१३ आश्विन २०७९, बिहीबार
  • लक्ष्मीप्रसाद ढकाल

यार्सागुम्बाजस्तै छ मेरो देशको न्यायालय
आधा बाँचेको आधा मरेको
अब त मर्यो भन्यो, बाँचिरहेको हुन्छ
अब त बाँच्यो भन्यो, मरिरहेको हुन्छ ।

यार्सागुम्बाजस्तै छ मेरो देशको न्यायालय
रजहाँसलाई काग र कागलाई रजहाँस देख्छ न्यायालय !

समुद्र मन्थनबाट निकालिएका अमृत र विष हुन्
न्यायालय र यार्सागुम्बा
कहिले अमृत बनेर देवताको रक्षा गरेझैँ
कहिले विष बनेर राक्षसको विनाश गरेझैँ
न्यायालय र यार्सागुम्बाले
राज्यको शासन व्यवस्थामा मन्थन गरिरहेका छन्
कतै श्रीखण्ड त कतै खुर्पाको बिँड बनेर ।

न्यायालय , न्यायाधीश त न्यायमूर्ति हुन्
न्यायको तराजु हुन्
दूधको दूध पानीको पानी छुट्याउने रजहाँस हुन्
तर खै ?
जता पनि जेमा पनि स्टे अर्डर ?
कतै विकास बिरोधी त होइन न्यायालय ?
न्यायालयप्रति जनाक्रोश किन ?
चिन्न सके यार्सागुम्बा औषधिको राजा हो
कानुन चलाउन जाने रामराज्य यही हो
तर मेरो देशको न्यायालय
आधा जीवित र आधा मृत यार्सागुम्बाजस्तै छ ।

दर्शनाचार्य, त्रिभुवन विश्वविद्यालय , कीर्तिपुर ।

LIVE TV