१४ आश्विन २०७९, शुक्रबार

काठमाडौं । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको ट्रफी बिहीबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शनी गरिएको छ । राष्ट्रिय खेलकुदको ट्रफी टुर अन्तर्गत मधेश प्रदेशको पवित्र धार्मिक स्थल जानकी मन्दिर परिसरमा ट्रफी प्रदर्शनी गरिएको हो ।

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र मधेश प्रदेशका महिला बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहले ट्रफी सार्वजनिक गरेका हुन् ।कार्यक्रममा मधेश प्रदेश खेलकुद मन्त्रालयका सचिव रञ्‍जित कुमार यादव, मधेश प्रदेश खेलकुद बिभाग प्रमुख मोहमद जावल इस्लाम, मधेश प्रदेश प्रशिक्षण केन्द्र उपनिर्देशक सुरेन्द्र श्रेष्ठ लगायतका उपस्थिति रहेको थियो ।

ट्रफी सार्वजनिक गरेपछि बोल्दै मुख्यमन्त्री राउतले जानकीको पवित्र भूमिमा ट्रफी सार्वजनिक भएकोमा खुशी व्यक्त गर्दै नवौं राष्ट्रिय खेलकुदको भव्य सफलताको लागि शुभकामना दिए ।

‘जानकीको पवित्र भूमिमा ट्रफी अनावरण भएको छ । मधेश प्रदेशले ट्रफी ल्याओस शुभकामना दिन चाहन्छु,’ उनले भने, ‘नवौंको भव्य शुभकामना दिन चाहन्छु ।‘

मुख्यमन्त्री राउतले राज्यले खेलाडीलाई कम प्राथमिकता दिएको समेत बताए । उनले भने, ‘देशको नाम राख्ने खेलाडीलाई अन्य ठाउमा राज्यको तर्फबाट सुबिधा हुन्छ । तर, यहाँ खेलाडीलाई कम प्राथमिकता छ । राज्यले खेलाडीलाई हेर्नुपर्छ ।‘

उनले १० औं राष्ट्रिय खेलकुद मधेश प्रदेशमा आयोजनाका लागि प्रयास गर्ने समेत बताए । मधेश प्रदेशका खेलकुदमन्त्री सिंहले राष्ट्रिय खेलकुदको ट्रफी मधेश प्रदेशमा आउँदा आफुहरु प्रफुलित भएको बताउँदै नवौंको सफलताको शुभकामना व्यक्त गरे ।

‘आज हामी प्रफुलित छौँ । मा जानकीको प्रागणमा ट्रफी सार्वजनिक गरेका छौँ । राष्ट्र्रिय खेलकुद देशको गौरवको विषय हो । नवौंको सफलताका लागि कामना गर्छु,’ उनले भने ।

मन्त्री सिंहले नवौंमा स्वर्ण विजेतालाई ५१ हजार नगदले पुरस्कृत गरिने समेत बताए । उनले आफु आउँदा मधेशको खेलकुद दयनीय रहेको तर मुख्यमन्त्रीको सहयोगले नवौंमा २५ खेल सहभागिता गराउन सफल भएको बताए ।

ट्रफी टुर कार्यदलका संयोजक तथा ओलम्पियन एवं दक्षिण एशियाली खेलकुदका कीर्तिमानधारी दीपक विष्टले राखेपको योजना अनुसार ट्रफीलाई पवित्र भूमि जानकी मन्दिरमा ल्याईएको र अब ट्रफी अन्तिममा गण्डकी प्रदेशमा लगिने जानकारी दिए ।

ट्रफी टुर अन्तर्गत बिहीबार बिहान नै विश्व सम्पदा सूचीमा सूचिकृत बसन्तपुरमा प्रदर्शन गरिएको थियो । त्यस्तै बुधबार पाटन दरबार स्क्वायर र पशुपति क्षेत्रमा प्रदर्शनी गरिएको थियो भने आइतबार स्वयम्भुनाथ र बौद्धनाथ स्तुपामा पनि ट्रफी प्रदर्शन गरिएको थियो ।

ट्रफी टुर अन्तर्गत यस अघि सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री त्रिलोचन भट्ट, लुम्बिनी, प्रदेशमा मुख्यमन्त्री कुलप्रसाद केसी, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे,कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाही र प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले ट्रफी सार्वजनिक गरेका थिए । यस्तै नेपाली सेना, नेपाल प्रहरीको मुख्यालयमा समेत ट्रफीलाई प्रदर्शन गरिएको थियो ।

अब ट्रफीलाई नवौं राष्ट्रिय खेलकुदको मुख्य आयोजना स्थल पोखरामा असोज २३ गते लगिने छ । पोखरामा ट्रफीलाई नगरपरिक्रमा गराईने छ । ट्रफी टुरका लागि राखेपले विष्टको संयोजकत्वमा ५ सदस्सीय कार्यदल गठन गरेको थियो ।

कार्यदलमा नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष एवं सागका दोहोरो स्वर्ण पदकधारी दीपक श्रेष्ठ, महिला भलिबल कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धाविका मिरा राई सदस्य रहेका छन् । राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म हुँदैछ।

LIVE TV