२६ कार्तिक २०७९, शनिबार
  • इन्दिरा चाम्लिङ,

इपर (बेल्जियम) । बेल्जियममा बसोबास गर्दै आएका नेपालीले पहिलो विश्व युद्धमा बेल्जियमको इपर शहरमा शाहदत प्राप्त गरेका ५८ जना वीर नेपालीको सम्झनामा कार्यक्रमको आयोजना गरेका छन् । शाहदत प्राप्त गरेका वीर गोर्खालीहरुको सम्झनामा बनाइएको स्मारकमा श्रद्धाञ्जलि अर्पण गर्दै कार्यक्रमको आयोजना गरिएको हो ।

प्रथम विश्वयुद्धको अन्त्य गर्दै बन्दुक बिसाएको सन् १९१८ नोभेम्वर ११ तारिखका दिन ११ बजे बिहान यूरोपभर ११–११–११ को उत्सवको रुपमा समेत परिचित रहेको सम्झनामा मेनन गेटमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । इपर क्षेत्रमा भएको लडाइँमा इष्ट इन्डिया कम्पनीमा कार्यरत नेपालीहरू पनि प्रथम विश्वयुद्धको स्मारकको रुपमा रहेको मेनन गेटमा उल्लेख भएको छ ।

चौथो गोर्खा राइफललगायतको प्लाटुन बेल्जियममा आएर पहिलो विश्व युद्ध लडेको र सोही क्रममा ५८ जना नेपालीमूलका ब्रिटिश आर्मीले शाहदत प्राप्त गरेका थिए । सन् २००३ देखि नै तमु समाज बेल्जियमको आयोजनामा बार्षिक रुपमा मनाउदै आएको यस श्रद्धाञ्जलि कार्यक्रममा बेनेलक्स र युरोपियन युनियनका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीको विशेष उपस्थिति रहरेको थियो ।

एक मिनेट मौन धारण गर्दै कार्यक्रमको सुरुवात गरिएको थियो । कार्यक्रममा गैर अवासीय नेपाली संघ बेल्जियमका उपाध्यक्ष तीर्थ धमला, नेकपा माओवादी बेल्जियमका पूर्व उपाध्यक्ष होम तमु, नेपाल पत्रकार महासंघ युरोपका पूर्व अध्यक्ष महेश थापा, शेर्पा किदुङ बेल्जियमका अध्यक्ष सोनाम लामा शेर्पा, एनआरएन बेल्जियमका पूर्व महासचिव नन्द राज घलेलगायत वक्ताहरुले आ–आफ्नो भनाइ राखेका थिए ।

तमु समाज बेल्जियमका अध्यक्ष ओम राज तमुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तमु समाज बेल्जियमका सल्लाहकार चित्र जङ्ग तमुले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा उपस्थित राजदूत गेहेन्द्र राजभण्डारीले भने, ‘नेपालीहरुले यो स्थानमा आएर प्राण आहुति दिनुभएको र उहाँहरुको योगदान कहिल्यै खेर जाने छैन । (हामी उहाँहरुलाई सधै सम्झिरहनेछौ ।’

विभिन्न वक्ताहरुले हिजोको दिनमा यसरी कमनवेल्थ देशको लागि प्राण आहुती दिने उक्त वीर गोर्खालीहरुको नेपालमा रहेका परिवारहरुको खोजीनीति गरेरै भएपनि क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने बताएका छन् । साथै निर्माण गरिएका स्मारकमा गोर्खा सैनिकको झझल्को नआएको हुदा परिवर्तन गर्नुपर्ने, शाहदत प्राप्त गर्ने ५८ जना नेपालीकै नामावली सहितको शिलालेख स्मारक सङ्गै बनाउनुपर्ने, स्मारकलाई सरसफाइ एवं हेरबिचार गर्न एउटा समिति गठन गर्नुपर्नेलगायतका सुझावहरु दिएका थिए ।

कार्यक्रम तमु समाज बेल्जियमकी सचिव उमा तमुस्योले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा बेल्जियमस्थित विभिन्न जातीय, सामाजिक, धार्मिक, क्षेत्रीय एवं संघ संस्था प्रतिनिधि र पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

LIVE TV