९ आश्विन २०७९, आईतवार

महोत्तरी । दसैँ नजिकिँदै गर्दा महोत्तरीका गरिब बस्तीका महिला माटो बेचेर दसैँ खर्चको जोहो गर्दैछन् । दसैँ पूर्व विभिन्न रङका माटोले घर पोतेर चिटिक्क टल्कने बनाउने स्थापित परम्पराले अहिले गरिब बस्तीका महिला माटो बेचेर दसैँ खर्चको जोहोमा लागेका हुन् । महोत्तरीका सबैजसो बस्तीमा अहिले माटो सङ्ग्रह गर्नु महिलाको मुख्य रोजगारी बनेको छ ।

अहिले बस्तीबस्तीका महिला १०÷२० जनासम्मको समूहमा माटो खोज्न चार÷पाँच घण्टाको बाटो छिचोलेर चुरे पहाडका रातो माटोका थुम्का पुग्ने गरेका छन् । दसैँमा घर पोत्ने प्रयोजनका लागि कमेरे, चिम्टिलो पहेंलो र रातो माटोको माग हुने भएपछि गरिब बस्तीका ग्रामीण महिला अहिले विभिन्न रङका माटो सङ्ग्रहमा लागेका हुन् ।

मधेसका अधिकांश भित्री बस्तीमा बाँसका चोयाको बारका भित्ता भएका घर हुन्छन् । यस्ता घरका भित्ता बर्सेनि दसैँ, तिहार र छठअघि माटोले पोतेर रङ्ग्याउने चलनले यी पर्वमा विभिन्न रङका माटोको माग बढ्छ । यसै अवसरलाई अहिले गरिब बस्तीका महिलाले नगद जोहोमा प्रयोग गरेका हुन् ।

अहिले फरकफरक रङका माटोको खोजी गर्ने समूहको गन्तव्य नदीले दह जमाएका ठाउँको डिल, पुराना पोखरी र चुरे पहाडक्षेत्रका रातो माटोका थुम्का भएका छन् । “कमेरे र पहेंलो चिम्टिलो माटो खोज्न नदी गहिरिएको डिल र पुराना पोखरी खोज्नुपर्छ, रातो माटो लिन चाँही चुरे नै पुग्नुपर्छ”, सखारै १० जनाको समूहमा रातो माटो खन्न १५/१६ किलोमिटर छिचोलेर बर्दिबास–३ को चुरे थुम्को पुगेका भङ्गाहा नगरपालिका–६ हतिसर्वाका महिला समूहकी पानवती चौधरीले भन्नुभयो, “यही मेहनतले आफ्नो घर पोत्न र दसैँ खर्चको नगद जोहो गर्न माटो लगिन्छ ।” रातो माटो एक बोरा (४० किलो) घर पु¥याउनसके आफ्नो घर पोतेर एक÷दुई हजार नगद पनि थैलीमा राख्न पाइने यी महिलाको सपना छ ।

सोह्र श्राद्ध (पितृपक्ष) सकिनासाथ दसैँ सुरु भइहाल्ने हुँदा अहिले घरका परिवारजनकोसमेत सहयोग लिएर गरिब बस्तीका महिला माटो ठम्याउने, खन्ने र ओसार्ने काममा व्यस्त छन् । “हेर्नोस् न, दसैँ आई त हाल्यो, अहिले अलिकति मेहनेत गरे त दुई÷चार पैसाको मुख देख्न पाइने हो नि !” आफ्नै बस्ती नजिकको रातु नदीको डिलमा कमेरे माटो खोस्रिँदै गर्दा भेटिनुभएकी भङ्गाहा–४ रामनगरकी रसिया चौधरीले भन्नुभयो, “कमेरे र पहेंलो माटो त यतै ओरपर खोज्दा पाइन्छ, तर रातो माटो लिन त १५÷१६ किलोमिटर छिचोलेर चुरे नै पुग्नुपर्छ ।”

मधेसका खासगरी थारु बस्तीमा अहिले माटो सङ्ग्रहको होड छ । थारु महिला विभिन्न रङको माटोले घर पोत्न, कुन रङको माटो कसरी मिलाएर पोत्ने भन्ने र घर सरसफाइका काममा पोख्त मानिन्छन् । “हेर्नाेस् न, हाँस÷कुखुरा र परेवा पनि घरघरैजसो पालैकै हुन्छन्, तर थारु बस्तीका घर पुग्दा भुइँमै बसौँबसौँ लाग्ने चिटिक्क देखिन्छ”, भङ्गाहा–४ थारुटोल बनराका बासिन्दा ७५ वर्षीय केदार ढुङ्गेल भन्नुहुन्छ, “घर सरसफाइ, रङरोगन र सजावटमा थारु महिला सधैँ उम्दा देखिन्छन् ।”

दसैँको मुखमा थारु महिलाको साथीसङ्गतले अन्य जाति समुदायका गरिब महिला पनि अहिले माटो सङ्ग्रहमा लागेका छन् । दसैँको मुखमा माटो जम्मा गर्नसके दसैँ मेलामा रमाउन र घरमा बालबच्चाको खानपिनको रहर पु¥याउन सहयोग पुग्ने भङ्गाहा–४ कै पलार बस्तीकी सियनकीदेवी सर्दार बताउनुहुन्छ ।

मधेसका ग्रामीण बस्तीमा काठेघर बढी हुने र तिनका भित्ता बाँसका चोया र कर्चीबाट बन्ने हुँदा लिपपोत माटोले नै गरिन्छ । प्रत्येक वर्षको दसैँ अघि घर पोत्ने अनिवार्य चलनले गरिब बस्तीका महिला दुई÷चार रुपैयाँ आर्जन गर्न अहिले माटो सङ्ग्रहमा लागेका छन् । माटो आपूmहरुका लागि दसैँ खर्चको नगद जोहोको अवसर बनेको यस काममा लागेका महिला बताउँछन् ।

LIVE TV