले वीरगंज–रक्सौल सिमानाकामा सुरक्षाकर्मीसहित तालिम प्राप्त कुकुरको परिचालन गरेको छ । जिल्ला प्रहरी कार्यलय पर्साका अनुसार पर्साका सम्पूर्ण सानाठूला नाकाहरुमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

निर्वाचनको बेला मतदाताहरुलाई डर देखाउने र निर्वाचन विथोल्ने गिरोहहरु सक्रिय हुनसक्ने भन्दै सीमाक्षेत्रमा सुरक्षाकर्मीहरुसहित तालिम प्राप्त कुकुर परिचालन गरिएको वडा प्रहरी कार्यलय विर्ताका प्रहर निरीक्षक विशाल मल्लले बताएका छन् ।

आगामी निर्वाचनलाई निष्पक्ष, पारदर्शी र भयरहीत वातावरणमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजना लागु गरिएको जिल्ला प्रशासन कार्यलय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताए । उनले सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त पार्न भारतिय समकक्षीहरुसंग समन्वय गरेर सिमाक्षेत्रको दुवैतर्फ आकस्मिक चेकजाँच, गस्तीका साथै जिल्ला भरि तालिम प्राप्त कुकर परिचालन भईरहेको बताए ।

उनले पर्सा जिल्लामा भरिका मतदान केन्द्रहरुमा सुरक्षाकर्मीहरु खट्ने कार्य सुरु भईसकेको हुँदा मंसिर ४ गतेको निर्वाचनमा निर्धक्क भई मतदान गर्न मतदाताहरुलाई आग्रह गरेका छन् । पर्सा जिल्लामा आगामी प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन अवधीभर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरि कुल ४५ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

LIVE TV