९ आश्विन २०७९, आईतवार

काठमाडौं। नेपालको आफ्नो रकेटबाट अन्तरिक्षमा अन्तरिक्षयान पठाउने लक्ष्यसहित स्थापना भएको अन्तरिक्ष कम्पनी नियर एयरोस्पेसले आयोजना गरेको ‘रकेट साइन्स क्याम्प २०२२’ सम्पन्न भएको छ । विभिन्न स्कूलका विद्यार्थीहरुलाई रकेट निमार्णसम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले गत साताको शुक्रबार र आज (आइतबार) गरी दुई दिने कार्यशाला नियर एयरोस्पेसले आयोजना गरेको थियो ।

काठमाडौंको धुम्बराहीमा आयोजित यस कार्यशालामा शिवपुरी माध्यमिक विद्यालय, धुम्बराही माध्यमिक विद्यालय र बाँसबारी माध्यमिक विद्यालयका २० जना विद्यार्थी सहभागी रहेका थिए । नियर एयरोस्पेससँगै दि स्क्वाड अफ चेन्जमेकरसमेत यस कार्यशालाको आयोजक रहेको थियो ।

कार्यशालामा विद्यार्थीहरुले ५ फिट उचाइ र ४ इन्च व्यासको रकेट निमार्ण गरेका छन् । तीन विद्यालयका २० जना विद्यार्थीहरुले रकेटबाहेक फ्लाइट कम्प्युटर, रकेट मोटर, प्यारासुट निष्कासन हुने प्रणाली बनाउन सिकेका छन् । यस्तै उनीहरुले रकेलाई पूर्णरुपमा एसेम्बल गर्न समेत सिकेका छन्।

यस कार्यक्रमलाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), बेलायतको ओरेल पार्क होटल र अनलाइन पाठ्य सामग्री रहेको नेपालको शैक्षिक नेटवर्किङ पोर्टल कुल्याब्स डटकमले सहयोग गरेको छ।

कार्यक्रममा रकेट र यसका उपकरण बनाउन आवश्यक प्रविधि र सल्लाहकार एवं विज्ञहरु नियर एयरोस्पेसबाट आएका थिए। नियर एयरोस्पेसले सन् २०२४ सम्म नेपालको आफ्नै रकेटबाट नेपाली अन्तरिक्षयानलाई अन्तरिक्षमा पुर्याउने लक्ष्य राखेको छ।

LIVE TV