१५ आश्विन २०७९, शनिबार
  • मधुसुदन थापा

म सानो हुँदा दशैँमा खुब रमाइले मान्थेँ । जब मेरी आमाले खड्कुलामा पानी तताएर धानलाई उमालेर छोप्नुहुन्थ्यो, म दशैँ आउनै लाग्यो भनेर महसुस गर्थें । दसैंमा जमरा राख्न हामी मनोहरा खोला पुग्थ्यौँ । खोलाबाट बालुवा लिन्थ्यौँ । सानो छँदा म पनि आमासँगै ठिमी बोडे जान्थेँ । मलाई आमाले यो हाम्रो खेत हो भनेर चिनाउनुहुन्थ्यो । मनोहरा खोलावारि खेत र पारि खेत भनेर । तीमध्ये मलाई खेतको नाम याद भएसम्म गुसेरिबगर साठी मुरी, चार भाई फगटो, बैँशघारी यस्तै यस्तै भनिन्थ्यो । अहिले यी खेत हरु प्लटिङ भएका छन् । बाँकी रहेका जग्गाबाट पनि तरकारी र अन्न हैन, भाडा चैँ आउने भएका छन् । जग्गा लीजमा दिएर । अहिले ती खेत भएका ठाउँतिर रेस्टुराँ हब भएको छ ।

मलाई याद छ, एकचोटि हाम्रो खेतलाई मानोहरा खोलाले बगाएको थियो । अर्को वर्ष मेरो काम भने दर्शनढुङ्गा टिप्ने थियो । बुवाले आली लगाउनुभएकाे थियाे । त्यसबेला खेतमा जाँदा गँगटो, हिले माछा देख्न पाइन्थ्यो । तर अहिले यी सब देख्न सकिन्न ।

मनोहरा खोला तरेर पारि पुगेपछि हाम्रो अर्को खेत आउथ्यो । जुन हाम्रो मितबाको सँगै जोडिएको थियो । मितबा सँग र उहाँको परिवारसँग भेट्दा मलाई भित्रभित्रै खुशी लग्थ्यो । किनकि उहाँहरुले मलाई चङ्गा, धागो, लट्ताइ दिनुहुन्थ्यो । बालापन त हो, चङ्गा–धागो पाएपछि म दंग हुन्थेँ । मेरी साइली दीदीको मितेरी हजुरमुवाले सानैमा मितबाकी छोरीसँग लगाइदिनुभएको थियो । त्यो बेला मनोहोरा खोला तरेर पारि जान गाह्रो हुने र खेतिबाली हेरचाह गर्न झन्झट हुने, बाढी आउने डर हुन्थ्यो । आफ्नै सँधियारकी छोरीसँग आफ्नी नतिनीको मितिनी साइनो लगाइदिएपछि आफ्नो जग्गाको पनि रेखदेख हुने, हजुरमुवाको यो एउटा मिठो कुटनितिथियो भनेर मैले पछि मात्र बुझेँ । छलकपट केही थियन, मात्र मिठो मितेरी साएनो । जाडो महिनामा चाहिँ काठको सानो पुल हालिएको हुन्थ्यो । मनोहरा खोला एक्दमै सफा र कन्चन हुन्थ्यो ।

हजुरमुवासँग धेरैपटक हिँडेर ठिमीको बाडाकोमा सुन पसल पुगेको थिएँ । मनोहरा फाँट हुँदै ।।धुन्चेपाखा, मगरगाउँ, भैँसीआहल अनि सागबारी हेर्दै फर्किँदा रमाइलो लाग्थ्यो । अन्त्यमा मिठो गुदपाक पनि खान पाइने हुन्थ्यो । आफ्नो खेतको धान मितबुवाको सँगै साँधमा बाला टिप्नुहुन्थ्यो हजुरमुवाले । म मनमनै किन टिपेको होला भनस् सोच्थेँ । पछि पो थाहा भयो, दशैँपसछ धान काट्न ठिक हुन्छ कि हुन्न भनेर विचार गर्न पो रहेछ ।

दशैँपछि सिन्दुर जात्रा र बिस्का जात्रा तथा जीब्रो छेड्ने जात्रामा मात्र मितबाको घर जान पाइन्थ्यो । जात्राको खानेकुराको स्वाद यो जीब्रोमा अझै ताजै छ ।

नेवारी समुदायमा भोजचाहिँ माजाले नै मान्नुपर्ने चलन छ । धेरैपटक मितबुवाकोमा नेवारी भोजको आनन्द लिएको याद ताजै छ । भोजमा खर्च गर्न नेवार परिवारको जहिल्यै ठूलो छाती हुन्छ । त्यो मैले मितबाको घरमा देखेको हुँ ।

मेरो मितबुवा ठिमीको रैथाने मेहेनती किसान हुनुहुन्थ्यो । उहाँको मेहेनत कति थियाे भन्ने त बारीमा फलेको तरकारी देखेर पनि महसुस गर्न सक्थेँ । मलाई चाहिँ गाजर र मूला एकदमै मनपर्ने । दुई–तीन झोला तरकारी त जहिल्यै कोसेली हल्दिनुहुन्थ्यो । हाम्रो खेतको धान काटिसकेपछि उहाँहरुले नै तरकारी लगाउनु हुन्थ्यो । मनोहराले उर्बर बनेको जमिनमा फलेको तरकारीले काठमाडौंलाई धेरै मीठोमिठो र ताजा तरकारी खुवायो । हाम्रो घरको कौसीबाट मनोहरा साललल बागेको देखिन्थ्यो । खेतमा मान्छे छन् कि छैनन् भन्ने पनि थाहा हुन्थ्यो ।

जीवनमा मितेरी नाता चाहिँ लगाउनुपर्छ, बुडापाकाले भनेको सुनेको नै हो । दिदीको मितेरी नाताले म पनि मितभाइ भएको थिएँ । म जबजब दशैँमा दिदीको पछि लागेर टीका लगाउन मितबाको घर जान्थे, मलाई सुरूमा त हाम्रो लागि मात्र माटोको पालामा जमरा राखेको देखेर अचम्म लग्थ्यो । किनकि मेरो घरमा त पूरै पूजा कोठा नै ढाकेर उज्यालो घाम नपस्ने गरी राखिन्थ्यो । दशैँमा हाम्रो लागि नै भनेर उहाँले मायाले टीका र जमरा तयार पार्नुहुन्थ्यो ।

मलाई मितबाले मधु (नेवारी लवजमा– मडु) भनी बोलाको एकदमै रमाइलो लाग्थ्यो । एकचोटि मितबाले रोग काट्छ भनेर बटुकामा थोरै छ्याङ पिलाउनुभएको थियो । काँडाघारी गोठाटारको रैथाने थापाको छोरा म, मितबाको परिवारको लागि लाडिलो भएको थिएँ । प्रायः नेवार घरमा राँगाभैँसीको ‘बफ’ मासु पाक्थ्यो । तर हाम्रो लागि चाहिँ मितबुवा आफैले मिठो गरी कुखुराको मासु पकाइदिनुहुन्थ्यो । तेसबेला त कहाँ, बल्ल ११ क्लास पढ्दादेखि मैले पनि बफ खानथालेँ, नेवार साथीकै संगतले ।

मितबुवाका तीन भाइ छोरा थिए– रवि रोशन रन्जित । एक छोरी थिइन्, जसलाई म मितिनी दिदी भन्थेँ । उनको नाम थियो मीरा । मलाई यति धेरै माया गर्नुहुन्थ्यो कि घर फर्किँदा चङ्गा, धागो, लट्टाइ र खेलौना सबै पाउथेँ । त्यसबेला ठिमी सबैको किनमेल गर्ने बजार भएकोले खेलौना पनि टन्नै पाइन्थ्यो ।

मेरो दशैँको पैसा अलि बढी चाहिँ मितबाको घर गएपछि नै हुन्थ्यो । मितबाको परिवार नै ठूलो थियो । दिदी र मलाई गरिने नेवारी न्यान्यो माया आतुलनिय थियो । सम्झँदा मात्र पनि त्यस बलापनको यादले मन प्रफुल्लित हुन्छ आज । नेवारी भाषा मलाई बोल्न पनि सिकाउनुहुन्थ्यो । मलाई नेवारी समुदायले गर्ने भोज–भतेर, रहनसहन सम्पूर्ण थाहा थियो र म प्रभाभित नै छु अहिले सम्म । हरेक साल मितबुवाको घरबाट यःमरि पुर्णिमाको दिन मेरो घरमा यःमारी आउन अहिलेसम्म छुटेको छैन । मितबुवाको घरबाट फर्किएपछि मेरो बुवाले ‘ठुलो खसी पनि खाइस् कि ?’ भनेर जिस्काउनुहुन्थ्यो ।

नेवार र क्षेत्री परिवारबीचको त्यो मितेरी साइनो । न त्यहाँ जातले रोक्यो, सँस्कार, भाषा र रहनसहन ले नै छेक्न सक्यो । मात्र रह्यो दुई भिन्न परिवेश र परिवारबीचको माया, स्नेह र सद्भाव । र, त्यसलाई झन बडादशैँ पर्वले बाँध्यो र त्यो साइनो झन बलियो भयो ।

LIVE TV