१५ कार्तिक २०७९, मंगलवार

काठमाडौं । गायिका बुनु उप्रेतीले सांघातिक हमलापछि आफ्नो सांगीतिक करियरमाथि धक्का लागेको बताएकी छन् । न्यूज २४ टेलिभिजनको ई–टल्क कार्यक्रममा बोल्दै गायिका उप्रेतीले निर्घात कुटपिटपछि आफू क्षत–विक्षत भएको बताउँदै आफ्नो सांगीतिक करियरमाथि नै धक्का लागेको बताएकी हुन् ।

उनले भनेकी छन्, ‘पर्सनल कुराहरुले गर्दाखेरी सांघातिक हमलापछि मेरो सांगीतिक करियरमाथि धक्का लागेको छ । गीतहरु रेकर्ड भएको थियो र भिडियोहरु बन्ने क्रममा थिए । यी सबै कुराहरु स्थगित भएका छन् अहिले ।’

उनले थप भनेकी छन्, ‘म माथि चाँहि सांघातिक आक्रमण भएको हो, अस्ती २७ गते । त्यस कारणले क्षतविक्षत भएको छु । यतिखेर मेरो सांगीतिक क्षेत्र डामाडोल भएको छ । अहिले गीतहरु रेकर्ड गर्नसक्ने माहोल नै छैन ।’

गायिका उप्रेतीले दाँतहरुमा मक्का हानिएको कारण शारीरिक अस्वस्थ रहेको बताइन् । उनले भनेकी छन्, ‘ब्लिडिङ भएर बल्लतल्ल चम्सुरहरु बोइल गरेर (उसिनेर) मुखमा राखेर गिँजा बाँध्ने घरायसी उपचारहरु गराइएरहेकी छु । नयाँ–नयाँ गानाहरु रेकर्ड गरौं भनेर बोलाइरहरेका छन्, तर शारीरिक अस्वस्थताका कारण, धेरै कुटाई खाएको अवस्थामा, क्षत–विक्षत भएको अवस्थामा आफू तन्दुरुस्त हुन खोजिरहेकी छु ।’

केही समय अगाडि ललितपुरको लुभुस्थित आफ्नै घरमा गायिका बुनु उप्रेतीमाथि छिमेकी महिलाहरु मिलेर निर्घात कुटपिट गरेका थिए । लछारपछार गर्दै कुटपिट गरेको भिडियो सामाजिक सन्जालमा भाइरल बनेपछि यो घटना बाहिर आएको हो ।

घटनाको विस्तृत जानकारी थाहा पाउनका लागि तलको अन्तर्वार्ता हेर्नुहोस् ।

 

LIVE TV