१३ आश्विन २०७९, बिहीबार
  • प्रिशा बस्नेत,

ताप्लेजुङ । ताप्लेजुङ महोत्सव म्याराथन प्रतियोगिताअन्तर्गत पुरुषतर्फ दल वहादुर कुँवर प्रथम भएका छन् । जुम्लाको तातोपानी गाउँपालिकाका कुँवरले निर्धारित दूरी ४ घण्टा २ मिनेट २७ सेकेन्डमा पूरा गरेका छन् ।

दोश्रो भएका त्रिभुवन आर्मीका खगेन्द्र बहादुर भाटले मिनेटले ४ घण्टा २ मिनेट ५० सेकेन्डमा पूरा गरे । पाँचथरका मेयाङ्वाले ४ घण्टा २ मिनेट ५१ सेकेन्डमा दूरी पूरा गर्दै तेश्रो स्थान हासिँल गरे ।

महिलातर्फ ताप्लेजुङस्थित मैवाखोला गाउँपालिका फाकुम्बाकी सोमपाल्मु शेर्पा प्रथम भएकी छिन् । शेर्पाले ३ घण्टा ४१ मिनेट ९ सेकेन्डमा पूरा गरेकी हुन् । भोजपुरकी छेम्बीमाया राई दोश्रो भएकी छिन् । मिक्वाखोला गाउँपालिका–३ लिवाङकी पेम्बाल्हामू शेर्पा तेश्रो भएकी छिन् ।

पुरुषतर्फ प्रथम भएका कुँवरले १ लाख ५१ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । दोश्रो भएका भाटले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेका छन् । तेश्रो स्थान हाँसिल गरेका मेयाङ्बाले ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेका छन् ।

महिलातर्फ प्रथमले ८१ हजार १ सय ११ रुपैयाँ,दोश्रोले ५१ हजार १ सय ११ रुपैयाँ र तृतीयले ३१ हजार १ सय ३१ रुपैयाँ प्राप्त गरेका छन् । उत्कृष्ट दशभित्र परेका महिला र पुरुष दुवै तर्फका खेलाडीलाई जनही पाँच हजारका दरले पुरस्कार प्राप्त गरेका छन् ।

सदरमुकामस्थित पाथीभरा चोकदेखि सुकेटार–काफ्लेपार्टीहुँदै पाथीभरा मन्दिरसम्मको दुरी कायम गरिएको थियो । जिल्लाको पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उदेश्यले महोत्सव आयोजना गरिएको आयोजक पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्बद्र्धन समितिका अध्यक्ष तारानाथ घिमिरेले बताए ।

पाथीभरा क्षेत्र विकास समिति र भिमकाली गुल्मको आयोजनामा असोज ११ गतेदेखि ३ दिनसम्म महोत्सव सञ्चालन भएको हो ।

LIVE TV