२७ कार्तिक २०७९, आईतवार
  • प्रकाश विकल्प

‘निरन्तर क्रान्ति भन्नुको अर्थ बाहिरी क्रान्तिको मात्र कुरा हैन, आफैभित्र पनि निरन्तर क्रान्ति र हस्तक्षेपको कुरा हो ।’ प्रचण्डको यो भनाईमा सारा रुपान्तरण र अग्रगमनको नियम केन्द्रिकृत छ । रुपान्तरण वा क्रान्तिको अर्थ बन्दुक बोक्नु मात्र हैन, बन्दुक त केवल साहायक हो वा बन्दुकको आवश्यकता नै नपर्न सक्छ । मुख्य कुरा त आफ्नो यथास्थितीवादी अप्राकृतिक र अवैज्ञानिक ज्ञान र चेतनामाथि आफैले निरन्तर हस्तक्षेप गर्नु नै हो । जब एउटा मानिस आफ्नै बुझाई र चेतनामाथि हस्तक्षेप गर्न पुग्छ तब मात्र उ क्रान्तिकारी बन्न सक्छ । क्रान्तिकारी बन्ने कुरा आफैमा सहज छैन । सहज हुँदो हो त आम मानिस क्रान्तिकारी हुन्थे होला नि ! सबै मानिस क्रान्तिकारी हुन्थे भने आज यो दुनीयाँ अर्कै हुन्थ्यो ! जहाँ एकपछि अर्को अग्रगमन, एकपछि अर्को खोज र प्रयोग, एकपछि अर्काे आविष्कार, एकपछि अर्को रुपान्तरण र चमत्कारको स्थिती हुन्थ्यो ! मानिस सबै समान र बराबरी । एकले अर्काको अधिकारको पूर्ण समान । जहाँ लडाई जगडा, युद्ध र आन्दोलनको ठाउँमा मानवताको उत्कृष्ट अभ्यास हुन्थ्यो होला ! यसको अर्थ, क्रान्तिको मुख्य स्रोत नै आम मानिस क्रान्तिकारी नहुँनु हो । अर्थात्, क्रान्तिको मुख्य स्रोत नै यथास्थितीवाद हो । यथास्थितीवाद नहुँदो हो त क्रान्ति वा परिवर्तनको जरुरी नै हुँदैनथ्यो । यसलाई अर्को कोणबाट हेर्दा, यो ग्यारेन्टी हो कि जुनदिनसम्म यथास्थितीवाद अस्तित्वमा रहन्छ, त्यो दिनसम्म क्रान्तिको औचित्य पनि रहिरहन्छ ।

दुनीयाँमा भएका क्रान्ति र आन्दोलनले अर्को एउटा कुरा पनि प्रमाणित गरेको छ, त्यो के भने क्रान्तिकारी र यथास्थितीवादीबीच हरपल टकराब भैरहन्छ । अन्तत्वगतः क्रान्तिकारी अर्थात् परिवर्तनकारीको जित हुने भएकाले नै समाज अगाडि बढ्छ । दुनीयाँको कुरै गर्न पर्दैन, नेपालकै इतिहास र वर्तमान हेर्दा पनि स्पष्ट हुन्छ । जब बुद्धले मानवताको पक्षमा आफूलाई दह्रोसँग उभ्याउँनु भयो, त ब उतिकै दह्रोसँग तत्कालिन समयका यथास्थितीवादीले आलोचना गरे । समाज भाडेको आरोप लगाए । बुद्धको ज्ञान र चेतनालाई निरुत्साहित गर्न अनेक तिकडम र हत्कण्डा अपनाए । परन्तु, बुद्धको सफलता अनिवार्य थियो । किनकी, उहाँले सत्य वोल्नु भएको थियो । सत्यको पक्षमा मानिसलाई हिडाउन प्रयत्न गर्नु भएको थियो । सत्य बोल्नु र गर्नु भने कै क्रान्तिकारी गुण हो । क्रान्तिकारीमा झुट र भ्रमको कुनै स्थान हुँदैन । सत्यता फेरि पनि सत्यता र अन्ततः सत्यता नै क्रान्तिकारीको मुल चरित्र हो ।

प्रचण्डले हार्नु भनेको न्यायले हार्नु हो, प्रचण्डले हार्नु भनेको परिवर्तनले हार्नु हो, प्रचण्डले हार्नु भनेको हजारौं वर्षदेखि उत्पीडनमा रहेका महिला, मधेशी, आदिवासी जनजाति, दलित, मुस्लिम, थारू आदिले हार्नु हो ।

झण्डै २६ सय वर्ष अगाडि बुद्धको समयमा मात्र हैन आज पनि यथास्थितीवादीको कमी छैन समाजमा । उ आफ्नो एकछत्र रजाईबाट पछि हट्न मन्जुर छैन । त्यही भएर परिवर्तन उसका लागि अस्वीकार्य छ । यथास्थितीवादीको मुल चरित्र नै हो, परिवर्तनकारीलाई दुत्कार्नु । प्रचण्डको नेतृत्वमा भएको परिवर्तित राजनीतिक व्यवस्थाबाट तिल्मीलाएको तरमारा वर्ग आज ‘प्रचण्डको जितमा देशको हार हुने’ भ्रम दिइरहेको छ । राजा महाराजाको चाकडी र चाप्लुसीबाट अनगिन्ती लाभ लिएको वर्गका केही मानिस परिवर्तन स्थापित हुनुभनेको प्रचण्ड स्थापित हुनु हो, जहाँ उनीहरु आफ्नो लुटको साम्राज्य ध्वस्तहुने भयबाट ग्रसित छन् । तर, सत्य त्यो हैन । प्रचण्डले हार्नु भनेको न्यायले हार्नु हो, प्रचण्डले हार्नु भनेको परिवर्तनले हार्नु हो, प्रचण्डले हार्नु भनेको हजारौं वर्षदेखि उत्पीडनमा रहेका महिला, मधेशी, आदिवासी जनजाती, दलित, मुस्लीम, थारु आदिले हार्नु हो । प्रचण्डले जित्नुभनेको अग्रगमनले जित्नु हो । न्याय र समानताले जित्नु हो र तरमारा वर्गको सर्वथा हार हुनु हो ।

प्रचण्डको आखिरी सपना : सुशासन र समृद्धि

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ का लागि नेकपा (माओवादी केन्द्र) ले जारी गरेको उसको घोषणापत्रले पनि पचण्डको सुशासन र समृद्धिको सपनालाई पछ्याएको देखिन्छ । माओवादी घोषणापत्रको अग्रपेजमै ‘समृद्धिका लागि क्रमभंगता’ को नारा दिएर प्रचण्डको आखिरी सपनालाई प्रतिविम्वित गरेको छ । यहाँ बुझ्न पर्ने कुरा के छ भन्ने ‘क्रमभंगता’ कुनै क्रान्तिकारीको पेवा शब्द नभएर प्रकृति र विज्ञानको अनिवार्य नियम हो । क्रमभंगता भनेको निरन्तरताको निरन्तरता नभएर निरन्तरतालाई तोडेर/फोरेर नयाँ बाटो पक्रिने भने हो । आज जुन विश्व ब्रमाण्ड छ, आज हामी मानिस जुन पृथ्वी नामको ग्रहमा वस्छौं, वर्तमान मानवजातिले जुन सहज जिवन पाएको छ, यो सबै कुरा निरन्तरतामा क्रमभंगताको नियम अनुसार नै भएको हो । निरन्तरतामा क्रमभंगता हुँदैनथ्यो भने विश्वब्रमाण्ड बन्ने नै थिएन । ब्रमाण्ड नबनेको भए पृथ्वी नामको ग्रह पनि बन्ने नै थिएन । प्राणिका लागि अनुकुल ग्रह पृथ्वी नबनेको भए, प्राणि अस्थित्वमा आउने नै थिएन । पृथ्वी नामको ग्रहमा पहिली एककोषीय जिव वन्यो, एककोषीय जिवमा क्रमभंग भई दुई कोषीय जिव बन्न सम्भव भयो । दुई कोषीय जिवमा पनि क्रमभंगताले बहुकोषीय जिव बन्न सम्भव भयो र अन्ततः आज प्राणि यो अवस्थामा छ । प्रकृतिको नियम नै हो, जब एक अवस्थाबाट अर्को अवस्थामा जानुपर्ने हुन्छ, त्यहाँ क्रमभंगताको नियम आकर्षित हुन्छ ।

खैर, प्रचण्डबाट पनि परिस्थितीजन्य कमजोरी भए होला । तर, उहाँ देशको समृद्धिको सपनाबाट बिमूख हुनु भएको छैन । प्रचण्डको आत्मानुभूतिः ‘विग्रिएका नेता नै हुनु, नेता सचिने हो भने सबै ठिक हुन्छ ।’ उहाँले यो कुरा पटकपटक सार्वजनिक रुपमै वोल्ने गर्नु भएको छ । यो चानचुने विषय हैन । यति महसुस गर्ने अर्को नेता को छ नेपालमा ? प्रचण्डबाहेक कुन नेताले नेता विग्रीयौं भनेर सार्वजनिक रुपमा आत्मालोचना गरेका छन् ? कसैले देखाइदिन सक्छ ? सक्दैन । आत्मालोचना शुद्धिकरणको प्रस्थानविन्दु हो । त्यसकारण, नेपाललाई बनाउने हो भने समकालिन नेताका तुलनामा प्रचण्डको नेतृत्वमा नै बन्ने सम्भावना बढी देखिन्छ । २०७४ को निर्वाचन पश्चात् नेपाली कांग्रेसले पाँचै वर्ष प्रधानमन्त्री हुन गरेको अनुरोधलाई वेवास्था गर्दै सुशासन र समृद्धिका लागि राजनीतिक स्थायित्व हुनुपर्ने निश्किर्षसहित प्रचण्डले एमाले–माओवादी एकताको पहल लिनु भयो । कमरेड ओलीका विभिन्न अपमानजनक व्यवाहार सहेर पनि नेकपाको एकता बचाउन उहाँले लिखित सहमती विपरित ओलीलाई नै पाँच वर्ष प्रधानमन्त्री चलाउन भन्नु भयो । यो सबै कोणबाट हेर्दा, अन्य नेताको तुलनामा पचण्डकै कद उच्चो देखिन्छ । अतः आफ्नो गर्विलो इतिहासको रक्षा र समृद्धिको सपना साकाहार गर्न प्रचण्डले आगामी सरकारको नेतृत्व गर्ने अवस्थामा निम्न पाँच काम अतिनै दृढतापूर्वक गर्नुपर्ने हुन्छ ।

१. उत्कृष्ट टिम निर्माण

खेलकुदको कुरा गरौं वा अन्य क्षेत्रको राम्रो टिम निर्माण र टिम ओर्कमा काम गर्नु भनेको सूरुमै आदि जित्नु हो । विश्वका विकसित देशको इतिहास हेर्दा पनि स्पष्ट हुन्छ कि, त्यहाँ फगत कुनै एकजना नेताको मात्र योगदान हुँदैन । टिमओर्क मुख्य हुन्छ । हामीले छोटो समयमा विकास भएको भनेर नाम लिने मलेसीयाको इतिहास हेर्दा पनि त्यो उत्कृष्ट टिम ओर्क कै परिणाम हो । देशका लागि केही गरौं भन्ने हुट्हुटी भएका राजनीतिक नेतृत्वका रुपमा माहाथिर मोहमदको साथमा डा. नुर्दिनजस्ता भिजनरी मान्छेको टिम थियो । तर, नेपालमा पालो पुर्याउन, गुट मिलाउन, रोइकराई गरेकालाई थुम्थुम्याउने नाममा ढंग र क्षमता नभएकालाई पनि सरकारमा पठाइन्छ र सरकार परिणामविहीन हुन्छ । त्यसकारण, प्रचण्डले आफ्नो आखिरी सपना साकाहार गर्न जागिरे मानसिकताका नेतालाई आगामी सरकारको जिम्मेवारीमा जान निशेध गर्नुपर्छ । टिमको छनोटबाटै सूरु हुन्छ, सरकारको भविष्य । जागिरे मानसिकता भएका र एकपटक मन्त्री त भैहालौं भन्ने मनोविज्ञानलाई पूर्ण निशेध गर्नुपर्दछ । प्रचण्डले देख्नु भएको सुशासन र समृद्धिको आखिरी सपना साकार गर्न टिम निर्माणमा पनि क्रमभंगताको नियम पक्रिनै पर्दछ । गन्तव्य नयाँ हुने तर बाटो पुरा नै हिडिन्छ भन्ने प्रारम्भमै निश्चित हुन्छ कि, गन्तब्यमा गुपिुग्दैन ।

२. भिजन र दृढ इच्छाशक्ति

उत्कृष्ट टिम निर्माणसँगै उत्कृष्ट भिजन र दृढ इच्छाशक्ति पनि उतिकै आवश्यक हुन्छ । त्यसकारण, नागरिक आकांक्षा र प्रचण्डको सुशासन र समृद्धिको सपना छोटो समयमा साकाहार गर्न कम्तिमा ३० वर्षको भिजन निर्माण गर्ने र त्यस भिजनका आधारमा आफ्नो कार्यकालको दैनिक कार्ययोजना बनाई काम गर्नुपर्दछ । यसले उहाँको प्रधानमन्त्रीत्वकालमै सुशासन र समृद्धिको जग निर्माण गर्दछ ।

३. नीति र प्रणालीगत पुनर्संरचना

मैले सधै भन्ने गरेको कुरा के हो भने दुनीयाँमा क्रान्ति दुई प्रकारले हुन्छ । १. अवैधानिक क्रान्ति २. वैधानिक क्रान्ति । अवैधानिक क्रान्ति भनेको राज्यप्रणालि, शासन व्यवस्था, राज्यका खराब नीति, प्रयोग र व्यवाहार आदिका बिरुद्ध विद्यमान कानुनले वर्खिलाप गरेर गरिने क्रान्ति हो भने वैधानिक क्रान्ति भनेको क्रान्तिकारी शक्ति राज्यशक्तामा पुगेर गर्ने नीतिगत क्रान्ति हो । आम नागरिकको आकांक्षा वैधानिक क्रान्तिको पक्षमा हुन्छ । त्यसकारण, प्रचण्डले पुनं शत्ता समालेसँगै नीतिगत क्रान्ति छेड्नुपर्दछ । नीतिगत क्रान्तिका माध्यमद्धारा विकासका बाधक ऐनकानुनको खारेजी र नयाँ निर्माण, असमानता र विभेदलाई प्रश्रय दिने नीतिको खारेज गरी समानता र बराबरीको ग्यारेन्टी गरिएको नीति निर्माण र लागू गर्ने । अवैज्ञानिक निरपेक्ष नीति निलम्बन गरी सापेक्षित अर्थात् वैज्ञानिक नीति निर्माण र लागू गरी वैज्ञानिक संस्कार र समाज निर्माण गर्ने । जागिरे मानसिकताबाट प्रेरित कर्मचारीतन्त्रको व्यापक पुनर्संरचना गरी देश र नागरिकका लागि जागिर खाएको मनोविज्ञानसहितको कर्मचारीतन्त्र निर्माण गर्ने । प्रकृया उन्मुख प्रणालिको पुनर्संरचना गरी परिणाम केन्द्रित प्रणालि विकास गर्ने ।

४. घडीको सेकेन्ड सुईजस्तो चलायमान सरकार

सुशासन र समृद्धिका लागि झेली, अल्छी, लोभी, जागिरे, जवाफदेहिताविहीन सरकार हैन, हरेक सेकेण्ड परिणाम दिने घडिको सेकेन्ड सुईजस्तो चलायमान सरकार आवश्यक हुन्छ । जसरी घडिको गुणस्तर र गतिलाई त्यसका पाटपुर्जाले निर्धारण गर्दछ, ठिक त्यसतै हो चलायमान सरकारको प्रश्न पनि । त्यसकारण, आखिरी सपना पूरा गर्न प्रचण्डले चलायमान सरकार निर्माणलाई विकल्पविहीन सर्तका रुपमा आत्मसाथ गर्नुपर्दछ । चलायमान सरकार निर्माण गर्न सकिएन भने नेतृत्वले जति चाहेर पनि उल्लेख्य परिणाम दिन सकिँदैन । जुन कुरा हाम्रो विगत र वर्तमानले पुष्टि गरेकै छ ।

५. ‘एक दिन, एक काम’ को लक्ष्य

प्रचण्डको सुशासन र समृद्धिको अन्तिम आकांक्षा पूरा गर्न सधैजस्तो नियमित काम गरेर तलबभत्ता बुझ्ने सरकारले हुँदैन । नियमित सरुवा बढुवा, तलबभत्ता भुक्तानी, वार्षिक निर्धारित कार्यक्रम कार्यान्वयन, अन्तर्राष्ट्रिय दिवस र कसैको मृत्युमा शुभकामना र शोक वक्तव्य निकाल्ने आदि टाइपको सरकार देखिएकै र भोगेकै हो । यति गर्दैमा सुशासन र समृद्धि हुन्थ्यो भने पहिली नै भैसक्थ्यो नि ! त्यसकारण, आगामी प्रचण्ड सरकारले वर्षलाई दिनमा विभाजन गर्दा हुन आउने ३६५ दिनकै दैनिक कार्ययोजना बनाई ‘एक दिन एक काम’ को लक्ष्य निर्धारण गरेर कार्यसम्पादन गर्नुपर्दछ । यो लक्ष्य हासिल गर्न पार्टी पंक्ति, आम नागरिक, राज्य संयन्त्र आदिलाई एकीकृत ढंगले सहभागि र परिचालन गर्नुपर्दछ । यति गर्न सके वल्ल प्रचण्डको आखिरी सपनाः सुशासन र समृद्धि हासिल हुनेछ । यति गर्न सके सुशासन र समृद्धि आफै आउँछ । किनकी, यो दुबै कुरा परिणाम हो, कारण हैन । ठिक कारण तयार गर्न सके ठिक परिणाम आफै आउँछ । प्रचण्डले यति गर्न सके इतिहासमा उहाँ मात्र एउटा यस्तो नेता बन्नु हुनेछ, जस्ले व्यवस्था र आवस्था दुबै बदल्न सक्यो ।

LIVE TV