२१ आश्विन २०७९, शुक्रबार
  • युवराज आचार्य,

झापा । झापामा आन्तरिक पर्यटकहरु बढ्न थालेका छन् । नेपालीहरुको महान् चाड दशैं मनाउँदै जिल्लाका विभिन्न पर्यटकीय स्थलहरुमा रमाइलो गर्न जाने मानिसहरुको घुइचो लाग्ने गरेसंगै अहिले आन्तरिक पर्यटकहरु बढ्न थालेका हुन् ।

कोरोना कहरले थलिएको पर्यटन क्षेत्र लामो समयसम्म पनि अझै तंग्रिन सकिरहेको छैन । पर्यटकहरु घुम्न नआउँदा जिल्लाका प्राय पर्यटकीय क्षेत्रहरु सुनसान झैं बनिरहेका थिए । तर, दशैंको अवसरमा भएपनि आन्तरिक पर्यटकहरुको चहलपहल बढ्न थालेसंगै अब भने आन्तरिक पर्यटकहरुको खडेरी नलाग्नेमा पर्यटन व्यवसायीहरु आशावादी देखिन्छन् ।

यता सर्वसाधारणहरु पनि दशैं मनाउँदै मान्यजनको आशिरर्वाद थापेर आफू र आफ्नो परिवार रमाइलो गर्दै घुमघाम गर्न जिल्लाका विभिन्न पर्यटकीय स्थलमा आएको बताउँछन् ।

अहिले झापाको अर्जुनधारा नगरपालिकामा रहेको शुखानी सहिद स्मृति पार्क, कनकाई नगरपालिकामा रहेको जामुनखाडी सिमसार, हेप्पीलेण्ड फन पार्क, शिवसताक्षी नगरपालिकामा रहेको सतासीधाम धार्मिक तथा पर्यटकीय क्षेत्र, मेचीनगरमा रहेको मिनी माउन्टेन र काँकरभिट्टाको देवकोटा पार्कलगायतमा अहिले दशैं लागेसँगै घुमघाम गर्दै रमाइलो गर्न आउनेको घुइचो लाग्ने गरेको छ ।

चाडपर्वमा मानीसहरुको आवत जावत बढी हुने र उनीहरु घुम्न र रमाइलो गर्न स्थानीय पर्यटकीय क्षेत्र आउने गरेको पर्यटन व्यवसायीहरु बताउँछन् । विगत दुई बर्षदेखि पर्यटकहरु आउने क्रम न्यून रहेकोमा अहिले दशैंको समयमा भने ठुलो संख्यामा सर्वसाधारणहरु घुम्न आउने गरेको बताउँछन् ।

कोरोना संक्रमण दर न्यून भएसंगै अब पर्यनटलगायतका क्षेत्रमा सुधार हुने संकेत देखिन्छ । तर, अहिले झापामा डेंगु संक्रमण बढ्ने क्रममा रहेको कारण घुमफिर गर्दा सावधानी भने अपनाउनु पर्ने देखिन्छ ।

LIVE TV