२४ कार्तिक २०७९, बिहीबार
  • धनराज गिरी

बलवीर र वीरबल । दुई मित्र, विचित्र बानी । किन कि एक हात्ती एक खरायो, जोडी देखेर दुनियाँ डरायो। बलवीर दाजु हो, गजराज र वीरबल अनुज ।

“पातली !” आत्मीय बने- अनुरूप पेशा र समरूप जीवनपद्धति भएर। अचानक, हो खबर नगरी वीरबल, अकबर उर्फ बलवीरको घरमा उदायो।

“पातली, आयौ?” दाजुको स्नेह !

“दाजीको हरेक कुरा घुमाउरो हुन्छ। केही बुझिन्न । चौध अक्षरको मोहनीले गजलतिर तान्यो। हतारमा कतार पुगेर किताब छापियो। गतिलो सल्लाह नदिएर नि! अहिले कोपिलाजस्तो पनि नभएको अनुभूत भयो। अब किताब न छाप्ने!” वीरबलको सत्यबोध।

“मेरी पातली, आयौ? बल्ल थाहा पायौ? गल्ती नगरी कसरी सिक्ने? सबैको हालत उही हो। महाकविले पनि मुनामदन बाहेक सबै जलाउनू मेरा किताबहरू भनेका होइनन् र? अब होशियार! गतिलो सल्लाह दिने कहाँ पाइन्छ। फसाउने हो।  साथी वीरबल, यो डिभोर्स किन हुन्छ? ”

“बलवीर दाजीको प्रश्न जायज छ । ए मेरा उत्तरआधुनिक पुरेत, लौ त भन्नुहोस् उत्तर!” तेस्रो कलाकार सरलनारायण विवेकी।

यतिखेर तीन भाइ, लक्ष्मीनगरमा। “ह्या, हाम्रा दाजी, अरू विषय नै नभए जस्तो उही, उही, उही ! नारी र पुरुषको सम्बन्ध मात्र दुनियाँ हो र?जिन्दगी हो र?” झोक्कियो वीरबल, पीटरको डिसुजा।

“हा हा हा, पातली, आयौ? भनेको नि त्यही हो। यो मानव जीवनको केन्द्रीय समस्या नै ‘आयौ’ हो। मात्र दुई समस्या। अरू त गणपूरक, जति तर्क गरे पनि।” बलवीर सहज भएर सम्झायो।

“यो आयौ भनेको के हो त गुरु दाजी?” उही पातली।

“अलि असजिलो लाग्ला!यो मान्छेको दिमागमा अरू केही नआउने रहेछ भनिएला। साथी पातली, मानवजीवनको केन्द्रीय समस्या नै “आर्थिक र यौनिक” हुन् । नजरिया हो।  मैले पनि जीवन भोगेर निकालेको निचोड हो- आयौ= आर्थिक र यौनिक । अलि आडम्बरी बने बेग्लै कुरा, लजाएर मनको कुरा मनमा दबाए बेग्लै कुरा । हे पातली, मूल जरो यी दुई कारण र डिभोर्स हुने अचम्मको अदृश्य, भन्न पनि नसकिने, घातक सत्य, पतिपत्नी बीचको त्यो “लीला” जुन धर्म पनि हो। अरू बहाना हुन्छन् । अक्सर, भालेले हतार गर्छ, कामु पढेर बढी कामुक हुन्छ। अनि नि, भोक लाग्दा खान नपाए, तिर्खा लाग्दा पानी नपाए, निद्रा लाग्दा सुत्न नपाए, काम गरेर तलब नपाए, र ….. र … बेलामा, उमेरमा, भ्रमरले फूलको साथ वा फूलले भ्रमरको साथ नपाए के हुन्छ ! निशामिलन मधुर, तृप्त, पूर्ण आनन्दमय भएन भने कुरा बुझे हुन्छ- सम्बन्ध गौर र दमक हुन्छ  । हिन्दुस्तान र पाकिस्तान हुन्छ। अनि नि,  ‘आयौ’ सिद्ध भएन त? बाहिर नआउने, अति असजिलो सत्य हो यो- पातली, आयौ?”

“हा हा हा…, आयौ आयौ! अब घर गयौ! तर म त भन्छु- अरू कुराहरू पनि महत्त्वपूर्ण हुन्छन् । आयौ, आयौ, आयौ, मात्र समस्या होइन कि?” वीरबल अझ पनि आफ्नै अडानमा छ।

“पातली,आयौ -भन्दिन अब!” बलवीर पनि थाक्यो। विवेकीले सेल्फी लियो। साथीहरू आफ्नो-आफ्नो गन्तव्यतिर लागे।

।।इति।।

LIVE TV