१५ आश्विन २०७९, शनिबार
  • रमा आत्रेय

तिमीसगँ करोडौँको सवारी छ
करोडौंको मालिकसँग तिम्रो सफारी हुन्छ
तर पनि म बाटोमा हिँडिरहेको देख्दा
तिम्रो सवारी टक्क रोकिन्छ किन ?
के तिमीलाई महसुस भयो-
मायाको यात्रा
कुनै अर्थ र साधनसँग हैन
मनदेखि मनसम्म हुन्छ भनेर?

हिजो बाटोमा हिँड्दा
तिम्रो सवारीले बहुतै हिलो छ्याप्थ्यो
आज तिम्रो सवारी
मलाई नभेट्दै परै रोकिन्छ किन ?
के तिमीलाई महसुस भयो-
हिलो छ्यापिनेको हैन
हिलो छ्याप्नेको मन मैलो हुन्छ भनेर ?

हिजो मेरो घर थिएन छोडी गयौ
आज तिमी आलिसान महलको टुप्पोमा बसेर
गल्लीमा हिँडेको मलाई हेरिरहन्छौ किन ?
के तिमीलाई महसुस भयो-
मायाको बास
महलमा हैन मनमा हुन्छ भनेर ?

हिजो तिमीलाई सधैं हतार हुन्थ्यो
मलाई पछाडि पार्न धकेल्दै हिँड्थ्यौ
आज तिमी बिस्तारै मेरो पछि-पछि
हिँड्न् रुचाउछौ किन ?
के तिमीलाई महसुस भयो-
बिस्तारै हिँडे पनि
आखिर आर्यघाटसम्म पुगिन्छ भनेर ?

LIVE TV