११ आश्विन २०७९, मंगलवार

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले समानुपातिक उम्मेदवारको सूची सर्वसम्मत रुपमा तयार भएको बताएका छन् । मंगलबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता डा.महतले समानुपातिक उम्मेदवारको सूची सर्वसम्मत रुपमा तयार भएको बताएका हुन् ।

प्रवक्ता डा. महतले समानुपातिक उम्मेदवार सर्वसम्मत चयन भएको भन्दै एकलौटी रुपमा उम्मेदवार छनोट भएको भन्ने कुरामा सत्यता नभएको बताउँदै यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘समानुपातिक उम्मेवार सर्वसम्मत चयन भएका हुन् । एकलौटी भयो भन्ने कुरामा कुनै सत्यता छैन । कसैलाई कमजोर र कसैलाई बलियो पर्ने गरी सूची तयार भएको छैन ।’

यसका साथै उनले विधानअनुसार नै सूची तयार भएको बताए । आन्दोलनको कुरा वाञ्छनीय नभएको बताउँदै उनले सबै निर्णय सहमतिमा भएको र केही त्रुटीहरु सच्याइने बताए ।

उनले भनेका छन्, ‘प्रधानमन्त्री देशको कार्यकारी प्रमुख भएकाले उहाँको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर उहाँका दैनिक भ्रमण हुने गर्दछन् । प्रधानमन्त्री हाम्रो पार्टीको पनि सभापति हुनुहुन्छ । मन्त्रीहरू पनि पार्टीको महत्त्वपूर्ण जिम्मेवारीमा हुनुभएको हुँदा आफ्नो पार्टीका पक्षमा जनमत बनाउन हिँड्न नपाउने भन्ने कुरा व्यावहारिक छैन ।’

त्यस्तै उनले निर्वाचन आयोगले अन्तर्राष्ट्रिय अभ्यासहरुलाई समेत हेरेर यसलाई लचिलो बनाउने हामीले विश्वास लिएका बताएका छन् । चुनावपछि संघ र प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने उल्लेख गर्दै उनले काठमाडौँ आएका कार्यकर्तालाई जिल्ला फर्किएर चुनावी अभियानमा लाग्न निर्देशनसमेत दिएका छन् ।

यसका साथै उनले कोइराला समूहले गरिरहेको गतिविधि उपयुक्त नभएको भन्दै प्रवक्ता महतले देशभरिका कांग्रेस कार्यकर्तालाई भ्रममा नपर्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘सबै नेताहरू बसेर गरेको निर्णय हो । निर्णय गर्ने नेताहरूको चित्त बुझेको छ । उहाँहरू केही बोल्नु भएको छैन ।’

LIVE TV