२१ आश्विन २०७९, शुक्रबार

पोखरा । दशैँको यो माहोलमा देशैभरी दशैँ मनाउने चटारो छ । तर, नेताहरुलाई भने आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको चटारोले झ्याप्पै छोपेको छ । नेकपा एमालेको बलियो पकड भनिएको कास्कीमा गत स्थानीय निर्वाचनमा पोखरा महानगरपालिकामा नेकपा एसका केन्द्रीय सदस्य धनराज आचार्य अत्यधिक मतले बिजयी भएपछि नेकपा एमालेले गतिलै पाठ सिकेको छ ।

पार्टी भित्रका असन्तुष्ट नेता कार्यकर्ताहरुको ब्यवस्थापन हुन नसक्दा यस पटकको निर्वाचनमा पनि फरक परिणाम आउन सक्ने सहजै अनुमान लगाउन सकिन्छ । हालको अवस्थालाई राम्रो ब्यवस्थापन गर्न नसक्ने हो भने गठबन्धनका साझा उम्मेद्वारहरुले सम्पूर्ण सिट हात पार्ने देखिन्छ । तथापी प्रतिस्पर्धा भने तीब्र हुने देखिन्छ ।

अहिले पनि कास्की क्षेत्र नम्बर १ मा सदावहार उम्मेद्वार केन्द्रमा खगराज अधिकारी र क्षेत्र नम्बर १ (क)मा टिकाराम पंगेनीलाई अगाडि बढाइएको छ । त्यस्तै क्षेत्र नम्बर १ (ख)मा बैनबहादुर अधिकारीलाई अगाडि बढाउने करिब निश्चित देखिन्छ ।

यदि खगराज अधिकारी प्रदेश सभामा लडेमा मनबहादुर गुरुङ संघमा चुनाव लड्ने सम्भावना छ । त्यसपश्चात क्षेत्र नम्बर २ मा बिद्या भट्राई एकल उम्मेद्वार रहेकी छन् भने प्रदेशमा युवराज पौडेल, भेषराज बराल, मिना गुरुङ चर्चामा छन् । त्यस्तै भीम कार्कीको पनि सामान्य चर्चा चलेको छ । २ (ख)मा मीना गुरुङले टिकट पाउने पक्का पक्की जस्तै रहेको स्रोत बताउँछ ।

यसैगरी क्षेत्र नम्बर ३ को संघमा एमालेका दामोदर बैरागी र प्रदेशमा राजीव पहारी र गणेश गुरुङको करिब टुंगो लागेको छ । त्यस्तै गठबन्धनको उम्मेद्वार को बन्लान् भन्ने होडबाजी कायमै छ । विश्वस्त सुत्रबाट प्राप्त जानकारी अनुसार नेपाली काँग्रेस, २ मा नेकपा एस, ३ मा माओवादी केन्द्रले पाउने कुरा निश्चित छ । प्राप्त पछिल्लो जानाकारी अनुसार क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेसका कृष्ण केसी र किशोरदत्त बरालमध्ये १ जना, प्रदेश सभा १ (क)मा नेपाली काँग्रेसका राजेन्द्रमणी लामीछाने र प्रदेश (ख)मा नेकपा एसका पूर्ण बहादुर लामाको पल्ला निकै भारी रहेको छ ।

त्यस्तै क्षेत्र नम्बर २ मा नेकपा एसका श्रीनाथ बराल अन्तत सर्वसम्मत उम्मेद्वार बन्ने स्रोतको दाबी छ । यस क्षेत्रको प्रदेश (क)मा काँग्रेसका दिनेश आचार्य वा केशर प्रसाद निर्दोषी वा नेकपा एसका झपिन्द्रराज रेग्मी वा शिवराज आचार्यले आउने संभावना रहेको छ । त्यस्तै प्रदेश २ (ख)मा हालका प्रदेशमन्त्रीद्वय कुमार खड्का र बिन्दु कुमार थापाबिच होडबाजी रहेको छ ।

यद्यपी स्रोत भन्छ बिन्दु कुमार थापा नै उम्मेद्वार बन्ने पक्कापक्की जस्तै छ । प्रदेश २ (क)मा नेकपा माओवादी केन्द्रले पाएमा कृष्ण गिरी ‘विज्ञान’ र गंगा पोखरेलमध्ये १ जना अगाडि आउने देखिन्छ ।

यस्तै क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका राजकाजी गुरुङ र रामजी बरालमध्ये एक जना पाउने निश्चित भएको छ । यस क्षेत्रमा प्रदेश सभाका लागि नेपाली काँग्रेसका देबेन्द्र शेरचन, र मनोज गुरुङ, नेकपा एसका प्रेम पौडेल र नेकपा माओवादी केन्द्रका खिमलाल देवकोटा र जसपाका गिरीप्रसाद गुरुङ बढी चर्चामा छन् ।

समग्र कास्कीमा संघको चुनावी आँकलन गर्दा कृष्ण केसी १, श्रीनाथ बराल २ र राजकाजी गुरुङ ३ ले बाजी मार्ने देखिन्छ भने उनीहरुलाई एमालेका खगराज अधिकारी, बिद्या भट्राई र दामोदर बैरागीले पछ्याउँदै जाने अवस्था रहेको छ ।

LIVE TV