१२ आश्विन २०७९, बुधबार

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संस्कृतिलाई समयानुकुल परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष भट्टराईले कृषिप्रधान कालखण्डमा भगवानको परिकल्पना गर्नु स्वभाविक भएपनि अब मानिसको चेतनाअनुसार परिवर्तन गर्नसक्नुपर्ने बताए । उनले एउटा कालखण्डमा उत्पन्न भएको विचार समयानुकुल संस्कृतिका कुरालाई परिवर्तन गर्न कुसंस्कारको रुपमा पछिसम्म स्थापित हुने बताए ।

अध्यक्ष भट्टराईले विज्ञान र प्रविधिको समयमा पनि चेतनाको विकास हुन नसक्दा मानिसले संस्कृतिको नाममा विभेदकारी र अवैज्ञानिक कुरा पछ्याएर बसेको बताए ।

उनले भने, ‘चाडपर्वलाई हामीले गतिशीलतामा हेर्नुपर्छ । कृषिप्रधान कालखण्डमा बनाइएका, ज्ञान,विज्ञानको आविष्कार नभएका बेलामा एउटा भगवानको परिकल्पना गरेर आफ्नो आफ्नो प्रकारका सबैखाले, हिन्दु, मुस्लिम, क्रिश्चियनका, आदिवासी जनजातीहरुका सबैका आफ्ना आफ्ना प्रकारका भगवानको आविष्कार गरिएको थियो । किनभने यो विज्ञान गतिका नियमहरु थहा थिएन । जसकारण ठूलो एउटा महाशक्ति हुनुपर्छ, जसले यो चलाइरहेको छ भन्ने अनुमान गरेर सिर्जना गरिएका थिए ।’

उनले थपे, ‘अधिकांश चाडपर्वमा त्यस्तै देखिन्छ । पहिला त स्वभाविक थिए । अब मानिसको चेतनाअनुसार परिवर्तन गर्नसक्नुपर्छ । एउटा कालखण्डमा उत्पन्न भएको विचार समयानुकुल संस्कृतिका कुरालाई परिवर्तन गर्न सकिएन भने कुसंस्कार भएर बस्छ । त्यसपछि मानिसले संस्कृतिको नाममा विभेदकारी, अवैज्ञानिक कुरा पनि पछ्याएर बसेका छन् ।’

अध्यक्ष भट्टराईले नेपाल समाजवादी पार्टी केही वर्ष यता नाम फेरिएपनि विचार र सिद्धान्तमा विचलन नभएको दाबी गरे । उनले सामाजिक सञ्जालमा बाबुराम र रविन्द्र मिश्र उस्तै रहेछन् भन्नेकुरा उठिरहेको उल्लेख गर्दै पुरातन राजावादी र अग्रगमनकारी शक्ति कहिल्यै उस्तै नहुने जिकिर गरे ।

उनले राजावादी र अग्रगमनकारी शक्तिलाई एकै ठाउँमा दाँज्नु, गुड (सखर) र गोबर झैँ भएको उल्लेख गरे । अध्यक्ष भट्टराईले आफ्नो पार्टीको लक्ष्य समुन्नत र सहभागितामुलक लोकतन्त्रमा आधारित समाजवाद प्रणाली निर्माण गर्ने रहेको भन्दै आगामी निर्वाचनमा आफ्नो पार्टीको प्रतिनिधि संसदमा पठाउने गरी तयारी गर्न पनि नेता, कार्यकर्ताहरुलाई निर्देशन दिए ।

उनले नेपाल जस्तो बहुजातिय, बहुभाषिक मुलुकमा संघीय संरचना जाती, भाषा अनुसारको पहिचानको प्रदेश संरचना बन्नुपर्नेमा त्यो नबन्नु अपूरो भएको बताए । उनले नेपालको शासकीय निर्वाचन प्रणाली खिचडी जस्तो भएको बताए ।

उनले भने, ‘हाम्रो नाम परिवर्तन भएपनि सार एउटै छ । अहिले पार्टीको नाम मात्रै फेरिएको छ, दिशा र विचार एउटै छ । समुन्नत र सहभागितामुलक लोकतन्त्रमा आधारित समाजवाद प्रणाली निर्माण गर्ने लक्ष्य हो । आज सामाजिक सञ्जालमा देखेँ, आखिर वैकल्पिक भन्नेहरुको पनि स्पष्टता थिएन, रविन्द्र मिश्र राजावादीतिर जाँदैछ, बाबुराम पनि पछि फर्कियो भन्नेछ । अब यो त गुड र गोबर हेर्दा त उस्तैउस्तै हुन्छ, तर कति गहिराईमा गएर हिँडेको छ भन्ने कुरा हो, त्यसको आधारभुत कुरा त केही मिल्दैन । हामी अग्रगमनको कुरा गरिरहेक छौँ ।’

उनले फेरि भने, ‘समुच्चतामा समाज रुपान्तरणको कुरा गरिरहेका छौँ भने अर्को मान्छे, फेरि पछाडितिर घुमाई फिराई राजतन्त्र, एकात्मक राज्यसत्ता, निरंकुशतातिर फर्किने अभ्यास एउटाले गरिरहेको छ । त्यसैले यो एउटै भन्न मिल्दैन, यसकारण युवा विद्यार्थीहरु सामाजिक सञ्जाल यस्ता कुराबाट मुक्त हुनुपर्छ । यो संविधान आधा गिलास भरि र आधा खालि छ । नेपालको जस्तो भूराजनीतिक अवस्था छ, दुई ठूला देशको बीचमा हामी छौँ, त्यसलाई धयन दिँदै हामीले पूर्ण रुपमा क्रान्ति पूरा गर्न नसकेको नै हो ।’

उनले थपे, ‘सम्झौताको बाटोबाट गएपनि मुलतः संविधान बनाएर अग्रगमनको ढोका खोल्यौँ । तर पूर्ण गर्न सकेनौँ । पहिलो कुरा बहुजातिय, बहुभाषिक मुलुकमा संघीय संरचना जसरी आफ्नो जाती भाषा अनुसारको पहिचानको प्रदेश संरचना बन्नुपर्दथ्यो, त्यो नबन्नु अपूरो हो । अर्को जुन शासकीय निर्वाचन प्रणाली अपनायौँ, त्यो खिचडी खालको अपनायौँ ।’

अध्यक्ष भट्टराईले आगामी निर्वाचनमा आफ्नो पार्टीको शक्तिहरु संकलन गरी समाजवादी विकल्प निर्माण गर्ने लक्ष्य लिएको पनि बताए ।

 

LIVE TV