२१ आश्विन २०७९, शुक्रबार

काठमाडौं । आफूलाई नेपाली काँग्रेसका युवा नेता भन्ने धनेन्द्र कार्कीले कयौंको विल्लिबाँठ पारेको समाचार प्राप्त भएको छ । कसैलाई जग्गा दिन्छु, कसैलाई श्री डिस्टिलरीमा उद्योगमा शेयर र डिलरशीप दिन्छु भन्दै डिस्टिलरीको खातामा पैसा जम्मा गर्न लगाउने तर न जग्गा दिने नत शेयर एवं डिलरशीप नै दिने गरेका छन् ।

जग्गा र डिलरशीपको रकम माग्न जाँदा गुण्डा लगाएर धम्क्याउने गरेको पनि पीडितहरुको गुनासो छ । कतिपयको जग्गामा व्यवसायिक खेती गर्ने भन्दै लिजमा लिएर हजम पार्ने र जग्गा बेच्दा नक्कली कित्ता नम्बर भिडाउने जस्ता कार्य पनि कार्कीले गर्दै आएका छन् ।

अरुको सम्पत्ति आफ्नो पार्न जुनसुकै कर्तुत गर्ने र सम्पत्ति हात पारिसकेपछि धाक धम्की दिन पछि नपर्ने कार्कींको शैलीले आफन्त, नातागोता मात्र नभए काँग्रेसका धेरै कार्यकता एवं केही धनाढय व्यक्तिहरुको पीडित भएका छन् ।

हाम्रो कार्यालयमा केही पीडितले प्रमाणहरु समेत छाड्दै कार्कीलाई कारवाहीका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा पनि लिखित उजुरी बुझाएको जानकारी गराएका छन् । यस्तै प्रहरीको अन्य निकायमा पनि उनीविरुद्ध दर्जन बढी उजुरी परेका छन् ।

कार्कीले २०७४ सालमा अकुत रकम पेलेर गुल्मी क्षेत्र नम्बर एकबाट नेपाली काँग्रेसको तर्फबाट प्रदेश सभा सदस्यको उम्मेद्वारी पनि पाएका थिए । तर उनी नेकपा एमालेका उम्मेद्वार कमल श्रेष्ठसंग पराजित भएका थिए ।

हाल कीर्तिपुरको ट्याङ्लाफाँटामा बस्दै आएका कार्कीको रहनसहन देख्ने जोकोहीले पनि निकै हैसियतदार भएको अनुमान गर्न गाह्रो पर्दैन । यसपटक पनि प्रदेश सभाको टिकटको लागि लागिपरेका कार्कीले अष्टवक्रिय संगठित प्रकृतिको गिरोह खडा गरी सम्पत्ति शुद्धीकरण विभागदेखि लिएर सबै सरकारी निकायको आँखामा छारो हाल्दै आएका छन् ।

उनले राजश्व छल्न आफु र आफ्नो परिवारले चढ्ने गाडी समेत अर्काको नाममा दर्ता गराएका छन् ।

LIVE TV