२४ कार्तिक २०७९, बिहीबार
  • इन्दिरा चाम्लिङ,

बुखारेष्ट (रोमानिया) । रोमानियाको बूखारेस्टस्थित ग्रोजाभेस्टीमा एक नेपाली युवकले झुण्डिएर आत्महत्या गरेका छन् । नेपालको कास्की– पोखरास्थित लामाचौर घर भएका २८ वर्षीय भीम गुरुङले ग्रोजाभेस्टीको आर्टिफेक्स युनिभर्सिटीको होस्टलमा झुण्डिएर आत्महत्या गरेका हुन् । जानकारी अनुसार गुरुङ १८ महिना अगाडि मात्रै रोजगारीको सिलसिलामा रोमानिया आएका थिए ।

गुरुङको आत्माहत्या को कारण भने खुल्न सकेको छैन । घटनास्थलमा प्रहरी पुगेर मुचुल्का उठाएपछि गुरुङको शव पोष्टमार्टमका लागि लगिएको बताइएको छ । पछिल्लो समय रोमानियाका नेपाली समुदायमा यस्तो प्रकारको घटनाहरु लगातार भइरहेका छन् ।

मृतक भीम गुरुङ 

योसँगै पछिल्लो दुई महिनाको अन्तरालमा मात्रै ४ जना नेपालीले ज्यान गुमाइसकेका छन् । १ जनाको हृदयघातका कारण मृत्यु भएको थियो, भने बाँकी दुईजनाको दुर्घटनामा परी मृत्यु भएको थियो । त्यस्तै हिजो मात्र एक जनाले आत्मा हत्या गरेका छन् ।

त्यसोत, गत नोभेम्बर २ बुधबारका दिन रोमानियाको मितिसोरा शहरको भिज्जेदियस्थित बनत मेलन एग्रिकल्चर कम्पनीमा कार्यरत म्याग्दी घर भएका ३३ वर्षीय देवेन्द्र पुनको मेसिनले तानिएर मृत्यु भएको थियो । मृतकको शव नेपाल पठाउनका लागि सम्पूर्ण कानूनी र कागजी प्रक्रिया सकिएको र चाडै नेपाल पठाउने तयारीमा रहेको रोमानियाका लागि नेपाली अवैतानिक वाणिज्यदूत नवराज पोखरेलले बताए ।

मृतक देवेन्द्र पुन

उनका अनुसार शव पठाउन लाग्ने सम्पूर्ण खर्च मृतक कार्यरत रहेको कम्पनीले नै ब्यहोर्ने र कम्पनीको तर्फबाट दाहसंस्कार गर्न का लागि थप ३००० रोन सहयोग गर्ने जानकारी दिए । साथै नेपालको मेनपावरसँग सम्बन्धित रोमानियामा कार्यरत आङ्ग पेम्बा शेर्पाको तर्फबाट नेपाली २ लाख रुपैयाँ र रोमानियन एजेन्सी डीसी इम्प्लोयीमेन्टको तर्फबाट रोक्साना मारिया कोस्टेकमार्फत् ५००० रोन सहयोग प्राप्त भएको नेपाल पत्रकार महासंघ युरोप सदस्य शेर्पाले बताए ।

यसका साथै गत अक्टोबर २३ आइतबारका दिन रोमानियाको बुखारेष्ट नजिकै रेलको ठक्करबाट खोटाङ घर भएका मिलन राईको मृत्यु भएको थियो । कम्पनीले उनको शव नेपाल पठाउनका लागि लाग्ने सबै खर्च नब्याहोर्ने भएपछि यहाँ (रोमानिया)का विभिन्न संघ–संस्था र नेपाली दाजुभाई तथा दिदी–बहिनीहरुबाट सहयोग संकलन गरिएको छ ।

मृतक मिलन राई

रोमानियाका लागि नेपाली अवैतनिक वाणिज्य दूत नवराज पोख्रेलका अनुसार आवश्यक कागजातको सम्पूर्ण काम पूरा गरी नोभेम्बर ३ मा राईको शव नेपाल पुगेको छ । योसँगै मृतक राईको लागि आर्थिक सहयोग संकलन अभियान पनि बन्द भएको जानकारी गराइएको छ ।

त्यस्तै तथ्याङ्क अनुसार यहाँ सन् २०१९ यता ९ जना नेपालीहरुको मृत्यु भइसकेको छ । यसरी अकाल मृत्युवरण हुनुको मुख्य कारण असवधानी, नेपालबाट देखेको सपना, मेनपावर कम्पनीमा तिरेको रकम, यहाको कामको प्रेसर तथा मानसिक विक्षिप्तता रहेको तथ्याङ्कले जनाएको छ ।

महिनाको ५०–६० हजार तलबको लागि ६–७ लाख मेन पावरलाई बुझाउनुपर्ने अवस्था छ । तर, यहाँ सोचेजस्तो काम र कमाई नहुनुले मानसिक तनाव भई आत्महत्या गर्नेसम्मको निर्णयमा पुग्ने गरेको रोमानिया निवासी नेपाल पत्रकार महासंघ युरोपका कार्यकारी सदस्य ल्हाक्पा तेन्जी शेर्पा बताउँछन् । यसबारे हामी आफै जिम्मेवारी र सजग हुनुपर्ने उनको भनाइ छ ।

 

LIVE TV