११ आश्विन २०७९, मंगलवार
  • प्रिशा बस्नेत,

ताप्लेजुङ । तत्कालको विवादमा समाधान गर्न सहमति बनेपछि मुकुम्लुङ संघर्ष समितिले आह्वान गरेको सवारी बन्दसहितका संघर्षका कार्यक्रम स्थगन भएको छ ।

यसअघि पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव राखिएको नाम अब ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सवमा रुपान्तरण भएको छ ।

अबका सबै प्रचार सामग्री र आधिकारिक दस्तावेजमा ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सव लेख्ने सहमति भएपछि मुकुम्लुङ संघर्ष समितिले आह्वान गरेको सवारी बन्दसहितका संघर्षका कार्यक्रम स्थगन भएको हो ।
‘सहमतिपछि हाम्रा बन्दसहितका संघर्षका कार्यक्रम स्थगन भएको छ’ मुकुम्लुङ सघर्ष समिति ताप्लेजुङका उपाध्यक्ष दीपक लिम्बूले बताए ।

सम्झौतालाई दुवै पक्षले कार्यान्वयन गर्ने सहमति गरी एक–एकप्रति लिनेदिने कार्य भएको किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङका जिल्ला अध्यक्ष इन्दिरा मेन्याङ्वोले जानकारी दिइन् । मुकुम्लुङ संघर्ष समिति र किराँत याक्थुङ चुक्लुङ विगतदेखि नै ‘मुकुक्लुङ बचाउ’ अभियान नाम दिएर संघर्षमा छन् ।

यसअघि पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव नाम दिएर अघि बढाइएको कार्यक्रममा उल्लेखितसहितका संस्थाहरुले पाथीभरा म्याराथन तथा पर्यटन महोत्सवको सट्टा मुकुम्लुङ म्याराथन तथा पर्यटन महोत्सव राख्नुपर्ने माग गर्दै आएका थिए । तर, अन्तिममा माध्यमार्गी बाटो खोजेर महोत्सवको नाम ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सव राखेर सहमति गरिएको छ ।

यो सहमतिपछि संघर्ष समितिले असोज ९ देखि १३ गतेसम्मका लागि आह्वान गरेको सवारी बन्दका कार्यक्रम स्थगन भएका छन् । सहमति अनुसार अब निर्वाध रुपमा सवारी साधन सञ्चालन हुनेछन् ।

LIVE TV