१८ आश्विन २०७९, मंगलवार
  • भालचन्द्र भण्डारी ‘ब्रह्मगोल’

नेपालमा प्रजातन्त्रको उदयसँगै २००६ साल फागुन १७ गते सुदूरपश्चिमको डोटी जिल्लाको दक्षिणी भेकमा पर्ने तत्कालीन निरौली गर्खाअन्तर्गत शैलकोटिला, गडसेरामा सामान्य खानलाउन पुग्ने एक किसान परिवारमा बुबा रामचन्द्र भण्डारी (उपाध्याय) र आमा नर्मदादेवी भण्डारी (उपाध्याय)का कोखमा मेरो जन्म भएको हो । गाउँघरमा मेरो घरको नाम ‘नौलेघर’ र हाम्रो परिवारलाई ‘नौलाघरी’ भनेर अहिले पनि सम्बोधन गरिन्छ । तत्कालीन गडसेरा गाउँ विकास समिति, हालको स्थानीय संरचना अनुसार जोरायल गाउँपालिका वडा नं. ५ भइसकेको छ ।

मेरा बुबा रामचन्द्र भण्डारी गाउँगर्खामा भद्र–भलादमी व्यक्तिका रूपमा परिचित हुनुहुन्थ्यो । बुबाले त्यसबेलाको ग्रामीण समाजमा हुने धार्मिक यज्ञ–यज्ञादि तथा सामाजिक क्षेत्रका भइपरिआउने आवश्यक छलफल, कचहरी, बिहेबारी आदि निर्णय, देवीदेवताको माण्डु–भण्डारका निर्माण सम्बन्धी सरसल्लाह, बाटोघाटो, कुला–पनाला, गाई–गोरेटा लगायतका विभिन्न काममा सामाजिक भूमिका निर्वाह गर्नुहुन्थ्यो । त्यसैले उहाँलाई विभिन्न समयमा विभिन्न गाउँ–ठाउँमा आमन्त्रण भइरहने सन्दर्भहरू म अहिले पनि सम्झन्छु ।

जडिबुटीबाट आयुर्वैदिक ओखतीमुलो गर्ने (वैद्यजस्तै) काममा बुबाको निकै नाम चलेकाले टाढा–टाढाबाट अनेक किसिमका घाउ–खटिरा, पेटसम्बन्धी समस्या, ज्वरो आदि सामान्यदेखि गम्भीर प्रकृतिका बिरामी मानिससमेत स्वास्थ्यसम्बन्धी समस्या लिएर हाम्रो घरमा आइरहन्थे । आफूले गर्ने तन्त्रमन्त्रको विधिसमेत प्रयोग गरी सबैलाई निःशुल्क रूपमा ओखती दिई प्रयोग विधि सिकाइदिनुका साथै आवश्यक सल्लाह पनि दिनुहुन्थ्यो । बुबाको त्यस किसिमको मानवीय व्यवहार तत्कालीन सन्दर्भको लोककल्याणका लागि अमूल्य हुनुका साथै अनुकरणीय रहेको कुरा पनि म सम्झिरहन्छु । मेरा बुबाले आमालाई समेत साथमा लिएर चार धाम, तीर्थव्रत र अनेकौँ यज्ञ–यज्ञादि, दानपुण्य कर्म गर्नुभएको थियो । उहाँ धर्मनिष्ठ हुनुहुन्थ्यो ।

लेखक भालचन्द्र भण्डारीकी आमा स्व. नर्मदादेवी भण्डारी

मेरी आमा नर्मदादेवी भण्डारी एक साधारण तर शान्त र असल स्वभावकी कुशल गृहिणी हुनुहुन्थ्यो । हाम्रो घरमा सधैँजसो पाहुनाहरू आइरहन्थे । कहिले कचहरीको भिडभाड त कहिले चाडपर्व वा काजबारका लागि गर्नुपर्ने कुटिपिसीको चटारो आदि जेजस्तो अवस्थामा पनि इज्जतका साथ मर्यादापूर्वक घरव्यवहार चलाउनु आमाको विशेषता नै हुन्थ्यो । गोठभरि गाईबाच्छा, हलगोरु र पाठाबाख्राको स्याहार–सम्भार गर्नु, घरमा कहिल्यै कमी नहुने गाईको गोरसको उचित व्यवस्थापन गर्नु, खरबारी, पालेवन (लाइनी) वन नजिकै भए पनि दाउरा, घाँस, स्याउला, सोत्तरको व्यवस्था मिलाउनु, घरनजिक र केही टाढासमेतका खेतबारी (उच्खला)मा मलपर्सो, खनजोत गर्ने काममा आफू र अरूलाई पनि जुटाउनु, गाईगोरु, बाख्रा चराउन लगाउने व्यवस्थादेखि कुटानी–पिसानी (कुटीपिसी) र पानी–पनेरो सागतरकारीदेखि चुलो–चौकासम्मको जिम्मेवारीसहित अतिथिसत्कारका साथै परिवारका बुढाबाला सबैलाई समयमै खानपिनको व्यवस्था मिलाउनु र सबेरै उठ्नु–उठाउनु, जुट्नु–जुटाउनु, दीयोबत्ती पूजाअर्चनासहित नित्यकर्ममा आमाको लगनशीलता र सहनशीलता नै गृहस्थी कुशलतामा वरदानसिद्ध भएको कुराको दिव्य सम्झना मेरा मनमा जहिले पनि आइरहन्छ ।

मेरी आमा घरमा मनाइने अनेक न्वारन, अन्नप्राशन (भातचखाइ), चूडाकर्म, व्रतबन्ध, विवाह, कुलदेवता श्री केदार, श्री भागेश्वर, श्री सिंहदलदेवी र अन्य देवीदेवताका पर्वपूजा, वार्षिक पर्वपूजा तथा गौरा पर्व जस्ता माङ्गलिक कार्यमा हृदय पगाल्ने गरी मिठो स्वर–लहरीमा लामो लबज (लय)मा सुरिलो गरी सगुन (फाग) गाउन मङ्गलारी (फगारी) को भूमिका पनि निर्वाह गर्नहुन्थ्यो ।

मेरी आमाका जन्मिएको केही समयमै निधन भएका सन्तानलाई छोडी पाँच छोरी र दुई छोराहरू गरी सातजना सन्तानको लालनपालनसहित हुर्काउने, बढाउने, विवाह वा व्रतबन्धलगायतका कर्महरू पुरा गर्ने कार्यमा बुबाको दरिलो साथ र सहयोग मुख्यरूपमा निरन्तर रहिरहेकाले आमा एक्लैले सामना गर्नुपरेन । तर, म १३ वर्षको छँदा ६४ वर्षको उमेरमा बुबाको निधन भएपछि मर्माहत भएर छाँगाबाट खसेझैँ भएका थियौँ । त्यसपछिमात्र आमाले सामना गर्नुपरेका कठिनाइका निकट रहन म बाध्य भएँ । दया र ममताकी देवीरूप हुनुहुन्थ्यो मेरी आमा भन्ने कुराको नमेटिने छाप मेरा मानसपटलमा अटल छ ।

हाम्रै घर नौलेघरबाट पारिपट्टि देखिने रमाइलो ठाउँ ‘नडे’ धौलाकाँडा गाउँमा मेरा मामाको बडो शानदार घर थियो । मावली घरका मेरा बाजे भीमदत्त ओझा एक भद्र, शालीन व्यक्तित्वका धनी मान्यजन हुनुहुन्थ्यो । म कहिले आमासित त कहिले दिदीसित मामाघर गइरहन्थेँ । कान्छा मामासित मिलेर ढुङ्गा, माटो र खरबाट २ तले घरकुट्टी (खेलौना–घर) बनाई सेतो र रातो माटो पोतेर चिटिक्क पारेको सम्झना अझै मनभरि ताजा छ । मामाघर गएको बेलामा मेरो मन प्रफुिल्लत हुन्थ्यो ।

अक्षरारम्भ

म पाँच वर्षको छँदा अक्षरारम्भका लागि बुबाले माघ महिनाको श्रीपञ्चमीका दिन आफ्नै घरमा श्री सरस्वतीमाताको विधिवत् रूपले पूजा गरी शङ्खघण्ट ध्वनिका साथ मेरा हातमा पनि फूल अक्षता राखिदिनुभई सरस्वतीका तस्बिरमा चढाएर प्रणाम गर्नका लागि हात जोडी ‘गुरू ब्रह्मा गुरू विष्णु …’ भन्ने श्लोक पुरै भन्न लगाउनुभएको थियो अनि ‘त्वमेव माता च पिता त्वमेव…..’ श्लोक पनि पुरा भनिसकेपछि सरस्वतीका तस्बिरमा मैले पनि उक्त फूल अक्षता चढाएर शिर झुकाई ढोग गरेको थिएँ । त्यसपछि बुबाले मलाई टीका लगाएर सरस्वतीमा चढाएको माला पनि लगाइदिएर सरस्वतीलाई चढाएको पञ्चामृत, मनभोग, फलफूल आदि प्रसाद पाएर मैले बुबाको पाउमा सादर साष्टाङ्ग दण्डवत् गरेको थिएँ । बुबाले पनि मलाई आशीर्वाद दिँदै दीर्घायु भएस् । भाग्यमानी भएस् । विद्वान् भएस् । सरस्वतीको आशीर्वाद पाइरहेस् भन्नुभएको थियो ।
त्यहाँ भएका सबैले एकैसाथ सरस्वती माताको जयपुकार गरेको पनि सम्झन्छु । त्यसपछि बुबाले काठको धुलौटोमा मसिनो गरी पिसेको माटोको धुलो फिँजेर काठको छेस्को मेरा हातमा दिई मेरो हात समातेर सबभन्दा पहिले ॐ लेखाएर मुखले पनि ॐ नै भन्न लगाउनुभयो । त्यसपछि श्री अनि क्रमशः अ आ इ… । क ख ग… । १, २, ३… आदि लेखाउँदै भन्न लगाउनुभएको कुरा पनि म कहिल्यै बिर्सन सक्दिनँ । बुबाको त्यही आशीर्वादलाई मनमा धारण गरेर मैले जीवनभर अक्षरको खेती गर्दै सरस्वतीको उपासक बनिरहेँ ।

लेखक भालचन्द्र भण्डारीको डोटी गडसेरास्थित जन्मघर ‘नौलेघर’

बुबाले पछिसम्म निरन्तर मेरो हात समातेर घना, बाटुला र सुन्दर अक्षर लेख्न सिकाइरहनुहुन्थ्यो । घरैमा कानाबादा (बाह्रखरी), दशलय (अङ्कगन्ती), बालबोध, भगवती स्तोत्र, दुर्गाकवच, सप्तशति (चण्डीपाठ), चिठी, तमसुक, दुना, चौका, सवाई, ड्यौडे, पौने, अढैये आदि हिसाब–किताब, अङकेन्दु शेखर (श्लोकबद्ध प्रश्नोत्तर गणित) बहीखाता र विभिन्न देवीदेवताका स्तुति, नवग्रहादि श्लोक तथा केही मन्त्रहरू कण्ठस्थ पार्ने गरी घरैमा सिकाउनुभएको हो । कुनै पनि कुरा कण्ठस्थ नभएसम्म मैले दोहोर्‍याएर पढिरहनुपर्थ्याे । बेलुकी सुत्नेबेला कण्ठस्थ पार्न लगाएका श्लोकहरू बिहान उठ्नेबित्तिकै मैले बुबालाई सुनाउनुपथ्र्यो । त्यसबेला प्रायः संस्कृतका पुस्तकहरू छन्दोबद्ध नै हुन्थे । भाका मिलाएर मधुर लय र सुन्दर शैलीमा पढ्ने प्रचलन थियो । मेरो कविताप्रतिको मोह पनि बुबाकै आशीर्वाद र प्रेरणाको फल हो भन्ने मैले बुझेको छु ।

मेरा बुबा आफ्नो समयका आदरणीय गुरु पनि हुनुहुन्थ्यो । व्रतबन्धमा गायत्री महामन्त्र सुनाउने मुख्य गुरुको सम्मानमा गुरुपूर्णिमा र वल्के सङ्क्रान्ति (भाद्र सङ्क्रान्ति)का दिन आफ्नो घरमा पाकेको विशेष खानेकुरा (निकोनौली) अथवा फलफूल या आफ्नै बारीको साग-तरकारी आदि जे सम्भव भयो त्यही लिएर गुरुको घरमा जाने चलनअनुसार हाम्रो घरमा साग (सौगात) दिने बुबाका शिष्यहरू पनि धेरैजना आउनुहुन्थ्यो । बुबालाई गुरुको रूपमा र आमालाई गुरुआमा भनेर ढोग गर्नेहरूको भिड हुन्थ्यो । त्यस दिनलाई काजबारको रूपमा पनि लिइने हुँदा आमाले सेल (बाबर), पुरी (लाउन), मालपुवा (मालपुव), निसौसे (दहीमा गुलियो चिज मिलाई घिउसमेत राखी चामलको पिठो मोलेर ठूलो तावा अथवा फराकिलो ठुलो कराहीमा पुरै परिवारलाई खानपुग्ने चोखो र मिठो एउटै भुक्के रोटी) जस्ता खानेकुरा पकाएर दही, दूध, तरकारी, राइतो (काँक्रोमा दही र नुन–मसला मिलाई तयार पारिएको स्वादिष्ट परिकार) सत्कारका साथ खान दिनुहुन्थ्यो । हाम्रा गाउँघरमा यो प्रचलन हालसम्म पनि कायम छ ।

मेरा बुबाले हिउँदका फुर्सदिला दिन (मङ्सिर, पुष, माघतिर) केही वर्ष पढाउने काम पनि गर्नुभयो । वारि–पारिका गाउँ र आफ्नै छरछिमेकका ठुल्ठुला उमेरका युवकहरू रातको समयमा झुरो (दियालो) बालेर पढ्न आउँथे । त्यसरी घरमा आउने पाँचसात जनालाई दाउरा र झुराकै उज्यालोमा पढाउनुहुन्थ्यो । गुरुभेटी जसले जेजति दियो त्यति नै लिनुहुन्थ्यो । बुबा परलोक हुनुभएपछि गाउँघरमा अँध्यारो छाएको आभास भएको थियो । गाउँगर्खाका भद्र–भलादमी तथा बुढापाकाहरूले निकैपछिसम्म पनि बुबाको सम्झना गरिरहनुहुन्थ्यो । मेरो दुर्भाग्यले नै होला बुबाबाट बटुल्नुपर्ने आवश्यक ज्ञान, सिप र सन्देश सानो उमेरका कारण मैले ग्रहण गर्न सकिनँ । यो सम्झिँदा अझै मेरो मुटुमा भक्कानो फुटिरहन्छ ।

वैद्यहरूले जवाफमा भनेछन्, “हजुरको छोरोलाई हामी केही गरेर पनि यो अवस्थाबाट बचाउन सक्दैनौँ, बरू हजुरसँग नै हामीलाई थाहा नभएका कैयौँ प्रकारका जडीबुटी, ओखती र अनेक मन्त्रहरू रहेछन्, बचाउन सके आफैँले सक्नुहुने छ । हामीले बचाउन सक्दैनौँ । भगवान् सहारा होऊन् । हाम्रो पनि प्रार्थना छ । अब हामी जान्छौँ ।”

महामारीबाट मुश्किलले बाँचेँ

म अढाई वर्षको उमेरको हुँदा वारिपारिका गाउँहरूमा शीतला (बिफर) भन्ने रोगको महामारी फैलिएको थियो रे ! चारैतिर फैलिएको त्यस रोगको चपेटामा परी म पनि शीतलाग्रस्त भएछु । पुरै शरीरमा हातले अथवा मुलायम कपडाले समेत छुन नसक्ने भई मरणासन्न अवस्थामा पुगेको रहेछु । खुला कपासको आसनमा राखी मयूर पङ्खको झुत्तोबाट हम्कदै (हावा लगाउँदै) आचमनले छिनछिनमा ओँठमा पानी लगाउनुपर्ने र एकछिनमै प्राण जालाजस्तो भई निराशा छाएको अवस्थामा त्यस महामारीबाट ग्रसित वारिपारिका ७ जना बिरामीमध्ये ६ जना बालबालिकाहरूको मृत्यु भइसकेको रहेछ । त्यस रोगको खोप लगाई निको पार्ने वैद्यहरूको टोली (स्थानीय भाषामा भेद्दा अर्थात् स्थानीय विधि प्रयोग गरी भेद गर्ने) कतैबाट गर्खातिर आएको भन्ने कुरा बुबाका कानमा परेपछि त्यस टोलीलाई घरैमा बोलाएर उहाँले भन्नुभएछ– “तपाइँहरूलाई मेरो छोरो बचाउन जति दिन लाग्छ त्यति दिनसम्म एकछाक खीर र अर्को छाक मनभोगको खाना अथवा इच्छाभोजनका साथ चाँदीका कम्पनी रुपियाँ १००।– (एक सय मात्र) पुरस्कारसहित लाग्ने अन्य सबै खर्च दिने छु, जसरी पनि छोरोलाई बचाइदिनुहोस् ।”

वैद्यहरूले जवाफमा भनेछन्, “हजुरको छोरोलाई हामी केही गरेर पनि यो अवस्थाबाट बचाउन सक्दैनौँ, बरू हजुरसँग नै हामीलाई थाहा नभएका कैयौँ प्रकारका जडीबुटी, ओखती र अनेक मन्त्रहरू रहेछन्, बचाउन सके आफैँले सक्नुहुने छ । हामीले बचाउन सक्दैनौँ । भगवान् सहारा होऊन् । हाम्रो पनि प्रार्थना छ । अब हामी जान्छौँ ।” ती वैद्यहरूले बुबालाई निराश पारेर बिदा भएछन् ।

अन्तिम अवस्थामा बुबा आफैँले सिक्नुभएका मन्त्रहरूको सहारा लिई लगातारको सावधानीबाट छनोट गरिएका विभिन्न प्रजातिका १०८ रूखका बोक्रा, पात, जरा, कोपिला र फूलसमेत कुटेर मिसाइएको ओखतीको धुलो पानीमा पकाएर लेदो (खुटी) बनाई शरीरभरि लेपन गरिरहँदा भाव विह्वल हुँदै, आँसु झार्दै, मन्त्र जप्दै मलाई बचाउने अथक प्रयास गर्नुभएछ । त्यस संवेदनशीलतामाथि भगवान्को कृपा प्राप्त भएर शरीरभित्रैबाट साङ्केतिक रूपमा दुबै हातका कुइना (कुम) र माथि गर्दनतिरका जोर्नीहरू भएको ठाउँमा देखापरेका फोका फुटाउन स्थानीय अनुभवी, पाका व्यक्तिलाई घरमा बोलाई बुबाले भनेकै ठाउँमा आरहाल्नका लागि फलामको सुइरो तताई रातो पारेर तोकिएको ठाउँमा सावधानी पूर्वक घोच्दै र सारा विकार निकाल्न लगाउँदै गर्दा मेरा दुवै हातका माथि गर्दनका जोर्नीदेखि तल कुइना र नाडीसम्म एघार ठाउँमा आर हानी (खोप लगाई) विकार निस्किएपछि मात्रै मेरो प्राण बचेको रहेछ । त्यसरी म बाँचे पनि मेरा दुवै हात बाँगिएर अपाङ्ग नै रहे । सबैको अथक प्रयासबाट म बाँचेको हुँदा मेरा बुबाआमा, दाजुभाइ, दिदीबहिनी, आफन्त, शुभचिन्तक सबैका आँखाबाट हर्षाश्रु खसेछन् । गाउँभरि खुशीको वर्षा भएछ ।

मभन्दा पहिले जन्मिएका मेरा दाजुहरू जन्मनेबित्तिकै सबै जना मृत्युको मुखमा पुगेका र त्यसबेलासम्म बुबाआमाका चार छोरीहरू मात्र बाँचेको अवस्थामा आमाबुबालाई ठुलो पिर परेको र म बाँच्नुको खुशीले सबैलाई स्पर्श गर्नु स्वभाविकै थियो । उक्त सङ्कटको घडीमा मेरी माहिली दिदी देवीकुमारीसहित खासगरी साहिँली दिदी धनकुमारीले मिनेटको समय नबिराई निरन्तर बुबाआमाको साथमा रही मलाई स्याहार्ने काममा निकै सहयोग पुर्‍याउनुभएको रहेछ । उहाँहरूबाट मलाई पछिसम्म पनि सहयोग रहिरह्यो ।

चूडाकर्मको झिनो सम्झना

सानैमा मेरो चूडाकर्म हुँदाको बखतको खासै याद नभए पनि चुल्ठी बाटेको मेरो लामो कपाल फुकाएर रौँहरूमा पहेँला वस्त्रका स–साना टुक्रामा सुपारीका दानासहित कुटेको दुबो, हल्दी, फूल, अक्षता आदिका कुटिरा (पोटला) बनाई बाँधेर झुन्ड्याइएका र पुरै कपाल छुराले छ्यौैर (मुण्डन) गरेको एवम् थालमा पहेँलै वस्त्र राखी त्यसैमा कपाल राखेर पोको पारेको मात्र सम्झना छ ।

एघार वर्षको उमेरमा आफ्नै घरको भुइँतलामा सजाइएको यज्ञ मण्डपमा मेरो व्रतबन्धका अवसरमा घरभित्र–बाहिर, मण्डप र ठुलो आँगनभरि मान्छेहरू भरिभराउ भएका थिए । दुबो–हल्दी कुटेर नौनीमा मिसाई बनाइएको उप्टन शरीरभरि टाउकोसमेतमा फुपूले लगाइदिनुभएको र पहेँलो मेखलोजस्तो गन्जी र कछाड लगाएर टिमुरको डन्डी समाती वेदको पुस्तक काखीमा च्यापी बनारस जाने भनी दौडेर गएकोमा पछाडिबाट साथीहरू पनि दौडेर गई मलाई फर्काएर ल्याएको, अलक माई भिक्षा देऊ भनी भिक्षाटन गरेकोे र पहेँला चामल, फलफूल, दक्षिणा, नरिवलसहित प्राप्त भएको भिक्षा मैले गुरुलाई बुझाएको आदि सम्झना पनि भइरहन्छ । यसअघि शङ्खघण्टको ध्वनिका साथ मलाई जनै लगाइदिनुभई पञ्चपल्लवमा महामन्त्र गायत्री लेखेको मुठोले मेरा कानमा लगाई मैले मात्र सुन्ने गरी उक्त महामन्त्र सुनाउनुहुने मेरा प्रथम गुरु मेरै काका नाता पर्ने गाउँकै भारद्वाज गोत्रीय गुरु ज्योतिषी रामचन्द्र भट्ट हुनुहुन्थ्यो । मलाई वेदमन्त्र सुनाउनुहुने गुरु भने गाउँकै मेरा काका नाता पर्ने भारद्वाज गोत्रकै सु. दशरथ भट्ट हुनुहुन्थ्यो ।

विवाहको अविस्मरणीय कुरा

उनले पनि मगनी गर्न लागेको कुराको चाल पाइसकेकी रहिछन् । हामी एकले अर्कोलाई लुकीलुकी हेर्ने गरेका थियौँ । हामी दुइटैका दाजु नाता पर्ने बाहुनगाउँका दीर्घराज जोशीजीले पनि मगनी हुँदै छ भन्ने चाल पाएपछि मौका मिलाएर हामी दुइटैलाई जिस्काउने गर्नुहुन्थ्यो ।

म बाह्र वर्षको छँदा गडसेराकै तत्कालीन खतेडा गर्खाअन्तर्गत पर्ने मुसेबाटा गाउँका नाम चलेका पुजारी धर्मदेव ओझा तथा हरिनादेवी ओझाकी एघार वर्षीय कन्या दुर्गाकुमारीका साथमा २०१८ साल, मार्ग २० गते बडो धुमधामका साथ मेरो मागी विवाह सम्पन्न भएको थियो । गाउँघरमा प्रायः विद्यालयको व्यवस्था नभएको र छोरीबुहारीलाई पढाउने चलन पनि नभएको त्यस बेलामा पुजारीजीकी छोरी दुर्गाले किताब पढ्नसक्ने र चिठी लेख्न सक्ने साक्षरता हासिल गरेकी थिइन् ।

मेरो विवाहका सन्दर्भमा अविस्मरणीय कुरा के छ भने विवाह हुनुभन्दा एक वर्ष पहिले भामगाउँका पण्डितजी चूडामणि ओझाको घरमा श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ प्रारम्भ हुँदा नजिकैका नातेदार ब्राह्मणको हैसियतले मेरा बुबा र पुजारीजी धर्मदेव तथा उहाँका दाजु पुजारीजी उमाकान्त ओझासहित ब्राह्मणकै रूपमा उक्त महायज्ञमा आमन्त्रित हुनुभएको सुअवसरमा मेरो विवाहका लागि मगनीको कुरा चलेको रहेछ । म पनि बुबाका साथमा त्यहीँ पुगेको थिएँ । सानो छँदा म ज्ञानी र देख्नमा सुन्दर पनि रहेछु ! भजन–कीर्तन गर्र्र्न तथा नाच्नमा रुचि राख्ने र सिपालु पनि थिएँ रे ! उक्त सप्ताह महायज्ञमा हुने सन्ध्याकालीन आरतीपछिको भजन–कीर्तनमा राधाकृष्णको सङ्गीतमय नृत्यका क्रममा म सारी, ब्लाउज, चुरापोते शिरमुकुट आदि शृङ्गारमा सजिएर राधिकाको भूमिकामा नाचेको सम्झन्छु ।

त्यसबेला मेरो पाठशाला श्री नवकोट प्राथमिक विद्यालयका सङ्गीत र नृत्यसामग्रीहरू त्यस यज्ञमा लगिएका थिए । मेरो नृत्य देखेर ससुराजीहरू खुशी हुनुभएको रहेछ । संयोगले आफ्ना बुबाहरूसँगै आएकी दुर्गाजीलाई पनि पहिलो पटक मैले त्यहीँ देखेको हुँ । गोरो अनुहार, हँसिलो चेहेरा, पातलो जिउकी दुर्गा सुन्दर केटी रहिछन् भन्ने मेरो मनमा लागेको थियो ।

नवविवाहित जीवन-सँगिनी दुर्गामाया भण्डारीका साथमा भालचन्द्र भण्डारी

उनले पनि मगनी गर्न लागेको कुराको चाल पाइसकेकी रहिछन् । हामी एकले अर्कोलाई लुकीलुकी हेर्ने गरेका थियौँ । हामी दुइटैका दाजु नाता पर्ने बाहुनगाउँका दीर्घराज जोशीजीले पनि मगनी हुँदै छ भन्ने चाल पाएपछि मौका मिलाएर हामी दुइटैलाई जिस्काउने गर्नुहुन्थ्यो । धेरै रमाइलो र केही लज्जाबोधको त्यो क्षण पनि म कहिल्यै बिर्सन सक्तिनँ । त्यसको केही समयपछि माटीखेतका नित्यानन्द भट्टजीको घरमा पनि श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञको आयोजना हुँदा त्यहाँ पनि उस्तै किसिमको अवसर जुरेछ । बुबा र ससुराजीहरू त्यहाँ पनि आमन्त्रित हुनुभएको रहेछ । सबै आफन्तहरूको भेट, सम्पर्क र सरसल्लाहबाट मेरो विवाहसम्बन्धी जुडमेल गर्न त्यहाँ उपस्थित हुनुभएका ज्योतिषी–पण्डितजीहरूको जमघटबाट जन्मपत्रिका जुराई विवाहको निर्णय गरिएको रहेछ । त्यस सप्ताह महायज्ञमा पनि आफ्नी फुपूको त्यस घरमा दुर्गाजी पनि आएकी थिइन् । दोस्रो पटक त्यहाँ मैले दुर्गाजीलाई देखेको थिएँ । हामीले त्यहाँ पनि एकले अर्कोलाई लुकीलुकी हेर्ने गरेका थियौँ । त्यहाँ पनि भजन–कीर्तनका अवसरमा केटीकै वेशभूषा र शृङ्गारमा सजिएर मैले सांस्कृतिक नृत्य प्रस्तुत गरेको थिएँ ।

प्राथमिक शिक्षा

२०१६ सालमा ज्युनेबस्ता गाउँका घरानियाँ बैयाल ज्यो. ईश्वरीदत्त भण्डारी (उपाध्याय)ले आफ्नो निजी जग्गामा नवकोट प्राथमिक विद्यालय स्थापना गर्ने गरी जग्गा दान–दातव्य गर्न विद्यालय सञ्चालक समिति गठन गर्ने विचार गरिरहनुभएको रहेछ । त्यसैबेला हाम्रो गाउँ शैलकोटिलाको ‘हने’मा पनि गाउँका जान्नेबुझ्नेहरूको सल्लाहले प्राइभेट पाठशाला सञ्चालन गरिएको र त्यहाँ गुरूजी रामचन्द्र भट्टले पढाउने काम गर्नुहुन्थ्यो । त्यसबेला म करिब १० वर्षको थिएँ । मलाई बुबाले घरमा पढाउने लेखाउने विषयमध्ये दुर्गा सप्तशती (चण्डीपाठ) छैटौँ अध्यायदेखि पढ्ने गरी त्यही पाठशालामा भर्ना गरिदिनुभएको थियो । त्यहाँ पढ्ने धरैजसो हामी आफ्नै गाउँका केटाकेटी थियौँ । केही समयपछि (त्यसै वर्ष) धामी गाउँमा पनि त्यसबेलाका नाम चलेका रतनसिं खडायतको घरमा खोलिएको प्राइभेट पाठशालामा निजकै छोरा गेहेन्द्रबहादुर खडायत (गुमानसिं)ले अङ्ग्रेजीसमेत पढाउने गर्नुभएकोले मलाई पनि त्यहीँ भर्ना गरिएको थियो ।

केही समयपछि मेरा बुबाले मलाई नवकोट प्रा.वि. मा भर्ना गरिदिनुभयो । त्यसबेला मलाई पढाउनु हुने ज्यो. पद्मनाभ ओझा पं. चूडामणि ओझा, ज्यो. रामचन्द्र भट्ट, गेहेन्द्रबहादुर खडायत, सूर्यप्रसाद जोशी, नरबहादुर बलायर लगायतका शिक्षकहरू हुनुहुन्थ्यो । त्यस विद्यालयमा पढ्न पाउँदा म ज्यादै खुशी भएको थिएँ । मैले मेरो पढाइकै सिलसिलामा त्यस नवकोट प्राथमिक विद्यालयका संस्थापक एवम् शिक्षाप्रेमी ईश्वरीदत्त भण्डारी तथा अन्य समाजसेवीहरूका योगदानका बारेमा पनि धेरै कुराहरू बुझ्ने मौका पाएको थिएँ ।

२०१७ सालमा सरकारी स्वीकृति प्राप्त नवकोट विद्यालयमा मेरा बुबा रामचन्द्र भण्डारीले पनि त्यसबेला रु. ६४/- (चौसठ्ठी रुपियाँ मात्र) चन्दा रकम प्रदान गर्नुभएको थियो । उक्त सहयोग रसिदमा श्रीपेच भएको विद्यालयको छाप छ । सो रसिद मसँग अहिलेसम्म पनि सुरक्षित नै छ । कक्षा ५ सम्मको मेरो पढाइ त्यसै विद्यालयमा भएको थियो । मसँगै पढ्ने साथीहरू धेरै जना ठुल्ठुला उमेरका, मभन्दा जेठा थिए । अरूभन्दा केही बढी जान्ने र अक्षर पनि अलि राम्रा लेख्ने विद्यार्थीमा गनिएको थिएँ म । म पीटी (व्यायाम), म्युजिकल चियर र कपर्दी खेल निकै मन पराउँथेँ । मेरा हातहरू कमजोर भए पनि म साथीहरूसँग खेल्न मन पराउँथेँ । मैले ५ कक्षा पास गरेको सुखद समाचार पाउँदा बाआमा असाध्यै खुशी हुनुभएको थियो ।

मैले बाह्रखरी पढ्न सुरु गरेलगत्तै मेरा लागि बुबाको आग्रहमा श्रीनन्द भट्टले काठका फल्याकहरू जोडेर काठका चारओटा पाङ्ग्रा भएको गाडी, काठकै सुन्दर आकारको घोडा सिपालु तरिकाले बनाइदिनुभएको थियो । उहाँ बाँसुरी बजाउन उस्ताद हुनुहुन्थ्यो र मलाई पनि बजाउन सिकाउनुभएको थियो । मैले रहरले बाँसुरी बजाउने गरे पनि त्यति सुरिलो र मिठो धुन दिन भने सकिनँ । बुबाको मप्रति औधी माया रहेको थियो । ती प्रसङ्गहरू सम्झँदा अझ पनि म भाव विह्वल हुन्छु ।

कहालीलाग्दो क्षण

२०१९ साल आषाढ शुक्ल दशमी तिथिको दिन ६४ वर्षको उमेरमा पेटमा वायु बिग्रनाले सोला हान्ने रोग (शूल) पैदा हुँदा र दुर्गम स्थानमा तत्काल औषधोपचारको कुनै व्यवस्था हुन नसकेकोले एक रातको असह्य पीडापश्चात् बुबाको निधन भएको थियो । उक्त घटना मेरो जीवनको एक निराशा र अन्धकारको क्षण बन्न पुगेको थियो । त्यस कहालीलाग्दो क्षणमा मेरी आमाले साहसिली र धैर्यशील भएर सारा घरधन्दा आफ्नो काँधमा लिनुभयो । घरायसी कामको हरेक कठिनाइमा साथ र सहयोगका लागि मेरी जेठी दिदी सरस्वती जोशी (बालविधवा) पनि निरन्तर लागीपर्नुभयो । उहाँको सहयोगबाट हामी क्रमशः केही दरिलो हुँदै गयौँ । बुबाकै दिनदेखिका अविस्मरणीय मित्र लंकबहादुर चोखाल परिवारबाट कृषिकार्यका क्षेत्रमा प्राप्त भएको सद्मैत्रीपूर्ण घरायसी सहयोग पनि हार्दिक रूपले सम्झिरहने र कहिल्यै बिर्सन नसकिने किसिमको रह्यो । चोखाल परिवारसँग अहिलेसम्म पनि हाम्रो घरायसी भावनात्मक सम्बन्ध उत्तिकै घनिष्ट छ ।

केही समयपछि श्री नवोदय नि.मा.वि.को स्थापना भई कक्षा आठसम्मको सरकारी स्वीकृति प्राप्त भयो । त्यसबेला दुर्गम ठाउँमा पाठ्यपुस्तक तथा पाठ्यसामग्री जुटाउन निकै समस्या हुन्थ्यो । मेरो घरायसी परिस्थितिले गर्दा रोकिएको पढाइ अघि बढाउन मैले कक्षा ६, ७ र ८ का पुस्तकहरू केही नयाँ केही पुराना र केही अरूले नोट बनाएका वा सारेका कापीहरू सङ्कलन गरी सबै किताबहरू एकैसाथ घरैमा र केही विद्यालयमा समेत अध्ययन गरी २०२५ सालमा प्राइभेटबाट परीक्षा दिई ८ कक्षा उत्तीर्ण भएको थिएँ ।

लेखक भालचन्द्र भण्डारी आमा स्वर्गीय नर्मदादेवी भण्डारी तथा सहोदर भाइ लक्ष्मीप्रसाद भण्डारीका साथमा

हामी पढ्दा शनिबारको बिदामा र कहिले अरू बारमा पनि विद्यालय बन्द गरे पनि सबै शिक्षक, सिनियर विद्यार्थीहरू, सञ्चालक समितिका पदाधिकारीसहित अभिभावकहरू सबै मिलेर भवन बनाउन भिरालो जग्गा सम्म पार्ने, ढुङ्गा, झ्याल, ढोका आदिका लागि काठ ओसार्ने, छाना छाउनका लागि टाढाबाट पत्थर (स्लेट) बोकेर ल्याउने, लामा–लामा काठका खम्बा (खामा), बलेसी (बाँसा) कडी बिम (भराइना) नस, फल्याक आदि बोकेर वा तानेर ल्याउने काम सामूहिक रूपमा सक्रियतापूर्वक गरिन्थ्यो । विद्यालयमा आउने जाने चारैतिरका बाटाहरू फराकिला र सफा बनाउने, ती बाटाहरूमा पर्ने गाड–खोलामा साँघु र काठे पुल हाल्न सबैले सहयोग गर्ने गरिन्थ्यो । विद्यालयको आयस्रोत बढाउन गहुँ र धान भित्र्याउने समयमा गडसेराका ९ ओटै वडाका प्रत्येक घरमा विद्यालयबाट खटिएका टोली गई शिक्षासम्बन्धी विषयका गीतमा नृत्य गरी सिजन चन्दा सङ्कलन गर्ने, सङ्कलित अन्न पालैपाले गरी बोकेर ल्याउने र समितिको बैठकले तोकेको दरमा उक्त अन्न बिक्री गरी आम्दानी खातामा दर्ता गर्ने गरिन्थ्यो । त्यसैगरी पटक–पटक सानोतिनो पट्के चन्दा उठाउने, तिहारमा नाचगानसहितको बुढो भैलोको आयोजना गरी रकम सङ्कलन गर्ने र होरी (होली) मा पनि विद्यालयकै तर्फबाट रङ्ग–रमाइलो कार्यक्रम सञ्चालन गरी विद्यालयको आम्दानी बढाई स्तरोन्नतिमा लाग्ने गरिन्थ्यो । पञ्चवर्षीय नयाँ शिक्षा योजना (२०२८–२०३२) लागु हुनु पूर्व सरकारी अनुदानका रूपमा वार्षिक रूपमा रु. २,२००/- मात्र निकासा हुन्थ्यो । त्यसै रकमबाट शिक्षकहरूको तलब उल्लेख गरेर नियुक्ति दिइन्थ्यो । यी सबै मेरा सम्झनयोग्य कुरा हुन् ।

प्यारो कलम र ५० रुपैयाँको जागिर

विद्यार्थीकालका मेरा सम्झनाहरूमध्ये एक कलमको कुरा पनि अविस्मरणीय छ । पहाडी चिसो लेकमा पाइने कटौज (कटुस)को रूखका पातबाट बनाइने कालो मसी, निगालोबाट बनेका कलमले पहाडी कागज (ताउ)मा लेख्ने चलन भएको त्यसबेला बुबाले भारतको टनकपुरबाट घरखर्चका निम्ति कपडा ल्याउन गएको मौकामा एउटा सुनौलो रङको मसी भरेर लेख्ने मोटो र सुन्दर फाउन्टेन पेन, केही निबहरू र बाउन्ड कापी ल्याइदिनुभएको थियो । त्यसबेला म चार कक्षामा पढ्थेँ । त्यो कलम मेरा साथीहरूले पालै–पालोसित हेरेर अचम्म पर्थे । गुरूजीहरूले पनि मेरो कलमको प्रशंसा गरी मलाई हौसला थपिदिनुहुन्थ्यो ।

धातुबाट निर्मित मेरो प्यारो त्यो एकमात्र कलमले परीक्षा दिएर म १९ वर्षको उमेरको हुँदा शिक्षकको प्रतिस्पर्धामा समेत सफलता प्राप्त गरेको र मासिक रु. ५०/- (अक्षरेपि रुपियाँ पचास मात्र) पाउने गरी आफैँले पढेको श्री नवकोट प्रा.वि.मा शिक्षक नियुक्त भएको थिएँ । त्यसपछि १ वर्षे सेवाकालीन नर्मल तालिम हासिल गर्न प्रा.शि.शि. केन्द्र, पोखरा, कास्की जाने बेलामा उक्त कलम भाइ लक्ष्मीप्रसादलाई छोडिगएको र भाइले पनि त्यही नवोदय नि.मा.वि. मा कक्षा ८ उत्तीर्ण गरेपछि श्री प.प.मा.वि., सिलगढीमा गई कक्षा ९ मा भर्ना भएपछि पनि त्यही कलमले विद्यालय तहको शिक्षा हासिल गरेको कुरा कहिलेकाहीँ सम्झन्छु । मेरो शैक्षिक जीवनको पाना पल्टाउँदा त्यही कलमलाई सरस्वतीको प्रतीक ठान्दछु ।

कवि तथा साहित्यकार भालचन्द्र भण्डारी ३० को दशकमा सिर्जनारत एक पल

गडसेराका मनोरम दृश्य

गडसेराका हरेक गाउँठाउँमा पिठो पिस्ने पानीघट्टहरू, तोरी पेल्ने कोलु (कोल) अझै पनि प्रयोगमा छन् । यी दुईटै कामको मलाई पनि राम्रै अनुभव छ । ढिक्की र ओखल–मुसलबाट धान कुट्ने र घट्ट टाढा भएको ठाउँमा जाँतो पिस्ने चलन अझसम्म छ । म सानैदेखि मेलाजात्रा, पूजाआजामा पनि रुचि राख्ने भएकाले पनि मलाई त्यहाँका हरेक ठाउँको झझल्को आइरहन्छ । गडसेराको दक्षिण सिमानातिर हामी भण्डारीहरूको पुर्ख्याैली थलो सुन्दर निरौली गाउँ छ । म सानैदेखि आफ्ना दौँतरीसित निरौलीमा धुमधामसित मनाइने दशैँ हेर्न जान्थेँ ।
गडसेरामा पर्यटक लोभिने मनमोहक ठाउँ र वन्यसम्पदाहरू भरपुर छन् । हाम्रो गाउँदेखि दक्षिण पूर्वतर्फ पर्नेे तालको लेकदेखि तेलेको लेक र उदैनी शिखर हुँदै कालीखोलीका वनजङ्गल पनि सदाबहार मनोरम दृश्यावलोकनका लागि उत्तम ठाउँ मानिन्छ । वन्यसम्पदाहरूले भरपुर गडसेरा आफैँमा एक शान्तिक्षेत्र हो । खासगरी यहाँका उत्तरपूर्वी गाउँहरूका सिरानतर्फ पुस्तौँदेखि पालेवन (लाइनी) प्रायः घर–घरका निजी रूपमा संरक्षित रहँदै आएका छन् । यहाँका हरेक वनजङ्गलमा बाघ, भालु, जरायो, घोरल, बँदेल, रतुवा, गुना, बाँदर आदि वन्यजन्तु र काग, कोइली, सुगा, मैना, न्याउली काफलपाक्यो, कालिज, चिल, गरुड, ढुकुर, जुरेली, भँगेरा आदि चराचुरुङ्गीहरू पाइन्छन् । यहाँ गुलाबी, कन्युरी, सुनजया आदि डाली फूल र चमेली, हजारी, टोक्करी (सयपत्री) आदि अनेकौँ जातका मौसमी फूलहरू रोप्ने चलन रहेको छ । हाम्रो घरमा पनि फूलहरू लगाइएका हुन्थे ।

मेरो पनि फूल लगाउने सौख थियो म सानो छँदा । लालीगुराँसले ढकमक्कै फुलेका गडसेराका वनपाखाहरूको शब्दमा बयान गर्न असमर्थ छु । त्यहाँ अनेक किसिमका रङ्गीविरङ्गी पुतलीहरूका पछि दगुर्दादगुर्दै हामी केटाकेटीहरूको बाल्यकाल बितिरहेको हुन्थ्यो । बाल्यकालमा खेमराज काकासँग कन्बाउली त्रिखुट्टी खेल खेलेको, खौला शास्त्री दाइसित वनतरूल खोज्न सुइडा र सुडेखोलातिर जाने गरेको, वामदेव, खेमराज (साइँला), जगन्नाथ दाइ लगायतका दौंतरीहरू सँगै नवकोटमा पढ्ने गरेको याद पनि बारम्बार आइरहन्छ । टीकाराम दाइ अलि परिपक्व विद्यार्थी हुनुहुन्थ्यो । उहाँसित म विद्यालय जानआउन मन पराउँथेँ ।

ग्वाला साथीको सम्झना

त्यसबेलाका मेरा तमाम ग्वाला साथी (दौँतरी) सँगै संयुक्त स्वरलहरीमा गाएका लामा लय (ठाडीभाका)का मधुर झङ्कारयुक्त गीतहरू अझै पनि कानमा गुञ्जिरहेकै भान हुन्छ । बाल्यकालका साथी–सँगी मिलेर घरकुट्टी बनाउने र पातको धारोबाट घट्ट चलाएर खेल्दथ्यौँ । भुटेका मार्सीका खाजा (गुडसहितको) पोटली (दिउँसोको खाजा) लगेर बाँडेर खान्थ्यौँ । लाइनीमा पाकेका काफल, ऐँसेलु खुब खान्थ्यौँ । ढिस्सु र पिङ खेल्थ्यौँ । कोलुगैरा (शैलकोटिलाको प्रचलित वन) को पिङ खेल्दा म खसेर रोएको थिएँ । गाईबाच्छा, हलगोरु, पाठाबाख्राहरू चराउन केही नजिक–टाढाका वनतिर मिलेर जान्थ्यौँ । काँक्रा आदि बेला–लहरा जातका तरकारीहरूका लागि डाले थाँक्रा ल्याएर बारीमा डोब बनाई राख्ने गर्थ्याैं । साँझ बिहान तरकारीबारीमा पनि आवश्यकताअनुसार काम गर्ने गरेको खुब याद आउँछ ।

साथीहरू मिलेर नजिकैका वनमा गई काफल, ऐँसेलु, काली ऐँसेलु, किन्मडा, फल्दो, मल्यो, गुयला, आदि टिपेर खाने, घरमा ल्याउने र बाँडीचुडी खाइन्थ्यो । नजिकै वा टाढा वारिपारिका वनमा ग्वाला–ग्वालिनीहरू भाका हालेर मायालु वनगीत अथवा विरहपूर्ण गीतहरू रन्काएर गाउँथे । बाँसुरी बजाउन सिपालु ग्वालाहरू सङ्गीतमय मधुर धुनमा मोहनीमय लय घुमाई सुन्नेलाई लठ्ठ पारिदिन्थे । कहिले कतै गीतको लयमा म पनि अलि–अलि साथ दिने गर्थें । भरखरै वनमा चर्न पठाएका ती साना बाच्छाबाच्छीहरू र बर्‍याकबुरुक गरी उफ्रने पाठा–पाठीहरूको कति माया लाग्थ्यो भनेर साध्य छैन । सानैदेखि प्रकृतिप्रेमीको रूपमा मैले आफूलाई एकोहोरो पाउँथेँ ।

जो थे मेरा उस बखतका दौँतरी क्वै त छैनन्
क्वै छन् दूरै मसित अहिले माथ छन् साथ छैनन्
पालैपालो प्रकृति नियती जिन्दगी रै’छ पालो
मेरो आशीर्वचन सबमा शान्ति छाओस् उज्यालो !

अझ पनि म मेरो त्यही बाल्यकाल, जन्मभूमिको सम्झना र मायामिश्रित भावुकतामा पग्लिरहन्छु । पग्लिरहन्छु ।

———
हाल : सनसिटी, पेप्सीकोला, काठमाडौँ ।

LIVE TV