६ कार्तिक २०७९, आईतवार
  • नवराज घिमिरे,

दुई साताअघि काठमाडौँ महानगरपालिकाबाट खटिएको नगर प्रहरीको टोलीले थापाथली क्षेत्रबाट पानीपुरी र चटपटे बेच्दै गरेको एउटा ठेलागाडा उठायो । तर, ठेलागाडा नियन्त्रण लिने क्रममा एउटा निकै हृदयविदारक दृश्य पनि देखिएको थियो ।

ठेलागाडामा चटपटे र पानीपुरी बेच्दै आएकी लमजुङकी सर्मिला तामाङ (३४)ले नगरप्रहरीसँग ठेलागाडा नलगिदिन निकै अनुनय विनय गरेकी थिइन् ।

उनले प्रहरीसँग रुदै भनेकी थिइन्, ‘मेरो दायाँ हात भाँचिएर स्टिल राखिएको छ । मैले आफ्नो उपचारका लागि, पाखुरामा राखिएको स्टिल झिक्नका लागि र घर परिवार पाल्नका लागि यो सानो व्यवसाय थालेकी थिएँ । यो ठेलागाडा पनि विदेशमा बस्ने नेपालीको सहयोगमा प्राप्त भएको हो । बरु यहाँ यसरी ठेलामा व्यापार गर्न पाइदैन भनेर भनेको भए हुन्थ्यो । म आउँदिनथे ।’

शर्मिलाले ठेलागाडा समाएर रोएकी त्यो दृश्यले धेरैको मन छोयो । त्यसमध्येका एक थिए डा. बुद्धिमान श्रेष्ठ । कान्तिपुर डेन्टल कलेज तथा जनरल हस्टिलका सञ्चालक समेत रहेका डा. श्रेष्ठले सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै लेखिदिए, ‘यो बैनीलाई म सहयोग गर्न तयार छु । केडीसी अस्पताल बसुन्धारा काठमाडौँले हातको स्टिल निकाल्न सहयोग गर्न तयार छ ।’

घोषणा गरेको दश दिनमै डा. श्रेष्ठले आफ्नो प्रतिबद्धता पूरा गरेका छन् । गत विहीबार केडीसी अस्पताल आएर भर्ना भएकी तामाङको शुक्रबार शल्यक्रिया गरी हातको स्टील निकालिएको छ ।

अर्थोपेडिक सर्जन डा सविन पोखरेल नेतृत्वको टोलीले उनको शल्यक्रिया गरेको हो । अस्पतालका प्रशासन प्रमुख रोजिका प्रधानले तामाङको शल्यक्रिया सफल भएको र सोमबारसम्म डिस्चार्ज गर्ने तयारी भएको जानकारी दिइन् ।

अस्पतालमा उपचाररत तामाङले केडीसीले आफूलाई निकै ठूलो गुन लगाएको प्रतिक्रिया दिइन् ।

 

LIVE TV